मार्गरेट्स होप क्षेत्रबाट पञ्चायत सदस्य सुभास लेप्चासहित अन्य भागोप्रमोमा सामेल
खरसाङ: टुंग-सन्तमेरिज समष्टि अन्तर्गत मार्गरेट्स होप २४/३० वार्ड नम्बर ६ हाई स्कूल बूथबाट पञ्चायत सदस्य सुभास लेप्चासहित अन्य दलका ४१ घर-परिवारहरु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा परिवारमा सामेल भएका छन्। मार्गरेट्स होप ब्लक कमिटी सभापति दिपेन्द्र सुब्बाद्वारा सञ्चालन गरिएको समर्थन सभामा समष्टि सभापति नुरी शेर्पाको विशेष उपस्थिति रहेको थियो भने समष्टि सभापति सहित समष्टि युवा शक्ति सचिव दिपेश तामङद्वारा सभालाई सम्बोधन गरिएको थियो। उक्त समर्थन कार्यक्रममा गोराबारी-मार्गरेट्स होप ग्राम पञ्चायत प्रधान पेम्बा तामङ, पञ्चायत सदस्यगण, पञ्चायत समितिका सदस्यगण, उक्त शाखाका सभापति एवं प्रतिनिधिगण, समष्टि सल्लाहकार दिलीप गजमेर लगायत स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। यसका साथै भागोप्रमो परिवारमा सामेल भएका ४१ घर-परिवारका सदस्य/सदस्याहरुलाई समष्टि सभापतिद्वारा दलीय झण्डा प्रदान गर्दै सबैलाई हार्दिक स्वागत जनाएका छन्। समर्थन सभाको अर्को क्रममा मार्गरेट्स होप पक्का लाइन ग्राम सुधार समितिका अन्य दलमा रहेका ६१ घर-परिवारहरुले नयाँ सोँच नयाँ विचार एवं अनित थापाको कार्य शैलीलाई अप्नाउँदै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा परिवामा सामेल भएको बताइएको छ।
रुपेन कोटीद्वारा सञ्चालन गरिएको समर्थन कार्यक्रममा ग्राम सुधार समितिका ६१ घर-परिवारका सदस्य/सदस्याहरुलाई समष्टि सभापति नुरी शेर्पाको बाहुलीबाट दलीय झण्डा प्रदान गरियो भने सबै सबैलाई भागोप्रमो परिवारमा हार्दिक स्वागत जनाइएको जानकारी प्राप्त भएको छ।