खरसाङ: खरसाङ क्षेत्रका एक प्रतिष्ठित ब्याडमिन्टन खेलाडी एवम् प्रशिक्षक पासाङ लामाको असामयिक निधनमा खरसाङ ब्याडमिन्टन एसोसिएसनद्वारा गहिरो शोक प्रकट गर्दै शोक सभा आयोजना गरेको छ। उक्त शोक सभा खरसाङको पार्क लोकेसनस्थित केबीए हलमा खरसाङ ब्याडमिन्टन एसोसिएसनका अध्यक्ष प्रेमेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भयो। उक्त शोक सभामा एसोसिएसनका सदस्यहरूले स्वर्गीय लामाको आत्मा शान्तिको निम्ति दुई मिनटको मौन धारण गरे। खरसाङ ब्याडमिन्टन एसोसिएसनका वरिष्ठ सदस्य हिरेन त्रिखत्रीले बताए अनुसार स्वर्गीय पासाङ लामा सम्पूर्ण पहाडका नै एक दक्ष अनि कुशल ब्याडमिन्टन खेलाडी थिए जसले राष्ट्रिय स्तरका धेरै प्रतियोगिताहरुमा भाग लिएका थिए साथै राष्ट्रिय जुनियर च्याम्पियनशिपको खिताब पनि जितेका थिए। स्वर्गीय लामा खरसाङ ब्याडमिन्टन एसोसिएसनसित आबद्ध रहेर केही वर्षदेखि खरसाङ क्षेत्रका बाल -बालिकाहरूलाई ब्याडमिन्टनको प्रशिक्षण पनि दिइरहेका थिए। तर उनको आकस्मिक निधनले खेलकूदको क्षेत्रमा ठूलो क्षति भएको बताएका छन्।