खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको गोलाईपाखास्थित भानु ग्राम क्षेत्रमा एकजनाको घरमुनि सन् २०१८ मा गएको पैह्रो चारवर्षपछि पनि मरमत्ति नभएको गुनासो अघि आएको छ। तीनधारेको भानु ग्राम निवासी दिपक प्रधानको घरमुनि २०१८ मा पैह्रो गएपछि खतरा उत्पन्न भएको र पैह्रो मरमत्तिको लागि निवेदन गरे पनि अहिलेसम्म कुनै मरमत्ति नभएको जानकारी प्राप्त भएको छ। उक्त पैह्रोले अहिले पुन: दिपक प्रधान र वरिपरिको घरहरूलाई खतरा उत्पन्न भएको स्थानीयहरूले बताएका छन्। उक्त पैह्रो मरमत्ति नगरिएको कारणले अहिले फेरि दिपक प्रधानको घरको मुनिपट्टिको भागहरू पूरै चर्किएको अवस्थामा रहेको र उक्त चर्किएको कारणले गाउँलाई नै खतरा उत्पन्न भएको छ। यस विषयमा दिपक प्रधानले बताए अनुसार २०१८ मा मेरो घरमुनि पैह्रो गएपछि पैह्रो मरमत्तिको लागि पञ्चायतमा निवेदन गरेको र यो निक्कै ठूलो र प्रोटेक्शन वालको कुरा भएकोले सिँचाई विभागमा निवेदन गर्नु भनिएको कारणले पञ्चायतबाट फरवर्ड गरेर दार्जिलिङसम्म पुगेको तर अहिलेसम्म पैह्रो मरमत्ति नभएको बताएका छन्। उनले सन् २०१८ मा नै त्यसताकको विधायक डा रोहित शर्मा, अनोश थापा र सिँचाई विभागका ईञ्जिनियर निरीक्षणमा पनि आएको तर चार वर्ष बितेर पनि काम भने नभएको बताएका छन्। उनले यो पैह्रो आपतकालीन स्किममार्फत् निर्माण हुने भनिए पनि चार वर्ष बितिसकेर पनि आपतकालीन रुपमा मरमत्ति नभएको गुनासो पोखेका छन्। दिपक प्रधानको घरमुनि गएको पैह्रो निरीक्षण गर्नलाई तीनधारे महानदी समष्टिको नव निर्वाचित सभासद नवराज छेत्री पनि पुगेका थिए। उनी आफै जीटीएमा आपदा प्रबन्धन विभागको खरसाङको जिम्मावारी पाएको कारणले यस पैह्रोको मरमत्तिको लागि कुरा राख्ने र पैह्रो निरीक्षणमा अधिकारीहरू आएर बजट तय भएपछि मरमत्ति हुने बताएको पनि प्रधानले जानकारी गराएका छन्।








