दार्जीलिङ: आज भारतीय जनता पार्टीको एक सभा सांसद कार्यालय दार्जीलिङमा सम्पन्न भयो। सभामा भागोप्रमो र अन्य दलबाट रङबुल धोत्रे क्षेत्रका प्रायः ५० भन्दा ज्यादाले भाजपाको झण्डा ग्रहण गरेको दावी गरिएको छ। उक्त अवसरमा उपस्थित भाजपा दार्जीलिङ जिल्ला उपाध्यक्ष एलएम लामा, महासचिव सुजेन्द्र राई, विधान सभा संयोजक सुमन प्रधान, महिला मोर्चा जिल्ला अध्यक्षा चन्द्रकला राई, जिल्ला युवा मोर्चा अध्यक्ष निरज राई, युवा मोर्चा, राज्य कमिटी सदस्य सञ्जीव लामा, पार्टी जिल्ला समिति सदस्य दावा डुक्पाले नयाँ सदस्यहरुलाई पार्टीको झण्डा र खदा प्रदान गर्दै पार्टीमा स्वागत जनाए। यस अवसरमा नेतृत्व गरी आउने आनन्द थुलुङ राई र संजीता गुरुङले क्षेत्रमा प्रजातान्त्रिक मोर्चाको नेताहरुले गरेका पक्षपात, भ्रष्टाचार र कमिसनवादले जनता वाक्क दिक्क भइसकेको र हामी सानो सानो योजना हुनुपर्छ भन्ने मात्रै होईन तर हाम्रो जातिको मुद्दा सर्वोपरि हुनुपर्छ भन्ने सोंच हो भनी बताएका थिए। उनीहरूले हामीले विचार गर्दा यो समस्याको समाधान भाजपाले मात्रै गर्नुसक्छ र अहिले समर्थन जताउनु पर्ने नै भाजपालाई हो भनी हामी आएको पनि बताए।

यस अवसरमा भाजपा उपाध्यक्ष एलएम लामाले सबैलाई स्वागत जनाउँदै भाजपाको मिशन बंगालदेखि छुटानाम हो। बंगालको अधीनमा बसेर बंगालको खेताला भएर पहाडको गरिमा नै मुर्दा घाटमा पुरयाउने षड्यन्त्र भइरहेको छ भनी आरोप लगाए। लामाले भने, ‘गोर्खा जाति स्वाभिमानी जाति हो। स्वाभिमानको रक्षा हाम्रो पहिलो शर्त हो। यसको लागि भाजपा र सहयोगी दलहरु नै मिलेर निष्ठावान प्रतिनिधि फेरि पठाउनुपर्ने समयको माग छ। यो सही समय हो। अब हाम्रो मुद्दा फत्ते गर्ने र गराउने पालो हो। यसको लागि नै भाजपालाई संगठन र समर्थनको आवश्यकता छ।’
सभामा संगठनमाथि महासचिव सुजेन्द्र राईले सबैलाई जानकारी गराएका थिए।










