विश्वका कुन देशमा कसरी मनाइन्छ नयाँ वर्ष?

THai-New-year

विश्वका विभिन्न देशमा नयाँ वर्ष मनाउने आ-आफ्नै चलन छ। वर्षभरीका बार, दिन र समय उस्तै भएपनि नयाँवर्षको पहिलो दिनलाई विशेष मान्ने चलन सर्वत्र छ। पहिलो दिनलाई उत्सवमा रुपमा मनाउने चलन नेपालमा मात्र होइन विश्वभर कायम छ। नेपालमा अंग्रेजी, नेपाल संवत र वैशाख १ गतेलाई विक्रम संवतका रुपमा नयाँ वर्ष मानेर मनाइँदै आएको छ। त्यसबाहेक विभिन्न जातजातिहरुले आफ्नो पर्वलाई नयाँ वर्षका रुपमा मानेर उत्सव गर्ने प्रचलन छ। आफ्नो भाषा, संस्कृति, धर्मका आधारमा नयाँ वर्ष मनाउने चलन रहँदै आएको छ। प्राचिनकालमा नेपालमा नयाँ वर्षमा मठमन्दिरमा गएर पूजाआजा गरेर मनाउने चलन थियो। अहिले शुभकामना आदनप्रदान र रमाइला कार्यक्रम गर्ने, रमणीय ठाउँहरु घुम्न जाने र मिठोमसिनो खाएर नयाँवर्षलाई उत्सवका रुपमा मनाइँदै आएको छ।

नयाँ वर्ष मनाउने चलनको सुरुवात पात्रोको उत्पत्तिसँग जोडिएकोछ तर ठ्याक्कै कहिलेबाट मनाउन थालियो भन्ने प्रष्ट छैन। तर ईसापूर्व सात सयमा रोमका पहिलो राजा रोमुलसले १० महिनाको एक वर्ष मानेर पात्रो ल्याएको पाइन्छ। चन्द्रमाको मासिक चक्रका आधारमा तयार हुने पात्रोमा ३ सय ४ दिनलाई एकवर्ष मानिथ्यो। उक्त पात्रोमा वर्ष मार्चमा शुरु भएर दिसम्बरमा सकिन्थ्यो। पछि रोमन राजा नुमा पोम्पिलियसले पात्रोमा जनवरी र फेबु्रअरी थपेर ३ सय ६५ दिनको बनाएको इतिहास पढ्न पाइन्छ। तर ईसापूर्व ४५ मा रोमन राजा जुलियस सिजरले पनि पात्रो ल्याएको पाइन्छ। सोही पात्रोमा जनवरी १ लाई नयाँ वर्ष मानिएको थियो। तर त्यसबेला १ अप्रेललाई पनि नयाँ वर्ष मानिएको भनिए पनि सन् १५८२ मा भेनिसका पोप ग्रेगोरी १३औं ले नयाँ पात्रो ल्याएर जनवरी १ लाई नयाँवर्ष मानेको इतिहास पनि भेटाइन्छ।

नेपालमा विक्रम संवत अनुसार नयाँ वर्ष मनाइन्छ तर म्ह पूजाको दिन नेपाल संवतका रुपमा पनि नयाँ वर्ष मनाउने चलन छ। नेपालमा नयाँ वर्ष मनाउने आ–आफ्नै विशेषता भएपनि विश्वमा भने विविधता पाइन्छ। देश अनुसार फरक र रोचक तवरले नयाँ वर्ष मनाएको पाउन सकिन्छ।

भारतः– भारतमा नयाँ वर्ष मनाउने अनेक तरिका छन्। राज्य र भुगोलअनुसार फरक फरक शैलीले नयाँ वर्ष मनाइदै आएको पाउन सकिन्छ। नयाँ वर्षमा भारतभर शुभ चलन हेर्ने चलन छ। कतिपय स्थानमा ब्रिटिसको प्रभावले नयाँ वर्ष मनाउने चलनमा धेरै फरक आएको पाइँदैन। असममा पशुको पुजा गर्ने चलन छ भने पश्चिम बंगालमा देवीदेवताको पूजा गर्ने र नाचगान गर्ने चलन छ। पञ्जाबमा झाँगड नृत्य, भगवानको पूजा र नाचगान गरिन्छ भने राजस्थानमा मिठामिठा परिकार खाने साथै मन नपरेको जीवनसाथीसँग डिभोर्स गर्ने र नयाँ जीवनसाथी रोज्ने चलन पनि छ।

चीनः– चीनमा नयाँवर्ष मनाउँदा आतेजबाजी गर्ने साथै भूइँचम्पा उडाएर मनाउने चलन छ। नयाँ वर्षका अवसरमा चीनमा भान्साको देवतालाई स्वागत समेत गरिन्छ। स्वादिष्ट परिकार खाने, बाबुआमा तथा मान्यजनबाट आर्शिवाद लिने चलन पनि छ। बर्मामा पनि नयाँवर्ष मनाउने चलन चीनसँग मिल्दोजुल्दो छ। 

थाइल्याण्डः– यहाँ चीनसँग कतिपय सन्दर्भहरु मिल्ने गर्छ। किनकी प्रत्येक घरमा दियो बालेर दिपावली गर्ने रंगीचगी बनाएर घर सजाउने चलन चीनसँग मेल खान्छ। यहाँ नयाँ वर्षको आगमनलाई ‘नौरोज’ भन्ने गरिन्छ। विशेषतः गुम्बामा गएर प्राथन गर्ने र शान्तिको कामना गर्ने चलन छ।

कोरियाः– कोरियामा नयाँ वर्ष मनाउने नौलो तरिका छ। यहाँ तीन दिनसम्म सरकारी विदा दिने गरिन्छ। कार्यालय, पसल तथा डिपार्टमेन्टल स्टोरहरु बन्द गरिन्छ। चामलको रोटी, रक्सी खाएर नयाँवर्ष मनाउने चलन छ। यस दिन उमेर पुगेका युवायुवतीहरु बिहे पनि गर्ने गर्छन्। 

इंग्ल्याण्ड– नयाँ वर्षको रौनक इंग्ल्याण्डमा अझ बढी देख्न पाईन्छ। दिसम्बरको मसान्तदेखि नै यहाँका घरहरु रंगीचंगी पार्ने, सजिसजाउ गर्ने र बत्ती बालेर झिलिमिली पार्ने गरिन्छ। युवायुवतीहरु नयाँ नयाँ लुगा लगाएर नाचगान गर्ने र इभका दिन हर्षबढाई गर्ने गर्छन्।

जापानः जापानमा नयाँवर्ष ‘यावुरी’ मनाउने भिन्न शैली छ। यहाँ नवजात जलका रुपमा शुद्ध पानी पिउने, घरलाई हरिया विरुवाहरुले सजाउने चलन छ। नवजात जल पिउँदा आयु वृद्धि हुने र मृत्युपश्चात पूण्य प्राप्त गरिने विश्वास लिइन्छ। यसदिन चंगा उडाउने र साना बालबालिकालाई अक्षारम्भ गराउने गरिन्छ। त्यसबाहेक मान्यजनहरुबाट आर्शिवाद लिने र पुरानो सबै ऋण तिर्ने चलन छ।

पोर्चुगलः यहाँ नयाँ वर्षको दिन पटाका पड्काउने, नाचगान गर्ने र शहरभरी धुनी जगाएर जाग्राम बस्ने चलन छ। यसका अलावा पोर्चुगलमा साँढे जुधाएर गरिने रमाइलो गर्ने चलन बेग्लै छ। साँढे जुधाउने खेल हेर्न टाढा टाढाबाट मानिसहरु आउने गर्छन साथै खेल हेर्न पर्यटकहरु खुबै झुम्मिने गर्छन्।

मेक्सिको: नयाँ वर्षको दिन मेक्सिकोमा नाचगान, घुमघाम गर्ने चलन छ। त्यसबाहेक यहाँका चर्चमा गएर सामूहिक विवाह गरी नयाँवर्षलाई भव्य बनाउने गरिन्छ। सामूहिक विवाह गर्ने प्रचलन अफ्रिकामा पनि पाइन्छ।

जर्मनी र भ्याटिकन सिटीः– जर्मनीमा नयाँवर्ष मनाउने अनौठो शैली छ। यस दिन भविष्यवाणी गर्ने, नाचगान गर्ने चलन छ। जर्मनीमा पानीले भरिएको धातुको भाँडामा सिक्का खसाएर त्यसको आकृतिलाई नियालेर भविष्यवाणी गर्ने चलन छ। त्यस्तै भ्याटिकन सिटीमा नयाँ वर्षको पहिलो दिन विहानै सेता परेवाहरु उढाउने चलन छ। सोही दिन भ्याटिकन सिटीमा रहेको चर्चमा ठूलो केक काटेर बाँड्ने गरिन्छ। (एजेन्सीको सहयोगमा)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *