खरसाङ: गोर्खा सांस्कृतिक संस्थान, खरसाङको आयोजनामा आगामी गोर्खा नव वर्ष विसं २०८१ पहिलो वैशाखलाई भव्यताका साथमा पालन गर्नलाई पूर्णकुमार गुरुङ ‘निरूपम’, वर्तमान अध्यक्ष, गोर्खा जन पुस्तकालय, खरसाङको अध्यक्षतामा एउटा महत्वपूर्ण सभा गोर्खा जन पुस्तकालय भवनको पारसमणि प्रेक्षालयमा सम्पन्न गरियो। गोर्खा सांस्कृतिक संस्थान, खरसाङका मूल सचिव प्रणिता मुखिया घिसिङद्वारा सञ्चालित सभामा आगामी पहिलो वैशाख नव वर्षलाई सर्वजातीय सांस्कृतिक पर्वको रूपमा पालन गरेर जातीय एकता र अस्मिता सुढृड़ गर्ने विषयमा उपस्थित विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुले आ-आफ्ना मन्तव्यहरू प्रस्तुत गरे। खरसाङ लगायत वरिपरि क्षेत्रका आमन्त्रित संघ/संस्थाका प्रतिनिधिहरूको उपस्थितिले सभा साथै जाति र संस्कृति प्रेमको आभास प्रतित भइरहेको बताइएको छ। गोर्खा सांस्कृतिक संस्थान, खरसाङको दीर्घकालीन संस्कृति संरक्षण र सम्बर्द्धन प्रयासको निम्ति यो समावेश शुभ लक्षण भएको सभामा अनुभव गरियो। दिन प्रतिदिन विलुप्त प्राय: बन्न लागेको संस्कृति अवस्थालाई सम्पूर्ण जातगोष्टीको निम्ति नै एउटा गहन विषय भएको भान भयो। सारा विश्व नै आजको प्रगतिशील वैज्ञानिक परिवेशमा पनि स्वजातीय सांस्कृतिक मौलिकता संरक्षण गर्न अग्रसर भइरहेको छ। यसैले यो होड़मा सर्वभारतीय गोर्खा जाति पनि आफ्नो संस्कृति र भाषा-साहित्यको जगेराले नै विश्वमा परिचय कायम राख्न सक्षम रहनेछ भन्ने विषयमा सम्पूर्ण विज्ञ महानुभावहरु सचेत भएको सभामा भान भएको बताइएको छ। आगामी पहिलो वैशाखको सांस्कृतिक शोभायात्रामा खरसाङ लगायत वरिपरि क्षेत्रका सम्पूर्ण संघ/संस्थाहरूले सांस्कृतिक एकिकरणको भावनालाई आत्मसात् गरेर जातीय वेशभूषामा सुसज्जित भएर सहभागि बन्ने आह्वान पनि निवेदन गरियो। पहाड़ी क्षेत्रमा युगौँदेखि बसोबास गर्दै आउनु भएका अन्य सम्प्रदायका परिवारका महानुभावहरुलाई पनि वैशाखी पर्वमा सहभागिता दिएर हाम्रो नङ मासुको सम्बन्धलाई सर्वभारतीय स्तरमा उजागर गर्ने सादर आह्वान् निवेदन सभामा गरियो। नव वर्षको सौहार्दपूर्ण सांस्कृतिक शोभायात्रा गोर्खा सांस्कृतिक संस्थान, खरसाङको निजी चिन्तन भवन, आईएनए बस बिसौनी, खरसाङबाट आरम्भ भएर नगर परिक्रमा गरी कप्तान रामसिंह ठकुरी पथ, नयाँ बजार, खरसाङस्थित टाउन सार्वजनिक भवनमा पुगेर रहल सांस्कृतिक कार्यक्रम सम्पन्न हुने निर्णय सभामा लिइयो। शोभायात्रामा जातीय बाजागाजा वाद्यवादन जस्तै नौमती, मादल, डम्फू, लाखे, खैंजडी, च्याब्रुङ, सारङ्गी, सोरठी, सिंगे, मारूनी, संगिनी जस्ता हाम्रा ठेट नृत्यादि साथै विभिन्न झाँकीको प्रस्तुतिकरणको निम्ति पनि निवेदन गरियो। सभाध्यक्ष पूर्ण गुरुङ ‘निरूपम’ ले आफ्नो सम्बोधनमा यसपालीको नव वर्षको शुभोपलक्ष्यमा शोभायात्रामा सहभागी हुने महानुभावहरू साथसाथै घरमा बस्ने, बजार हाटमा पाल्नु हुने सम्पूर्ण महानुभावहरुलाई नव वर्षको दिन जातीय वेशभूषा पहिरेर सांस्कृतिक सचेतना कायम गर्ने आह्वान् गर्दै कार्यक्रममा एउटा नयाँ आयाम समावेश गर्ने सुझाव सभामा राख्नु भयो जसलाई सभामा करतलध्वनिको साथमा स्वागत जनायो। सभामा चर्चाका अन्य विषय नरहेकोले आगामी दिनाङ्क ४ अप्रेल २०२४ बिहीबार सम्पूर्ण संघ संस्थाका प्रतिनिधिहरुलाई पत्राचार गरेर पुनः एउटा सभा आयोजन गर्ने निर्णय लिएर सभाध्यक्षले धन्यवादको आदानप्रदानसहित सभा समापन गरे भनी गोर्खा सांस्कृतिक संस्थान खरसाङकी अध्यक्षा आशा मुखिया लामाले जानकारी दिएकी छन्।










