गान्तोक: सोरेङ-च्याखुङ समष्टिमा एसकेएम पार्टीको बुथ स्तरीय चुनाव प्रचार प्रसार समितिको समन्वय बैठक आज सम्पन्न भयो। सिङलिङस्थित एसकेएम अध्यक्ष पीएस गोलेको निवासमा सम्पन्न बैठकमा निवर्तमान विधायक आदित्य गोले, पार्टीका प्रवक्ता सीपी शर्मा, संगठन महासचिव एवं प्रवक्ता जेकब खालिङ, सोरेङ जिल्लाका उपाध्यक्ष प्रभारी डीबी गुरुङ, पूर्व अध्यक्षगण, सोरेङ जिल्ला स्तरीय र समष्टि स्तरीय समितिका पार्टी पदाधिकारीगण, जिल्ला तथा ग्राम पञ्चायत, बुथ स्तरीय प्रचारप्रसार समिति, भातृ संगठनका पदाधिकारी, सेवानिवृत्त कर्मचारी र पार्टी कार्यकर्ताहरु उपस्थिति रहेको थियो।
स्मरण रहोस्, एसकेएम अध्यक्ष एवं मुख्यमन्त्री पीएस गोले आगामी विधानसभा चुनावको निम्ति सोरेङ-च्याखुङ र रिनाक निर्वाचन क्षेत्रबाट उम्मेदवारको रूपमा चुनावी मैदानमा छन्। पार्टी अध्यक्ष तथा उम्मेदवार पीएस गोले र लोकसभा उम्मेदवार इन्द्रहाङ सुब्बालाई सोरेङ-च्याखुङ समष्टिबाट भारी मतले विजयी बनाउन अनि प्रत्येक बुथबाट एसकेएम उम्मेदवारलाई भारी मतले विजयी गराउनका लागि पार्टीले रणनीति तयार पार्न आज बुथ स्तरीय प्रचार प्रसार समितिलाई समन्वय बैठक सम्पन्न गरेको हो। पार्टीले अघिबाटै बुथ स्तरीय समिति गठन गरिसकेको छ। सोरेङ-च्याखुङमा चुनाव प्रचारप्रसारलाई तीव्रता प्रदान गर्न पार्टीले रणनीति तयार पारेको पार्टी पदाधिकारीहरुले जानकारी गराएका छन्। पार्टीले यसपटक एसकेएम पार्टीले विगत पाँच वर्षमा गरेको काम र विकासको नाममा चुनाव लड्ने अनि प्रत्येक आमजनताको घर-घरमा पुगेर एसकेएम पार्टीले हासिल गरेको उपलब्धिहरुबारे चर्चा परिचर्चा गर्ने कार्यक्रम तयार पारेको पनि बताइएको छ।










