राजनीतिक संस्कार तथा आर्थिक सुधार घोषणापत्रको प्राथमिकतामा सामेल
गान्तोक: आगामी विधानसभा चुनाउलाई लिएर सिक्किममा घोषणापत्र जारी गर्ने पहिलो पार्टी सिटिजन एक्सन पार्टी (सीएपी) भएको छ।
पार्टीले आइतवार साँझ गान्तोकमा एउटा समारोह आयोजन गरेर आगामी पाँच वर्षको लक्ष्यका साथ चुनावी घोषणापत्र जारी गऱ्यो।
पार्टी अध्यक्ष भरत बस्नेत, पार्टीका मुख्य संयोजक तथा मुख्यमन्त्री उम्मेदवार गणेश राई, चुनाउ संसदीय परिषदका अध्यक्ष एलपी काफ्ले लगायत पार्टी पदाधिकारीको उपस्थितिमा पार्टीको घोषणापत्र जारी गरियो। सीएपीले १३५ पृष्टको घोषणा पत्रमा विभिन्न २७ विषयअन्तर्गतका घोषणा समावेश गरेको छ, जसमा सिक्किमको राजनीतिक संस्कारलाई सुधार गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।
सबै विषयमा सुधारको वकालत गर्दै सिक्किम ‘रिफम कल’ को यात्राबाट राजनीतिक दलसम्मको यात्रा तय गरेको सीएपीले सिक्किममा व्यापक आर्थिक सुधारको वकालत गर्दै आगामी १० वर्षमा सिक्किमलाई ऋणमुक्त राज्य बनाउने घोषणापत्रमा वाचा गरेको छ। सिक्किममा राजनीतिक उग्रवाद र हिंसावाद बढेको भन्दै सीएपीले यसलाई अन्त्य गराउन पोलिटिकल रिफर्म कमिशन गठन गर्ने घोषणापत्रमा बताएको छ।
ग्रामीण क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने वाचाका साथ 30 प्रतिशत बजेट स्थानीय सरकारलाई सोझै हस्तान्तरण गर्ने पार्टीको घोषमापत्रमा सामेल छ। यसरी विधायक विकास कोष गठन गरेर क्षेत्रको विकासका लागि वार्षिक तीन करोड रुपियाँको धनराशि प्रत्येक विधायकलाई दिने बताएको छ भने पञ्चायतलाई अधिकारसहित आर्थिक रुपमा पनि सशक्त गराउन मासिक ४० देखि ५० हजार रुपियाँ मानदेह रकम प्रदान गर्ने बताएको छ। पूर्व पञ्चायतका लागि मासिक १० हजार रुपियाँको भत्ता दिने विषय सीएपीको घोषणापत्रमा उल्लेख गरिएको छ।
सिटिजन एक्सन पार्टीले सरकार गठन गरेको खण्डमा आगामी पाँच वर्षभित्र राज्यमा ५० हजार करोड रुपियाँ राज्य बाहिरबाट निवेश गराएर रोजगार तथा आर्थिक उपार्जनको बाटो खुला गराउने घोषणापत्रमा उल्लेख छ। वार्षिक रुपमा १० हजार रोजगारीका अवसर सिर्जना गर्ने, प्रत्येक शिक्षित बेरोजगारलाई मासिक भत्ता प्रदान गरेर युवाहरूका लागि रोजगारीको बाटो निकाल्नै पर्ने दवाउ सरकारलाई दिने पार्टीले वाचा गरेको छ।
विद्यार्थीको उच्च शिक्षाका लागि क्रेडिट कार्डको व्यावस्था मिलाउने सीएपीले घोषणा पत्रमा उल्लेख गरेको छ। सिक्किमका दीर्घलम्बीत राजनीतिक मागहरू मध्ये लिम्बू-तामाङ समुदायलाई सिक्किम विधानसभामा सीट आरक्षण गराउन पार्टीले काम गर्ने बताएको छ साथै नेपाली सीट पुनर्बहालको विषय पनि घोषणापत्रमा उल्लेख छ।
पार्टीले घोषणा पत्रमा सिक्किमेको अस्तित्व रक्षा, नारी सुरक्षा र विकास, कृषि विकास, भाइब्रेन्ट सिक्किम निर्माण, मजदुर तथा चालक हितका विषय, शिक्षा नीति, सहकारी आन्दोलन, शहरी विकास, सरकारी कर्मचारीको हितका विषय, पूर्वाधार विकास, पर्यटन उद्योग, स्वास्थ्य तथा सामाजिक न्याय लगायतका विषयलाई पनि उठान गरेको छ।
पत्रकारहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा मुख्यमन्त्री उम्मेदवार गणेश राईले पार्टी उम्मेदवारहरूको सूची चॉंडै जारी गरिने बताए। यसैगरी, उनले सीएपी आफ्नो बलबुतामा चुनाउ लड्ने र एक्लै चुनावी मैदानमा उत्रिने निर्णय लिइएको बताए।








