गान्तोक: भारतीय जनता पार्टी (भाजपा) को काबी लुङ्चोक समष्टिका उम्मेदवार उगेन निडुप भोटियाले आफ्नो समष्टिका लागि संकल्प पत्रको लोकार्पण गरेका छन्। आज साँझ गान्तोकमा एक पत्रकार सम्मेलनमा आफ्नो समष्टि काबी लुङ्चोकलाई समृद्ध र श्रेष्ठ निर्वाचन क्षेत्र बनाउन उनले जनता अघि लघु अनि दीर्घमयादी योजनाहरू पस्केका छन्।
सडक, यातायात, शिक्षा, स्वरोजगार, पर्यटन, बौद्ध सर्किट, अन्तरराष्ट्रिय सीमा क्षेत्रका विकास अन्तर्गत विविध योजनाहरूको विस्तार, वन्य क्षेत्रमा रहेका मानिसहरूको स्थायी समाधान गर्न केन्द्र सरकारसित गरिने पहलहरूदेखि कृषि र पूर्वाधार विकासमा विशेष ध्यानकेन्द्रित गरि संकल्प पत्रमा समावेश गरिएको उनले जानकारी दिए।
जनताको आर्थिक सुधार गर्न आफू निरन्तर लागि परेको भन्दै २०१४ देखि २०१९ सम्म आफू विधायक रहॅंदा गरेका पहलहरू र पूर्वाधार विकास नै जनताका लागि मन जित्न सक्ने भरपूर उदाहरण रहेको उनले ठोकुवा गरे। जनताको आशीर्वाद भए युवाहरूको भविष्य उज्जवल पार्न भारतीय जनता पार्टीले कुनै कसर नछोड्ने पनि उनले जनाए।
काबी लुङ्चोक राजधानीको नजिक रहेको समष्टि भए तापनि विगत पाँच दशकसम्म भने जस्तो विकासीय पूर्वाधार, स्वरोजगारका अवसरहरू, पर्यटनको विकास, तथा पौराणिक संसाधनको संरक्षणमा कुनै काम नभएको जानकारी गराउँदै यसपल्ट भाजपा सरकार बनेपछि यी सबै क्षेत्रमा विकास गरिने उनले दावी गरे।
वर्तमान सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका प्रतिद्वन्द्वीमाथि कटाक्ष गर्दै पूर्व एसडीएफ सरकारमा 20 वर्ष जनताले मौका दिँदा पनि कुनै खल नसारेको, जनता र क्षेत्रका कर्मचारीहरूलाई प्रताडित गरेको, आम कृषकहरूको हितमा कुनै काम नगरेको आरोप लगाउँदै फेरि पनि यस्तै मानिसलाई मतदान गरे जनताले दुःख भोग्नु पर्ने स्थिति आउन सक्ने भोटियाले सतर्क गराए।
भाजपाले मात्र सिक्किमको सर्वाङ्गिण विकास गर्न सक्छ बन्दै केन्द्र सरकारको सहयोग बिना राज्यको कुनै खल्को नचल्ने उनले बताए। जनताले समयमै होश पुऱ्याउनु पर्ने भोटियाले आह्वान गर्दै आफूलगायत सङ्घ सीटका प्रत्याशीको पक्षमा भोटको निम्ति अपील गरे।