अन्तर्राष्ट्रिय महिला दिवसमा कदमतला मोनिटोरिङ संगठनद्वारा खालपाडा भ्रमण

Redlight-Area-representative-image-copy

मान्छेको जीवनमा सकारात्मक र नकारात्मक दुवै पक्षहरू छन् जसलाई हामी अँध्यारो र उज्यालो पाटा पनि भन्दछौं। उज्यालो पाटालाई सबैले टाढ़ैबाट देखेका हुन्छन्। प्रसंशा गर्छन्। बेला-बेलामा ताली बजाउँछन् तर कति मान्छेहरू यस्ता पनि छन् जो जीवनभरि नै अँध्यारोमा बाँच्न बाध्य छन्। उनीहरूको निम्ति कहिल्यै ताली बज्दैन। रहरले होइन करले। बाध्यता नै उनीहरूको जीवनको भोगाइ हो। उनीहरू नकारात्मकतामा पनि सकारात्मकता देख्न बाध्य छन्। अँध्यारो नै उनीहरूलाई प्यारो लाग्छ किनभने सभ्य समाजमा उनीहरूलाई ठाउँ छैन। सभ्य समाजले हेप्छ, दुत्कार्छ, घृणा गर्छ र यस्तै पाटाहरूका संकीर्ण गलछेंड़ीहरूलाई पछ्याउँदै दिनांक ८ मार्च २०२४, अन्तर्राष्ट्रिय महिला दिवसको दिन हामी कदमतला मोनिटोरिङ संगठन त्यो अँध्यारो बदनाम ठाउँमा पुग्छौं जहाँ करले बाँचिरहेका छन् सभ्य समाजले त्यागेका अवहेलना गरेका धेरै छोरी-चेलीहरू, दिदी-बहिनीहरू अनि उमेर पुगेका आमाहरू। मनमा अनेकौं पीर-व्यथा बोकेर आफ्नो शारीरिक अवस्था ठीक नहोस् तरैपनि परायालाई सुख, सन्तुष्टि र खुशी दिन बाध्य छन्। उनीहरूको जीवनमा कुनै खुशी छैन, आनन्द छैन अनि भविष्य पनि छैन र पनि आफू जस्ती अर्को साथीलाई हेरेर बाँच्ने सहारा बनाएका छन्। आफ्नो अंग प्रत्यंगको बेचबिखन दिनहुँ कैंयौं पल्ट हुँदा पनि उफसम्म गर्न सक्तैनन्, किनभने उनीहरू आफन्त, प्रेमी वा पतिद्वारा बेचिएर त्यस ठाउँमा पुगेका हुन् जहाँ आफू जस्तै धेरैलाई भेट्दछन् अनि त्यो बदनाम गल्लीको एउटा सानो कोठामा आफ्नो संसार बनाएर जीवन धान्ने मेलो गर्छन्, जुन गल्लीमा रात परेपछि आनन्द बटुल्न, सन्तुष्टि लिन र शारीरिक तृप्ति लिन पुग्छन् युवाहरूदेखि लिएर उमेर पुगेका, विभिन्न तप्काका र ओहोदाका, धनी गरीब केही नसोची जान्छन्। सबैको उद्देश्य चाहिँ एउटै हुन्छ।

यस वर्ष २०२४ को महिला दिवस (८ मार्च)को दिन हामी कदमतला मनिटोरिङ संगठनका १८ जना सदस्यहरू पनि लाग्यौं सिलगढीस्थित खालपाडाको त्यो बदनाम ठाउँमा जुन धेरै यस्ता काम गर्ने महिलाहरूको बास स्थान हो। यिनीहरूलाई वर्तमानमा यौनकर्मी भनिन्छ। धेरै वर्ष उता यिनीहरूलाई विभिन्न अवहेलित नामले सम्बोधन गरिन्थ्यो तर कालान्तरमा यो पनि एक प्रकारको काम नै हो भनेर सम्मानसहित यौनकर्मी भन्न थालियो।

खालपाडाको त्यो इलाकामा जानुभन्दा अगावै अनुमति लिनपर्ने हुनाले हाम्रा संगठनका अध्यक्ष अभिराज सुब्बाले त्यस क्षेत्रका वार्ड कमिश्नरसित कुरा गर्दा उहाँले एउटा फोन नम्बर दिनुभयो। त्यो नम्बरमा बात गर्दा ‘पहिला हामी तपाईंहरूसित भेट्छौं, दुई-तीन जना आउनुहोस्’ भनेको हुनाले ६ मार्चको दिन संगठनका अध्यक्षसहित पाँचजना कार्यकारी सदस्यहरूको टोली उक्त ठाउँमा पुगे। फोनमा बोल्ने व्यक्ति हाम्रै मान्छेहरूको प्रतीक्षामा बसिरहेका थिएछन्। पुग्नेबित्तिकै उनले आफ्नो परिचय दिएर त्यस रेड लाइट एरियाको विस्तृत जानकारी दिए। उहाँसित कुरा गर्दै जाँदा खालपाडाको त्यो सम्पूर्ण रेड लाइट क्षेत्रलाई ५/६वटा एनजीओले आफ्नो निरीक्षण (देखरेख)मा राखेका रहेछन्। प्रत्येक एनजीओको जिम्मामा चालीसदेखि पचासजना यौनकर्मी रहेको पनि जानकारी भयो। हरेक यौनकर्मीको शारीरिक जाँच, स्वास्थ्य परिक्षण, साफ-सफाई अनि समय-समयमा डाक्टरले आएर उनीहरूको स्वास्थ्य चिकित्सा सित्तैमा गरिदिँदा रहेछन्। यसको सम्पूर्ण दायित्व एनजीओले नै लिएको कुरा पनि थाहा पायौं। हामीलाई अगुवाइ गर्ने एनजीओको नाम लाभ एण्ड होप फाउन्डेसन रहेछ। यसमा दुईजना डाक्टर र आठजना महिला-पुरुष गरेर जम्मा दश जनाको टोली रहेछ। हामीले ‘आउँदो ८ मार्च अन्तर्राष्ट्रिय महिला दिवसको दिन हामी हाम्रो संगठनको तर्फबाट त्यस ठाउँमा आउन चाहन्छौं र हाम्रा डाक्टरले उनीहरूको स्वास्थ्य परिक्षण अनि हाम्रा सदस्यहरूले स्वास्थ्यसम्बन्धी केही कुराकानी गर्नेछन् यसर्थ हामीलाई उनीहरूसित भेट्ने अनुमति दिनुहोस्’ भन्दा उनी केही बेर अन्कनाए तर केही शर्तहरू हाम्रो अगाड़ि राख्दै ‘आउनू, अनुमति दिएँ तर के भने कसैको व्यक्तिगत सवाल र त्यस ठाउँको कसैको बारेमा तपाईंहरूले केही नसोधिदिनुहोला’ भने अनि समय डेढ़देखि दुइ घण्टा मात्र। हामीले ‘हुन्छ’ भनेर विश्वास दिलायौं। अनि उहाँले फेरि अर्को शर्त राख्नुभयो, ‘कसैको फोटो खिँचेर मोबाइलमा साझा नगरिदिने।’ यो शर्त पनि हामीले मंजूर गऱ्यौं।

८ मार्च २०२४ बिहान १० बजे हामी खालपाडाको रेडलाइट क्षेत्रमा हाम्रा संगठनका अध्यक्ष, सचिवसहित जम्मा १८ जनाको टोली पुग्यौं। हामीलाई बाटोमा एकजना व्यक्तिले पर्खिरहेका थिए। उनको अगुवाइमा सानु चेपारो गल्ली र गल्छेंडो हुँदै हामी पुग्छौं  ‘लाभ एण्ड होप फाउन्डेसन’ को सानो अफिसमा जहाँ उनीहरूका ५/६ जना सदस्यहरूले हामीलाई पर्खिरहेका थिए। कोठाहरू पनि ससाना अलिक अँध्यारो भएको हुनाले उक्त फाउण्डेसनको अफिस पनि साँधुरो थियो अनि हामीलाई उनीहरूका शर्तहरू फेरि एकपल्ट सम्झाइदिनुभयो। एकछिन परिचय आदान-प्रदानपछि हामीलाई बस्ने कुर्सीहरूको बन्दोबस्त पनि गरिदिए। हामी सबै एक लहरमा बस्ने बस्यौं उभिन सक्ने उभियौं। यौनकर्मीहरू पनि एक-एकजना गर्दै हलमा आउन थाले। सबैको नाम र उमेर हामीले हाम्रो रेजिस्टरमा दर्जा गरायौं। हाम्रो संगठनकी डा. मनिता प्रधानले तुरून्तै चेम्बरभित्र एक एकजनाको स्वास्थ्य परिक्षण गर्न शुरू गरिन्। अठार वर्षदेखि साट्ठी-चौसट्ठी वर्षसम्मका यौनकर्मीहरूसित हाम्रो साक्षात्कार भयो। हल पनि केही सानो भएको हुनाले हाम्राहरू, सबै उठेर पछाड़ि बस्न पुगे किनभने तीसजना यौनकर्मीहरूले हल खचाखच भरिएको थियो। हलमा बसेकाहरूलाई हाम्रो संगठनकी सदस्य श्रीमती गीता देवान (प्रोफेसर, सिलगढ़ी कलेज) अनि श्रीमती सबिना गिरी (सचिव)ले उनीहरूलाई शारीरिक साफ-सफाई, स्वस्थ्यसम्बन्धी कुराहरूको जानकारी गराउन थालिन्। सबै यौनकर्मीहरूले ध्यानपूर्वक धैर्यले सबै कुराहरू सुनिरहेका थिए। उनीहरू बीच-बीचमा प्रश्न पनि गर्थे जसलाई हाम्रा सदस्यहरूले उत्तर दिंदै बुझाउने चेष्टा गरिरहेका थिए। हाम्रा प्रत्येक सदस्यले आ-आफ्ना काम गरिरहेका थिए। उनीहरूलाई गीत गाउन लगाएर, नाच्नु लगाएर कसैले हाँस्नु लगाएर आफैहरू पनि उनीहरूसँगै नाचेर गाएर एकछिन भएपनि खुशी बाँड़्ने काम गरिरहेका थिए। स्वास्थ्य परिक्षणपछि प्रत्येक यौनकर्मीलाई हामीले फल, मिठाई र उनीहरूलाई दिनहुँ काम लाग्ने सामग्रीहरू पनि दियौं। सबैले खुशी भएर हामीलाई ‘फेरि पनि आउनुहोस् ल तपाईंहरू’ समेत भने।

यसै अवधिमा मैले ‘लाभ अफ होप फाउन्डेसन’ का एकजना पुरुष सदस्यसित बातचितको क्रममा धेरै राम्रा कुराहरू पनि थाहा पायौं। उक्त फाउण्डेसनले हेरचार गर्ने यौनकर्मीहरूका जम्मा पचासजना नानीहरूलाई स्कूल पढ़ाउने, उत्तरायणमा होस्टेलको बन्दोबस्त अनि स्कूल आउजाउको निम्ति गाड़ीको बस्दोबस्त पनि मिलाएका रहेछन्। उक्त फाउण्डेसनले संचालन गरेको स्कूलमा जम्मा बाह्रजना शिक्षकहरूले ती नानीहरूलाई पढ़ाउँदा रहेछन्। यस बाहेक उक्त एनजीओको आफ्नो एउटा क्लब रहेछ जसमा यौनकर्मीहरू हप्तामा तीन दिन पढाउने पनि गर्दो रहेछन् यसलाई ‘मदर एजुकेशन’ भनिँदो रहेछ। यसै क्रममा बात गर्दै जाँदा मैले उहाँलाई प्रश्न गरें ‘यो धन्धामा कति वर्ष उँभोका महिलाहरू छन्’ भन्दा उनले ‘अठार वर्षदेखि साठी वर्षमाथिका महिलाहरूले काम गर्छन्’ भने। मैले लगत्तै सोधें, ‘साठी वर्षमाथिकाहरू त सिनियर सिटीजन हुन् शायद यो धन्धाबाट अवकाश प्राप्त होला, होइन?’ भन्दा उनले भने, ‘मेडम साठीदेखि उँभोकाहरूले पनि काम गर्नुपर्छ। यिनीहरूले आफै काम नगरे भोकै मर्छन्। पाल्ने कोही छैनन्। भात त खानु पऱ्यो, यस्ता यी अभागीहरूले सकुन्जेल आफ्नो धन्धा चलाउँछन्।’ यो कुरा सुनेर धेरै नमिठो लाग्यो, मनभित्र कतै च्वास्स दुख्यो। त्यहाँ हलमा ४/५ जना उमेर पुगिसकेकी महिलाहरूलाई हेरें, साह्रै टीठलाग्दो अवस्थामा पुगेकी, न रंग छ, न रूप छ, न त शरीर बलियो छ, जसलाई सभ्य समाजले देवी, आमा, जननी र माता भन्छन्, यति मात्र कहाँ हो र! यिनीहरूलाई हजुरआमा भनेर सम्मान गर्छौं तर यहाँ यिनीहरूको बाध्यतालाई के नाम दिऊँ!! जे जसो भए पनि आफु जस्तै साथी-संगीमाझ बस्न पाएकोले आफ्नो हालतसँग सम्झौता गर्दै बाँच्नको निम्ति संघर्ष गरेका नै रहेछन् यिनीहरूले। यिनीहरूलाई देखेर कुराहरू सुनेर हाम्रो जीवन त सजिलो रहेछ भन्न मन लाग्यो मलाई। मैले अझै धेरै प्रश्नहरू गरें उहाँ सज्जनलाई तर धेरै प्रश्नको उत्तर पाइनँ।

हाम्रो कार्यक्रमको अन्तिममा मैले केही यौनकर्मीहरूसित बात गरें र सोधें, ‘यो काममा तिमीहरू खुशी छौ?’ भन्दा ‘खुशी त छैनौं तर दु:खी पनि छैनौं। यहाँबाट हामी कहीं कतै जान पनि सक्तैनौं। हामीलाई समाजले स्वीकार्दैन र यहाँ हामी सबै एकै खाले छौं र ठीकै छौं’ भने। अर्की एउटीले ‘जुन समाजले हामीलाई दुत्कार्छ त्यहाँ जबरजस्ती किन पस्नु। हामीलाई यहीँ ठीक छ’ भनिन्। एकजना चौतीस वर्षीया, हेर्दा राम्री देखिने यौनकर्मीसित बात गर्दा उनले बाध्यताले यो काम गरेको भनिन् किनभने सासू, ससुरा, दुई सन्तान र एउटी नन्दको भरण-पोषण एक्लो पतिको काठ मिस्त्रीको पैसाले हम्मे हम्मे परेको कारण उनले यो काम गर्न थालेकी हुन् भनिन्। ‘शहरमा योबाहेक अरू पनि धेरै कामहरू पाउँथ्यौ होला तिमीले यो काम किन रोज्यौ’ भनेर मैले प्रश्न गर्दा उनी भन्छिन्, ‘म पढ़्न-लेख्न केही जान्दिनँ, हप्तामा तीन दिन मात्र म यो काम गर्छु र अरू दिन चाहिँ म घरको जिम्मेवारीहरू सम्हाल्छु। त्यसकारण मैले यो काम रोजें। नन्दको विवाह गरिदिनुपर्छ। दुई छोराहरूलाई अंग्रेजी स्कूलमा पढाउँदैछु। सासू-ससुरा दुवै बिरामी। रातदिन बाहिरबाट दवाई किन्नुपर्छ’ भन्दै उनका सबै दुखेसोहरू मलाई सुनाइन्। साह्रै माया लाग्यो। ‘तिम्रो श्रीमानलाई थाहा छ यसबारेमा?’ भनेर मैले प्रश्न गरें। ‘अहँ कसैलाई थाहा छैन, श्रीमानले थाहा पायो भने मलाई काट्छ, ऊ काम विशेषले टाढ़ो जाँदा म यता आउँछु’ भनिन्। त्यसरी नै एकजना अधबैंसे महिलासित बात मार्दा धेरैजसोले ‘हाम्रो उमेरकालाई नै बढी खोज्छन् किनभने हामी दाम कस्दैनौं’ भनिन्। यस्तै कुराकानी गर्दागर्दै हाम्रो समय भएछ र अझै उनीहरूसँग बात टुँगिएकै थिएन। उनीहरू पनि हामीसँग बात मार्न चाहन्थे। उनीहरूका कुराहरू साझा गर्न चाहन्थे तर भेट्ने समय सकिएको सूचना आइसकेको थियो। हाम्रो संगठनकी डा. मनिता प्रधानले प्रत्येक यौनकर्मीको शारीरिक जाँच गरेर सटीक ढङ्गमा आफ्नो स्वास्थ्यको हेरचाह कसरी गर्नुपर्ने हो भन्नेबारे संक्षिप्त जानकारी दिनुभयो अनि त्यसरी नै स्वास्थ्यसम्बन्धी धेरै कुराहरू ‘लाभ एण्ड होप फाउन्डेसन’का सदस्यहरूलाई पनि जनाइदिनुभयो। त्यसपछि सबैबाट बिदा लिएर हामी एउटा नयाँ अनुभव बोकेर आफ्नो गन्तव्यतर्फ फर्कियौं।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *