गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) सरकारले सिक्किमेली जनताको हित विपरीत केही बाहिरका पुँजीपतीलाई सुरक्षा दिएर सिक्किमलाई आर्थिक रूपमा अपाङ्ग बनाएको आरोप एसडीएफ पार्टीले लगाएको छ।
सिक्किमका धरोहर, श्रीसम्पत्ति, माटो र सिक्किमेली जनताले प्राप्त गरेका विषेश अधिकारहरूमाथि नै आक्रमण गरेर आफ्नै आँगनमा परदेशी झैं बनाएको सिक्किमेली जनताले कदापि भुल्ने छैनन् भनी एसडीएफले बताएको छ।
एसडीएफ प्रचार प्रसार उपाध्यक्ष कृष्ण खरेलले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, ‘एसकेएम सरकारले पुँजीपति उकास्न चालु परियोजनाहरूमा अत्यधिक धनराशी बढ़ाएर सिक्किमको तिजोरी नै समाप्त बनाएको छ। पाँच वर्ष कुनै ठोस काम नगरेर सरकारको रुटिङ कामलाई उपलब्धी बताउने एसकेएम सरकारले अहिले आएर मतदाताहरूलाई आकर्षित गर्न धनशक्तिको प्रयोग गरिरहेको थाहा लागेको छ।’
एसडीएफले एसकेएममाथि चुनाउ आचार संहिता उल्लङ्घन गरेको आरोप लगाउॅंदै सरकारी कर्मचारीहरूलाई पार्टीको प्रचार गर्न बाध्य गरिरहेको पनि आरोप लगाएको छ। एसडीएफले चुनाउ आयोगलाई एसकेएम पार्टीका यस्ता चुनाउ आचार संहिता विरोधी काममा कड़ा निगरानी राख्न माग गरेको छ।
एसडीएफ अनुसार, सरकारी कर्मचारीहरूले सरकारी साधनको दुरूपयोग गरेर मतदातालाई प्रलोभन दिने काम गरिरहेको सूचनाहरू आएका छन्। चुनाउलाई पारदर्शी र निष्पक्ष बनाउन चुनाउ आयोगलाई तत्काल हस्तक्षेप गर्न माग गर्दै सबै राजनैतिक पार्टीहरूलाई लोकतान्त्रिक मूल्य र मान्यताको प्रजातान्त्रिक अभ्यास गर्ने अनुकूल माहोल बनाई दिन एसडीएफले अपील पनि गरेको छ।









