कालेबुङ: गोरामुमो कालेबुङले लोकसभा चुनावमा भाजपा प्रार्थी राजु विष्टलाई जिताउनको निम्ति चुनावी सभा सम्पन्न भएको छ। कालेबुङको अप्पर ईच्छे शेर्पा ह्यारिटेजमा केन्द्रीय समिति सेक्रेटरी जनरल दावा शेर्पाको अध्यक्षतामा बसेको चुनावी सभालाई केन्द्रीय समिति सदस्य मणिकुमार खवासले सञ्चालन गरेका थिए। सभामा व्यापक छलफल गर्दै पार्टी अध्यक्ष मन घिसिङको निर्देशन अनुसार गोरामुमो कालेबुङले मुद्दा पार लगाउन सांसद राजु विष्टलाई भारी मतले जिताउनको निम्ति पार्टीको रणनीति तय गरेको मणिकुमार खवासले जानकारी दिएका छन्। सेक्रेटरी जनरल दावा शेर्पाले सभामा आफ्नो सम्बोधन राख्दै भने, पार्टी अध्यक्ष मन घिसिङले दिल्लीमा निरन्तर गोर्खा जातिको मुद्दालाई पार लगाउनको निम्ति कार्य गरेको प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको वक्तव्यले प्रमाण गरेका छन्। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मुद्दाको धनी भएको राजनैतिक दल हो। हामीले राजु विष्टलाई जिताउनु भनेको गोर्खा जातिको मुद्दा पार लगाउनु हो। यसैकारण हाम्रो जिम्मेवारी भनेको राजु विष्टलाई भारी मतले जिताउनु हो। अब गोरामुमो कालेबुङले जिम्मेवारी लिइएको छ। अब हामी चुनावी मैदानमा उत्रिने छौं। मुद्दा पार लगाउनु अब हामी पार्टी भएर होइन तर जाति भएर अघि आउनुपर्छ भनी सभामा सम्बोधन गर्दै दावा शेर्पाले गोरामुमो प्रतिनिधिवर्ग भातृ संगठनका सम्पूर्ण नेतृत्ववर्गलाई निर्देशन समेत दिएका छन्। सभामा कालेबुङका आठवटा समष्टिका प्रतिनिधिवर्ग, केन्द्रीय समिति सदस्य भक्त जैरु, संकमणि थुलुङ, वर्किङ कमिटी सचिव लोप्साङ तामाङ, गोरायुमो कालेबुङ ब्राञ्च कमिटी अध्यक्ष बुद्ध तामाङ, गोरामुमो कालेबुङ टाउन कमिटी अध्यक्ष लाक्पा तामाङ सह सचिव निमा धेण्डुप शेर्पा, कोषाध्यक्ष पुनम तामाङ लगायत गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको जानकारी प्राप्त भएको छ।








