गान्तोक: नामथाङ रातेपानी निर्वाचनबाट आज सिटिजन एक्सन पार्टी र एसडीएफ पार्टीका कार्यकर्ताहरू एसकेएम पार्टीमा आधिकारिकरूपमा सामेल भए। आज नामथाङस्थित एसकेएम पार्टी कार्यालयमा पहिलो चुनावी समन्वय सभा सम्पन्न भयो। उक्त सभामा निवर्तमान मन्त्री सञ्जीत खरेल लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। आज पार्टीमा सामेल हुनेहरूलाई उम्मेद्वार खरेलले खदा लगाएर पार्टीमा स्वागत जनाए। आफ्नो सम्बोधनको क्रममा खरेलले एसडीएफको कार्यकालमा चयनित बनेका लोकसभा सांसदले नामथाङ रातेपानी निर्वाचन क्षेत्रलाई अदेखा गरेको र यस निर्वाचन क्षेत्रमा कुनै प्रकारको विकासका कार्यहरू नगरेको दावी गरे। तर एसकेएम पार्टीबाट विजयी बनेका सांसद इन्द्र हाङ सुब्बाले भने यस निर्वाचन क्षेत्रको निम्ति धेरै कामहरू गरेको पनि उनले उल्लेख गरे। पाँच वर्षमा एसकेएम पार्टीले यस निर्वाचन क्षेत्र साथै राज्यमा के-के काम गऱ्यो भन्नेबारेमा सबैलाई अवगत रहेको जानकारी गराउँदै स्थानीय जनताको साथ नै आफ्नो निम्ति प्रेरणाको स्रोत रहेको बताए। आगामी १९ अप्रेलमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई शान्तिपूर्वक ढङगमा सम्पन्न गराउनको निम्ति पार्टी कार्यकर्ताहरूले अहंम भूमिका निर्वाह गर्नुपर्ने उनले अपील गरे। वर्तमान परिपेक्ष्यमा विपक्षी दलहरूले राज्य बाहिरबाट मानिसहरू ल्याएर राज्यमा अशान्ति उत्पन्न गराउन षडयन्त्र गरिरहेको हुनाले यसबारेमा एसकेएम पार्टीका कार्यकर्ताहरू सचेत रहनुपर्ने सुझाउ दिए। हाल पञ्चायत, जिल्ला पञ्चायत र वार्डलेवल समिति एक भएको हुनाले अब एसकेएम पार्टीलाई कुनै पनि शक्तिले सरकार गठन गर्नबाट रोक्न नसक्ने खरेलले दावी गरे। यसै क्रममा हालै मात्र एसकेएम पार्टीमा सामेल भएका डा. अनुप खरेलले एक वर्षसम्म एसकेएम पार्टीमा रहेर कार्य गरेको अनुभव व्यक्त गरे। एसडीएफ पार्टीले सर्वसाधरण जनतालाई थाङनामा सुत्नाउने कार्य गरेको बताए।

उक्त पार्टीको नयाँ योजना केही नरहेको र पुरानो कुरालाई नै यथावत राख्दै पून सरकारमा आउने प्रयास गरेको हुनाले आफूले सो पार्टीबाट राजीनामा दिएको जानकारी गराए। एसकेएम पार्टीले छोटो अवधिमा गरेको कार्य साथै गतिविधिबाट आफू प्रभावित बनेको जानकारी गराउँदै अबोप्रान्त यसै पार्टीमा रहेर जनताको हितमा काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।