नयाँ दिल्ली: भारतका युवा मीडफिल्डर हार्दिक सिंह र डिफेण्डर सलीमा टेटेलाई वर्ष २०२३-को सर्वश्रेष्ठ पुरुष र महिला खेलाड़ीको रूपमा हकी इण्डिया बलबीर सिंह सीनियर पुरस्कार दिइयो। यसरी हकीका जादूगर मेजर ध्यानचन्दको नाममा लाइफटाइम अचीवमेण्ट पुरस्कार उनका छोरा अशोक कुमारलाई प्रदान गरियो। गत वर्ष एफआईएच सालका सर्वश्रेष्ठ खेलाड़ीको पुरस्कार पनि जित्ने हार्दिकले यसपाली पुरस्कारको दौड़मा पीआर श्रीजेश र हरमनप्रीत सिंह जस्ता सीनियर खेलाड़ीहरूलाई पछि छोड़े। टोक्यो ओलम्पिकमा काँस्य पदक विजेता भारतीय टीमका सदस्य रहने २५ वर्षीय हार्दिकले १०० भन्दा अधिक अन्तर्राष्ट्रिय म्याच खेलिसकेका छन्। यसरी सलीमा टेटे टोक्यो ओलम्पिकमा ऐतिहासिक चौथो स्थानमा रहने भारतीय महिला टीमकी हिस्सा थिइन्। उनले पुरस्कारको दौड़मा टीमकी कप्तान तथा एफआईएच सालकी सर्वश्रेष्ठ महिला गोलकीपरको पुरस्कार जित्ने सविता पूनियालाई पछि छोड़िन्। वर्षका सर्वश्रेष्ठ पुरुष र महिला खेलाड़ीलाई पुरस्कारको रूपमा २५ लाख रुपियाँ अनि प्रशस्ति पत्र प्रदान गरियो।
हकी इण्डियाको वार्षिक पुरस्कार समारोहमा श्रीजेशलाई २०२३-को सर्वश्रेष्ठ गोलकीपर र भारतीय पुरुष हकी टीमका कप्तान हरमनप्रीतलाई सर्वश्रेष्ठ डिफेण्डरको पुरस्कार प्राप्त भयो। यसरी हार्दिकले सर्वश्रेष्ठ मीडफिल्डर अनि अभिषेकले सर्वश्रेष्ठ फरवर्डको पुरस्कार जिते । सर्वश्रेष्ठ उदीयमान अण्डर-२१ खेलाड़ीको पुरस्कार महिला वर्गमा दीपिका सोरेंग र पुरुष वर्गमा अराइजीत सिंह हुण्डललाई प्राप्त भयो। मेजर ध्यानचन्द लाइफटाइम अचीवमेण्ट पुरस्कार उनका छोरा तथा १९७५ वर्ल्ड कप विजेता टीमका सदस्य रहने अशोक कुमारलाई प्रदान गरियो। यस अवसरमा पूर्व ओलम्पियन हरबिन्दर सिंह, जफर इकबाल, अजित पाल सिंह, जगबीर सिंह, जुगराज सिंह, हकी इण्डियाका महासचिव भोलानाथ सिंह र ओडिशा सरकारका खेल सचिव विनील कृष्णा उपस्थित थिए। भारतीय पुरुष हकी टीम अहिले पेरिस ओलम्पिकको तयारीमा जुटेको छ जबकि महिला टीमले चाहिँ ओलम्पिकको निम्ति क्वालीफाई गर्न सकेन।