सोरेङ: सोरेङ जिल्लाको दरामदिन समष्टिका अन्तर्गत ओखरेस्थित निवर्तमान विधायक एवं एसकेएम प्रार्थी एमएन शेर्पाको निजी निवासमा सीएलसी सदस्य साथै ब्लक स्तरीय सदस्य बीच समन्वय बैठक सम्पन्न भयो। आजको बैठक निवर्तमान विधायक एवं एसकेएम उम्मेदवार एमएन शेर्पाको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा ब्लक स्तरीय चुनावी सभा अनि क्याम्पेनिङ कार्यक्रमलाई लिएर छलफल गरियो। आगामी १ अप्रेलदेखि दोदकबाट चुनावी अभियान शुरु गरिने सभामा छलफल गरियो। पहिलो चुनावी सभा दोदक हेलिपेडमा सम्पन्न गरिने बैठकमा निर्णय लिइयो। यसरी नै क्रमबद्ध रुपमा चुनावी सभा ब्लक स्तरमा सम्पन्न गरिने पनि सभामा छलफल भयो।
आजको बैठकमा अनुसूचित जनजाति कल्याण बोर्डका पुर्व अध्यक्ष प्रेमकुमार सुब्बा, सीएलसी अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, संयोजक लगायत सदस्य-सदस्यागण, युवा प्रकोष्टका संयोजक, नारी शक्तिका पदाधिकारीगण, ब्लक-वार्ड स्तरका अध्यक्ष साथै सदस्य-सदस्याहरूको उपस्थिति थियो। यसै कार्यक्रम अन्तर्गत लोवर थाम्बुङबाट भीम भुजेल र गणेश सुब्बाले एसडीएफ पार्टी त्यागी सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा आधिकारिक रुपमा सामेल भए। एसकेएम पार्थी एमएन शेर्पाले यी दुईजनालाई खदा लगाएर पार्टीमा स्वागत जनाए। सभालाई सम्बोधन गर्दै एसकेएम प्रार्थी शेर्पाले अब सबै कार्यकर्ताहरूले टेबल ल्याम्पको प्रतिनिधि भएर चुनावी अभियानमा लाग्नुपर्ने आग्रह गरे। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले शुरु गरेको जनपक्षीय कामहरूलाई निरन्तरता दिनको निम्ति फेरि पनि सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई सरकारमा ल्याउन अनिवार्य रहेको कुरा बताउँदै सबै एक भएर कार्य गर्नुपर्ने आग्रह गरे।