खरसाङ: आगामी लोकसभा चुनावलाई ध्यानमा राखेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी लंगभ्यु अम्बटे समष्टिको चुनावी साथै सांगठनिक सभा सम्पन्न भएको छ। पंखाबारी लंगभ्यु अम्बटे समष्टिको नारी शक्तिको बुथ नम्बर २२९ र २३१ मा चुनावी सभा र सांगठनिक सभा दुधे सार्वजनिक भवन साथै दुधेको शान्ति बस्तीमा सभासद कल्पना प्रधानको अध्यक्षतामा सम्पन्न भयो। नारी शक्ति समष्टि सह-सचिव सचिला तामाङले सञ्चालन गरेको सभालाई सभासद कल्पना प्रधान, भागोप्रमो केन्द्रीय समिति सदस्य साथै पञ्चायत उप-प्रधान सन्तोष लामा, समष्टि नारी शक्ति सचिव अनिला राई आदिले सम्बोधन गरेका थिए। सभासद कल्पना प्रधानले दुधे क्षेत्रमा नारी शक्ति गठन कार्यले आगामी लोकसभा चुनावमा संगठनलाई सहयोग हुने जनाइन्। दुधे क्षेत्रको दीर्घकालीन माग दुधे खोलामा पक्का बाँधको निर्माण कार्य पनि शुरू भइसकेको साथै दुधेको स्वस्थ्य केन्द्रमा दशवटासम्म बेड भएको स्वस्थ्य केन्द्र निर्माण कार्यको जीटीएमार्फत् पहल भएको जनाइन्। राज्य सरकारले लक्ष्मी भण्डार कन्याश्री, रुपाश्री, स्वस्थ्य साथी, द्वारे सरकार, विद्यार्थी क्रेडिड आदि सहुलियतहरू दिएर धेरै सहयोग गरिरहेको पनि उनले जनाइन्। भागोप्रमो केन्द्रीय समिति सदस्य साथै उप- प्रधान सन्तोष लामाले दुधे क्षेत्र पर्यटकीय क्षेत्रको रूपमा सबैले चिनेको र भविष्यमा दुधे शहरीकरण हुन सक्ने प्रबल सम्भावना रहेको बताए।

केन्दमा रहेको बीजेपी सरकार गोर्खा जातिप्रति कहिले इमान्दार नरहेको जनाए। यसपाली दुधेको जनताले ढाँटको राजनीतिलाई होइन यथार्थको राजनीतिलाई रुचाएको जनाए। आज सम्पन्न सभामा समष्टि सचिव ललित प्रधान, पञ्चायत सदस्य घनप्रसाद तामाङ, पूजा लोहार, नारी शक्ति समष्टि सचिव अनिला राई, समष्टि नारी शक्ति कोषाध्यक्ष सुबाना रामा, नारी शक्ति समष्टि सह-सचिव सचिला तामाङ, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार आदिको उपस्थिति रहेका थिए।