गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीकी वरिष्ठ नेता श्रीमती टीकामाया चामलिङले आफूलाई किसान हु भन्गै किसानहरूको समस्या र दुख बुझेको र एसडीएफ पार्टी किसान, मजदूर, गरीब र खटिखाने वर्गको लागि समर्पित रहेको बताइन्। श्रीमती चामलिङले आज जूम सालघारी समष्टिका जनतालाई सम्बोधन गर्दै उक्त विचार साझा गरेकी हुन्। एसडीएफ पार्टीको चुनाउ प्रचार अभियानको ५ औं दिन, जूम सालघारी समष्टिको ओखरबोटेमा आयोजित जनसभालाई सम्बोधन गर्दै श्रीमती चामलिङले भनिन्, एसकेएम पार्टी र सरकारले अहिले चुनाउको मुखमा वितरण गरेको नोकरी र सहुलियत अनि पैसा उनीहरूको अन्तिम छट्पटाहट हो। जनतालाई सिक्किमको भविष्यबारे सोच्न आग्रह गर्दै उनले भनिन्, हामीले पहिला पनि सिक्किम निर्माणको काम गरेका थियौं, आउने दिनमा पनि सिक्किम निर्माणको काम गर्नेछौं। हाम्रो उद्देश्य नै सिक्किम र सिक्किमे जनताको हीत अनि जीत हो। सिक्किमलाई विकसित बनाएर जनतालाई सुख दिनु, शान्ति र सुरक्षा दिनु एसडीएफ पार्टीको लक्ष्य रहेको उनले बताइन्। पवन चामलिङले कुनै पनि परिस्थितिमा पार्टी र सिद्धान्त परिवर्तन नगरेको उल्लेख गर्दै उनले भनिन्, एसडीएफ पार्टी भनेको नीति, सिद्धान्त र दर्शनमा केन्द्रित रहेको पार्टी हो। जुम सालघारीका एसडीएफ उम्मेदवार जेबी दर्नाल अनि लोकसभा उम्मेदवार पीडी राईलाई मतदान गर्न अपील गर्दै उनले जनतालाई वर्तमान सिक्किमको स्थितिबारे चिन्तन मनन गर्न आग्रह गरिन्। उनले भनिन्, हामी सबै मिलेर सिक्किम बचाऔं, एसडीएफलाई मतदान गरेर फेरि रमाइलो सुखी, शान्त र विकसित सिक्किम बनाऔं।
सभालाई सम्बोधन गर्दै जुम सालघारीका उम्मेदवार दर्नालले भने, एसकेएम सरकार गठन भएपछि सिक्किममा जति पनि हत्या हिंसा भए, तिनको एसडीएफ पार्टीले डटेर सामना गर्दै आएको छ। दर्नालले भने, एसकेएम सरकारले जनतालाई दिएको वाचा पूरा गरेको छैऩ। एसकेएम जनतालाई भ्रम फैलाएर २०१९ मा सरकार बनायो अनि आज पनि जनतालाई नोकरी र सहुलियतको भ्रम फैलाउने काम गर्दैछ, झुटो आश्वासन दिँदैछ। जनतालाई धम्की दिएर घरभित्र बस्न बाध्य बनाएको छ। उनले जूम सालघारीका जनताको सेवा गर्ने वचन दिँदै भने, हामी जनताको माग र सल्लाह अनुसार क्षेत्रको विकास गर्नेछौं। हामी घोषणा पत्रमा लेखेका कुराहरू एक एक गर्दै पूरा गर्नेछौं। जनतालाई निर्भय भएर अघि आउन अपील गर्दै उनले मतदानका लागि अपील गरे। जोरथाङमा व्यापारी समुदायका लागि सामुदायिक भवन, अस्पताल, टाटा स्ट्यान, सिस्नेमा अस्पताल, खेलमैदान आदि जनताको माग पूरा गर्ने दर्नालले वचन दिए। सभालाई सम्बोधन गर्दै लोकसभा उम्मेदवार पीडी राईले सिक्किमका सबै राजनीतिक माग र समस्याको समाधान गर्ने वचन दिए। उनले भने, लिम्बू तामाङलाई विधानसभामा सिट दिलाउन अनि छुटेका बाह्र जाति जनजाति बनाउन शुरुकै दिनबाट हामी काम थाल्नेछौं। हामी सिक्किमको मान, सम्मान, अधिकार र सुरक्षाका लागि काम गर्नेछौं। हामी भारत सरकारसित पुराना कानुनहरूको समीक्षा गरेर सिक्किमले गुमाएका हक अधिकार फिर्ता गर्नेछौं। उनले सिक्किमको हितका लागि आफूलाई मतदान गरेर जिताउन अपील गरे।