गान्तोक: एसकेएम पार्टीका प्रवक्ता योगेन तामाङले एसडीएफ नेता पवन चामलिङले चुनाउ प्रचारका क्रममा आगामी सरकारमा गरिने कार्यक्रमहरूको घोषणामाथि प्रश्न खडा गर्नु उनको अल्पज्ञानको उदाहरण हो भनी एसडीएफले ठहर गरेको छ।
एसडीएफ प्रचार प्रसार उपाध्यक्ष कृष्ण खरेलले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, एसकेएम पार्टी जस्तो चुनाउमा अनेकौं घोषणा गर्ने अनि सरकार बनिएपछि ती घोषणाहरू रद्दीको टोकरीमा फ्याकिदिएर एउटै पनि बाचा पूरा नगर्ने होइन एसडीएफ पार्टी। एसडीएफ पार्टीले चुनाउमा दिएका जति वाचा र घोषणा छन् ती सबै पूरा गरेको छ।
उनले केन्द्र अधीनस्थ केही मुद्दा चाहिँ पूरा नभएको सत्य हो, तर राज्य सरकारले गर्न सक्ने सबै वाचा एसडीएफले पूरा गरेको छ भनी बताएका छन्। एसडीएफले गरेका घोषणा र वाचा ढुङ्गामा खोपेका अक्षर जत्तिकै टिकाउ र भरपर्दा छन् भनी उनले दाबी पनि गरेका छन्।
उनले अझ भनेका छन्, दिनदिनै एसडीएफको लोकप्रियता बढेको देखेर भयभित बनेको एसकेएमको आक्रोश पोखेर तामाङले आफ्नो कालो अनुहार छोप्ने प्रयास गर्दै छन्, त्यसलाई जनताले बुझिसकेका छन्। हाम्रो ट्र्याक रेकर्ड नै हाम्रो प्रमाण हो। यसैले हाम्रा घोषणामा एसकेएमले टाउको दुखाईरहनु पर्दैन।









