खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पंखाबारी अम्बटे लंगभ्यु समष्टि अन्तर्गत गाडीधुरा क्षेत्रका दुईवटा बुथलाई लिएर खरसाङ खण्ड चुनाव प्रभारी प्रणाम रसाइलीको अध्यक्षतामा सभा सम्पन्न भएको छ। सभामा आगामी लोकसभा चुनाव विषय लिएर चर्चा परिचर्चा गरियो। सभालाई भर्खरै मात्र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा समर्थन जनाएका सदिप सार्कीले सञ्चालन गरेका थिए भने सभालाई नकुल विश्वकर्मा, अमित तिर्की, नरेन छेत्री, सुवास गुरूङ आदिले सम्बोधन गरेका थिए। सभामा मेरियनबारी बुथ साथै गाडीधुरा बुथको लागि क्रमैले अमित तिर्की अनि सदिप सार्कीलाई संयोजकको रूपमा चयन गरियो भने दुवै बुथमा प्रतिनिधिहरूलाई बुथ कमिटिको सदस्यको रूपमा चयन गरियो। गाडीधुरामा पार्टीको सुदृढीकरण हेतु अझ तीब्र गतिमा कार्य गरी आगामी चुनावमा भागोप्रमो समर्थित उम्मेदवार गोपाल लामालाई भारी मतले बिजय गराउने निर्यण लिइयो। सभालाई सम्वोधन गर्दै खरसाङ खण्ड चुनाव प्रभारी साथै खरसाङ महकुमा महासचिव प्रणाम रसाइलीले गाडीधुरामा आज सबै एक भएर पार्टीको हितको लागि अघि आइरहेका छन् र यसले हाम्रो जीत निश्चित भएको बताएका छन्। उनले अब हरेक प्रतिनिधिले आ-आफ्नो तहमा कार्य गरी अध्यक्ष अनित थापाको हात बलियो बनाउन लागि पर्ने सुझाव दिए। आजको सभामा खरसाङ महकुमा समिति प्रवक्ता अनुप रामुदामु, पंखाबारी अम्बटे लंगभ्यु समष्टि सह-सचिव कुनाल छेत्री, सांगठनिक सचिव सुवास छेत्री लगायत पार्टी कार्यकर्ताहरू उपस्थित रहेका थिए भनी गाडीधुराको संयोजक सुवास गुरूङले जानकारी गराएका छन्।










