सोनादा: पारिजातका साहित्यिक कृतिहरुको मूल्याङ्कन गर्दै सोनादा डिग्री कलेजको नेपाली विभागको तत्वावधानमा कलेजको प्रेक्षागृहमा पारिजातको ९१औं जन्म जयन्ती कलेजका शिक्षक प्रभारी डा.रागिनी थापाको अध्यक्षतामा सम्पन्न भयो। पारिजातको प्रतिकृतिमा माल्यार्पण भई शुरु भएको पारिजात जयन्तीमा कलेजका शिक्षक- शिक्षिकाहरुमध्ये राजनीतिशास्त्र विभागका डा कोमल कौशिक बराल, प्रा.सुशिला बराईली, अङ्ग्रेजी विभागका प्रा.विशाल थापा, नेपाली विभागका प्रा.मेघनाथ छेत्री, प्रा.अनिल विश्वकर्मा, प्रा.पर्वत रसाईली, शिक्षक प्रभारी डा.रागिनी थापा आदिले पारिजातका साहित्यिक योगदानहरूसंगै उनका साहित्यिक विशेषता र प्रवृत्तिहरू बारेमा जानकारी दिएका थिए। १३ मार्च सन् १९३४ सालमा दार्जीलिङको लिङ्गिया चियाबारीमा जन्मिएकी विष्णु कुमारी वाईबा नेपाल प्रवेश गरेपछि साहित्यमा पारिजात नामले प्रसिद्धि कमाएकी थिईन्। आफ्नो जीवनकालमा उनले शिरिषको फूल, महत्ताहीन, बैंसको मान्छे, तोरीबारी बाटा र सपनाहरू, पर्खालभित्र र बाहिर, अन्तरमुखी, उसले रोजेको बाटो, अनिदो पहाडसंगै, परिभाषित आँखाहरू, बोनी गरी दशवटा उपन्यास, आदिम देश, सडक र प्रतिभा, साल्गीको बलात्कृत आँसु, बदशाला जाँदा आउँदा नामक चारवटा कथा सङ्ग्रह, आकाँक्षा, पारिजातका कविताहरू र बैँसालु वर्तमान नामक तीनवटा कविता सङ्ग्रह, अनि धुप्पी सल्ला र लाली गुरासको फेदमा, एउटा चित्रमय शुरुवात, आँधी आकाश, अध्ययन र सङ्घर्ष नामक चारवटा संस्मरणात्मक निबन्ध सङ्रग्रहमा अध्ययन र शोधका विभिन्न क्षेत्रहरू रहेकोले विद्यार्थीहरूलाई भविष्यमा पारिजातका कृतिहरूमाथि शोध गर्ने प्रेरणा पनि दिइएको थियो। कम उमेरमै आफ्ना शिरिषको फूल उपन्यासको लागि मदन पुरस्कार प्राप्त गर्ने प्रथम नारी पनि पारिजात नै थिईन् अनि उनको उपन्यास शिरिषको फूल अङ्ग्रेजीमा अनुवाद भई अमेरिकाको मेरील्याण्ड विश्वविद्यालयमा पनि पाठ्यक्रममा समावेश हुनाका साथै उनका अन्य सबै कृतिहरू उत्कृष्ट र सङ्ग़्रहनीय रहेको साथै सिक्किमको निर्माण प्रकाशनले केही वर्ष अघि पारिजातका सबै कृतिहरू पारिजात रचना संचयन १ देखि ६ सम्म प्रकाशित गरेको अनि सिलगढीको पारिजात सङ्घले केही वर्ष अघि सिलगढी भक्तिनगर थाना नजीक दुइ माईल चेक पोष्ट छेउ इस्टर्न बाई पासमा पारिजातको मूर्ती पनि स्थापना गरी सकेको कुरो विद्यार्थीहरूलाई जानकारी दिइएको थियो। कलेजमा सम्पन्न भएको पारिजात जयन्ती समारोहमा इतिहास विभागका प्रा.प्रमोद छेत्री, प्रा.इलोरा शर्मा, प्रा.सुवास देवान, राजनीति शास्त्र विभागका प्रा.श्वेता प्रधान, अङ्ग्रेजी विभागका प्रा.रतिका सुब्बा, शिक्षा शास्त्र विभागका प्रा.अब्बु सिद्धिकी, दर्शन शास्त्र विभागका प्रा.पार्थ सारथी दास लगायत कलेजका सबै विभागका विद्यार्थीहरू धेरै संख्यामा उपस्थित थिए। प्रा.मेघनाथ छेत्रीद्वारा सञ्चालित समारोहमा प्रा.पर्वत रसाइलीले स्वागत वक्तव्य अनि प्रा.अनिलकुमार विश्वकर्माले धन्यवाद ज्ञापन गरेका थिए। कलेजको नेपाली विभागले यसरी पारिजात जयन्ती पालन गरेर पारिजातको कृतिहरूको मूल्याङ्कन गर्ने प्रथा शुरु गरेकोमा समारोहका अध्यक्ष डा रागिनी थापाले नेपाली विभागको प्रशंसा गर्दै यस प्रथालाई प्रत्येक वर्ष यथावत राख्नुपर्ने आह्वान गरिन्।










