रिञ्चेनपोङलाई प्रमुख पर्यटन गन्तव्यका रूपमा विकसित गर्ने

n5965980261711990326673afeea98da8d31580f139ff4be4a659b2d7f37dd7660be0f4be965e77783787ed.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले रिञ्चेनपोङलाई पेलिङ जस्तै बनाएर प्रमुख पर्यटन गन्तव्यका रूपमा विकसित गर्ने बताएका छन्। आज चुनाउ प्रचार अभियानको दोस्रो दिन रिञ्चेनपोङ समष्टिका जनतालाई झुझिथाङमा आयोजित जनसभामा सम्बोधन गर्दै चामलिङले भने, हामी सरकारमा आएपछि रिञ्चेनपोङमा अन्तरराष्ट्रिय गुरूङ सांस्कृतिक एवम् धरोहर केन्द्र बनाउनेछौं।

इसाई समुदायका लागि प्रेयर टावर निर्माण गर्नेछौं। यस क्षेत्रमा आवश्यक सबै पूर्वाधारहरूको विकास गरेर रिञ्चेनपोङलाई एउटा प्रमुख केन्द्रका रूपमा विकसित गर्नेछौं।

एसडीएफ अध्यक्षले राज्यका किसानहरूलाई खेती किसानीमा प्रोत्साहित गर्न अब उसो वर्षेनी कृषकहरूलाई 60 हजार रुपियाँको अनुदान प्रदान गर्ने पनि घोषणा गरे। उनले भने, हामी फेरि सरकारमा आएका खण्डमा गाउँको विकासमा ७० प्रतिशत बजेट गाउँमा खर्च गर्नेछौं। बस्तीवाला गरिब जनतालाई निःशुल्क चामल वितरण गर्नेछौं।

उनले सिक्किमभरि एक हजार पर्यटक स्थल बनाएर ग्रामीण पर्यटनलाई विकसित गर्ने बताए। यसका साथै गाउँलाई आर्थिक गतिविधिको केन्द्रका रूपमा परिणत गरिने योजना एसडीएफ पार्टीको रहेको जानकारी दिए। रूरल मार्केटिङ केन्द्र बनाएर गाउँको अर्थव्यवस्थालाई गाउँबाहिर जान नदिने व्यवस्था गर्ने उनले बताए।

चामलिङले राज्यका सबै सडक मार्गहरूको कार्पेटिङ गर्ने वचन दिँदै भने, अपाङ्ग भएर परिवार धान्न नसक्ने चालक गुरुजीहरूलाई मासिक २० हजार रुपियाँको अनुदान प्रदान गर्नेछौं। उनले आउँदो सरकारमा पञ्चायत युनिटमा सबै लाइन विभागको कार्यालय स्थापना गर्ने योजना रहेको जनाए। पञ्चायतलाई सशक्त बनाएर एक करोडसम्मका गाउँका कामहरू ग्रामसभामा पारित गरेर पञ्चायतमार्फत गाउँमै प्रदान गर्ने व्यवस्था शुरु गर्ने बताए।

एसडीएफ अध्यक्ष चामलिङले यसपाली जनताको माग अनुसार पार्टीले टिकट वितरण गरेको बताउँदै नोर्देन भोटिया यसै समष्टिका आममानिस हुन्, जसलाई यहाँका समस्याहरूबारे राम्रो जानकारी छ भने। जनताको कल्याण र क्षेत्रको विकास गर्ने हुँदा जनताले जनताको दुखलाई बोक्न सक्ने योग्य व्यक्ति नोर्देन भोटियालाई भोट दिएर जिताउन अपील गरे।

यसका साथै उनले लोकसभा सिटका लागि पीडी राईको अनुभव र ज्ञानको सदुपयोग गरेर सिक्किमका मुद्दालाई केन्द्रसमक्ष पुऱ्याउन मतदान गर्न आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement