गान्तोक: विद्या भारती सिक्किमद्वारा कालेबुङ जिल्लाको लिङ्सेमा सञ्चालित सरस्वती विद्या निकेतनमा विद्यालयको एक समन्वय बैठक सम्पन्न भयो। बैठकमा विद्यालयको वर्तमान स्थिति, शैक्षिक, सामाजिक, सङ्गठनात्मक, प्रशिक्षण, कार्यशाला, आगामी योजना, निर्माणाधीन परियोजना, विद्यालय अभिभावक, आचार्य-आचार्याको बैठक, सञ्चालन समितिको कार्य आदि जस्ता विभिन्न विषयहरूमाथि चर्चा एवं समीक्षा गरियो।
बैठकमा विद्यालय सञ्चालन समितिका अध्यक्ष सुमन घिमिरे, सचिव बीएन पोडयाल तथा अन्य सक्रिय सदस्यहरू उपस्थित थिए। यसरी नै समाजका वरिष्ठ समाज सेवक, पूर्व अध्यक्ष, सचिव, सदस्यहरू, अभिभावक प्रतिनिधि एवं विद्यालयका प्रधानाचार्य, वरिष्ठ आचार्यहरूको पनि बैठकमा उपस्थिति थियो।
बैठकमा उपस्थित सबैले विद्यालयको समग्र विकासका लागि चर्चा गर्दै सुझाउहरू राखे। बैठकमा विद्या भारती सिक्किमको एक टोली, समितिसँग समन्वय स्थापना, विकासको लागि चर्चा गरिएको जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले दिएका छन्।