झापा (भद्रपुर- नेपाल): भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा आउँदो महिना ५ अप्रेलमा लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस आयोजना हुनेभएको छ। नेपाल पर्यटन बोर्डले चिनियाँ दूतावास, लुम्बिनी विकास कोष र नेपाल ओलम्पिक शान्ति समितिसँगको सहकार्यमा लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवसको आयोजना गर्न लागेको हो। लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवसको क्रममा लुम्बिनी शान्ति कन्सर्ट पनि गरिने छ। कार्यक्रमले नेपाल र चीनबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा राखेको छ। कार्यक्रममा विश्व प्रख्यात गायिका आनी छुइङ डोल्मा, चिनजानका चिनियाँ गायक तथा संगीतकार तथा लुम्बिनीका परम्परागत संगीतकारहरुको प्रस्तुती रहनेछ।
प्रस्तुतीमा सहभागी हुने गायिका आनी छुइङ डोल्मा नेपालसहित विश्वभर नै धार्मिक गायिकाका रुपमा परिचित छिन्। भिक्षुणीको रूपमा उनले सकेसम्म संवेदनशील प्राणीहरूलाई फाइदा पुर्याउन र भिक्षुणीहरूको उन्नतिका निम्ति आफ्ना सबै क्षमताहरू प्रयोग गर्ने इमान्दार इच्छा विकास गरेका छन्। आनीले युवतीहरूलाई अध्ययन गर्न र उनीहरूको आफ्नै क्षमताहरू विकासका निम्ति अवसरहरू सिर्जना गर्नका निम्ति आफ्नो जीवन शिक्षकको दर्शनमा समर्पित गरेकी छिन्। कुनै औपचारिक सांगीतिक तालिम नपाएपनि वाल्य अवस्थादेखि गीत गाउन रुचि राख्ने आनीले अमेरिका र युरोपको भ्रमण गरी हिमालयन बौद्ध मन्त्र, अनुष्ठान जप र नेपाली संगीतलाई विश्वमाझ फैलाउनु भएको छ भने हालसम्म राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा १६ वटा एल्बमहरू निकालेकी छिन्।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सम्मानित मानवतावादी नारी आनीले सन् २०१४ मा दुई कार्यकाल नेपालका निम्ति युनिसेफको पहिलो राष्ट्रिय सद्भावना दूतका रूपमा नियुक्त भएकी थिइन्। प्रस्तुतीमा सहभागी हुने मुख्य भूमि चीनकी मङ्गोलियन महिला गायिका वुलान थुयाको जन्म सन् १९८३ सेप्टेम्बरमा भएको थियो। उनले चीनको जातीय विश्वविद्यालयको भोकल संगीत विभागबाट स्नातक गरेकी हुन्। अखिल चाइना फेडेरेसन अफ ट्रेड युनियनकी एकल गायक, अल्पसंख्यक संगीत संघको सदस्यका बाहेक उनी चीन स्वयंसेवक संघको पनि सदस्य हुन्। सोही कार्यक्रममा सहभागी हुने अर्का गायक लु निङ भने चीनको राष्ट्रिय परम्परागत अर्केस्ट्राका कलाकार हुन। हाल चिनियाँ राष्ट्रिय आर्केस्ट्रा समाजको पाँचौं गुकिन व्यावसायिक समितिको उप-महासचिवको रूपमा सेवा गरिरहेकी लु निङले ठूला ठूला आर्केस्ट्रा कार्यक्रमहरूमा सहकार्य गरेकी छिन्।
महत्त्वपूर्ण सांस्कृतिक कार्यक्रमहरूमा भाग लिएका लु निङले केनेडी सेन्टर, लिंकन सेन्टर, कार्नेगी हल र कोलम्बियाको राष्ट्रिय कला केन्द्र लगायतका प्रतिष्ठित स्थानहरूमा प्रदर्शन गरेकी छिन्। सीसीटीभी, , फिनिक्स, बीटीभी, हुनान टीभी, चाइनिज म्युजिक म्यागजिन, पिपुल्स म्युजिक म्यागजिन र चाइना म्युजिक लाइफ डेली लगायत धेरै प्रसिद्ध मिडिया आउटलेटहरूले लु निङको अन्तर्वार्ता लिइसकेका छन्।
लुम्बिनीलाई ‘विश्व शान्ति र सांस्कृतिक पर्यटन गन्तव्य’को रूपमा विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न यो कार्यक्रम केन्द्रित हुने र नेपाल-चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार अन्तर्राष्ट्रिय राष्ट्रिय म्याराथन धावक, चिनियाँ प्रतिनिधि, कूटनीतिज्ञ, कलाकार, गायक, प्रदेश तथा राष्ट्रिय सरकारका पदाधिकारी, पर्यटन व्यवसायीको सहभागिता रहनेछ।