गेजिङ: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज गेजिङ जिल्लामा निर्मित विभिन्न पूर्वाधारहरुको उद्घाटन गरेर यहाँका जनतालाई समर्पण गरे। आज बिहान मुख्यमन्त्री तामाङले सञ्चमान लिम्बू डिग्री सरकारी महाविद्यालयको उद्घाटन गरे। यो महाविद्यालयको क्याम्पस सिक्किममा नै सबै भन्दा उत्कृस्ट क्यम्पस हो। यो क्याम्पस पूर्णरूपले आधुनिक तकनिकीमा निर्माण गरिएको छ। यसरी नै मुख्यमन्त्री तामाङले ३३ करोडको धनराशी लागतमा निर्माण भएको क्योङसा स्टेडियम अनि जिम्नेजियम हलको उद्घाटन गरेर खेल प्रेमीहरुप्रति समर्पित गरे। सोही प्रकारले उनले २.९९६ करोडको लागतमा निर्माण भएको गेजिङ पुलिस स्टेशनको उद्घाटन गरे। त्यस पछि उनले गेजिङ मैदानमा आयोजित जनसभामा सीटी स्क्यान मशिनको उद्घाटन गरे भने गान्तोकको न्यू एसटीएनएम अनि विभिन्न जिल्ला अस्पतालहरुमा क्यान्सर अनि किड्नी रोगीहरुलाई निःशुल्क औषधि प्रदान गरिने औषधि केन्द्र हाम्रो दबाइ केन्द्रको भर्चुअल उद्घाटन गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले आज उद्घाटन सम्पूर्ण पूर्वाधारहरु निर्माणको निम्ति स्थानीय जनतालाई बधाई दिए। पूर्व सरकारले गेजिङ महाविद्यालयको निर्माण कार्यको निम्ति कुनै पैसा नछुट्टाएको थाहा पाएपछि एसकेएम पार्टी सरकारमा आउनसाथ यस महाविद्यालयका एसआरसी अनि प्राचार्यहरुसँग बैठक गरेर पूर्णरूपले आधुनिक सुविधाहरुसँगको क्याम्पस निर्माण गर्ने पहल शुरु गरेको बताए। वैश्विक महामारीको कारण यसको निर्माण कार्यमा केही ढिलाइ भएता पनि तर यो क्याम्पस उत्कृष्टढङ्गमा निर्माण भएकोमा उनले सन्तुष्टि व्यक्त गरे। यो महाविद्यालयमा अब साइन्स अनि फिजिकल एजुकेसनको पनि पढाई चाँडै शुरु गरिने घोषणा गरे।

आज सिक्किममा भइरहेको विभिन्न कार्यक्रम अनि योजनाहरू राजनैतिक इच्छाशक्ति शक्ति राखेर काम गरेको कारणले नै सम्भव भइरहेको बताए। यो कामहरु मन राख्न होइन तर मन बाटनै गरेको किटान गरे। वर्तमान सरकारले जनतालाई घर घरमा सहुलियत अनि नौकरी पुऱ्याउने काम गरेको मुख्यमन्त्रीले दावी गरे। अहिले गरीब जनताको घरमा खुशीयाली छाएको बताउँदै यसमा आफे सन्तुष्ट प्राप्त गरेको अवगत गराए। गरीब जनता नै आफ्नो परिवार रहेको अनि सिक्किमे जनतालाई सेवा पुऱ्याउने आफ्नो परम जिम्मेवारी सम्झेर काम गरिरहेको जानकारी गराए। यी जम्मै जनसेवालाई यथावत राख्नको निम्ति अब सबै कार्यकर्ता हरुले दुई महिनासम्म खटेर कामगर्ने आग्रह गरे।









