सिलगढी: राज्यपाल डा. सीभी आनन्द बोस जलपाईगढीमा आँधीले प्रभावित मानिसहरूलाई भेटेर आज कोलकाता फर्किए। मंगलबार सिलगढीको बागदोग्र एयरपोर्टमा मिडियालाई सम्बोधन गर्दै उनले अवस्था अहिले नियन्त्रणमा रहेको बताए। ‘घटनाको जानकारी पाएलगत्तै विपक्षी दलका नेताहरू घटनास्थलमा पुगेका थिए र खबर पाएपछि म पनि क्षेत्रका मानिसहरूलाई भेट्न आएको थिएँ। सबै मिलेर काम गरिरहेकाले अवस्था अहिले नियन्त्रणमा छ’, उनले भने। आइतबार जलपाईगढी र मैनागढीमा आएको भीषण आँधीपछि राज्यपाल सोमबार सिलगढी पुगेका थिए र सोही दिन उनले जलपाईगढी र मैनागढी गएर आँधीले प्रभावित मानिसहरूलाई भेटेर राहत र उद्धार कार्यको जानकारी लिएका थिए।










