गान्तोक: आजादीका अमृत महोत्सव कार्यक्रम अन्तर्गत हर घर तिरङ्गा अभियानलाई व्यापक प्रचार गर्न राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको पहलमा भोलि ५ अगस्तको दिन बाइक ऱ्याली आयोजना गरिने भएको छ। उक्त ऱ्याली भोलि बिहान ७ बजी मुख्यमन्त्रीको सरकारी निवास मिन्तोकगाङबाट शुरु भएर गान्तोक, रानीपूल हुँदै पाकिम जिल्ला प्रशासनिक केन्द्रमा पुगेर समापन हुने मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले जानकारी दिएका छन्। उक्त ऱ्यालीलाई मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वयंले हरियो झण्डा देखाउनेछन्। यसको साथै राज्यका दुईचक्के वाहन चालकहरूलाई पनि उक्त ऱ्यालीमा भाग लिने खालिङले निमन्त्रणा दिएका छन्। राज्यका आबद्ध राइडर्स क्लबहरू अनि व्यक्तिगत चालकहरूलाई यो ऱ्यालीमा भाग लिनको निम्ति उनले विशेष निमन्त्रणा दिएका छन्। ऱ्यालीमा सामेल दुईचक्के वाहनहरूमा तिरङ्गा फहराइने साथै उक्त तिरङ्गा भोलि नै उपलब्ध गराइनेछ। यसको साथै फ्यूल पनि उपलब्ध गराउने खालिङले थप जानकारी गराएका छन्। उक्त ऱ्यालीलाई सफल तुल्याउन सबै राइडर्सहरूलाई सहभागी बन्ने मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेतले पनि आग्रह गरेका छन्।