विराटनगर (नेपाल): उदयपुरको बेलकामा आज भएको बोलेरो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्। मृतकहरुको पहिचान खुलेको छैन। बेलका नगरपालिका–७, मा रहेको कच्ची सडकबाट भीरमा गाडी खसेको जनाइएको छ। भोजपुरको घोडेटारबाट यात्रुसहित धरान आउँदै गरेको गाडी दुर्घटनामा परेको हो। कच्ची सडक रहेको उक्त स्थानको भीरबाट गाडी तीन सय मिटरभन्दा तल खसेको पुलिसले अनुमान गरेको छ। भोजपुरबाट पुलिस टोली घटनास्थल गएर स्थलगत रुपमा बुझ्ने काम भइरहेको जनाउँदै घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको कोशी प्रदेश पुलिस कार्यालयले जनाएको छ।









