काेचबिहार: जिल्लाका मुख्य स्वास्थ्य अधिकारीका सुरक्षा गार्डले आफ्नो सर्भिस रिभल्वरले आफैमाथि गोली दागेका छन्। उक्त घटनाले क्षेत्रमा कोकोहोलो मच्चिएको छ। घटना गए बुधवार अबेर राती मुख्य स्वास्थ्य अधिकारीको क्वार्टरमा भएको हो। मृत सुरक्षा गार्डको नाम श्यामसुन्दर नार्जिनारी हो जो जिल्लाको कामाखागुड़ीका बासिन्दा थिए।
पुलिस सूत्र अनुसार गए बुधवार अबेर राती लगभग ११ बजे मुख्य स्वास्थ्य अधिकारीको क्वार्टरको ग्राउण्ड फ्लोरबाट गोली चलेको आवाज सुनियो। अन्य सुरक्षा गार्डहरूले गोली चलेको स्थानमा गएर हेर्दा श्यामसुन्दर मृत अवस्थामा लड़िरहेका थिए। उनले शिरमा गोली दागेर आत्महत्या गरेको हुनसक्ने अनुमान लगाइएको छ। घटनापछि कोतवाली थाना पुलिसले घटनास्थलमा पुगेर शवलाई कब्जामा लियो अनि पोस्टमर्टम गर्नको लागि पठाइदियो। यता सुरक्षा गार्डको परिवारले घटनाको पूर्ण जाँच हुनुपर्ने माग गरेका छन्।









