खरसाङमा नारी दिवस पालन

IMG-20240309-WA0124.jpg

मार्च मात्र होइन नारीले हरेक दिन नै नारी दिवसको उत्सव मनाएको हुनुपर्छ: सुमेधा प्रधान

खरसाङ: अन्तर्राष्ट्रिय महिला दिवस समारोह समिति – २०२४ खरसाङको तत्वावधानमा आज खरसाङको नयाँ बजारस्थित टाउन हलमा नारी दिवस पालन गरियो। समारोहका अध्यक्ष देवकी प्रधान सुब्बा रहेका थिए भने सञ्चालन सचिव मैया ठकुरीले गरेका थिए। समारोह समितिले जीटीएका कार्यकारी निर्देशक साथै पश्चिम बंगाल सरकारका अतिरिक्त सचिव सुमेधा प्रधान (यल्मो) लाई एक सशक्त नारी अनि एक कुशल प्रशासकको उत्कृष्ट परिचय कायम गर्नुमा सक्षम भएकोमा गर्वबोध गर्दै सम्बर्द्धना चढायो।

सुमेधा प्रधानले आफनो सम्बोधनमा भनिन् -“८ मार्च मात्र होइन नारीले हरेक दिन नै नारी दिवसको उत्सव मनाएको हुनुपर्छ।”
उनले नारीहरूलाई उत्साह दिँदै भनिन्, “पञ्चायत समिति अनि ग्राम पञ्चायतमा प्रधान अनि सभापतिहरूमा 60% नारी नेतृत्वहरु छन्। अनित थापाको दूरदर्शी कार्यहरूले नारीहरुको निम्ति धेरै अवसर सृजना गरेका छन्। नारीहरुले ती अवसरहरुको उपभोग गर्नुपर्छ।”
नारी सम्मानमाथि प्रकाश पार्दै मैया ठकुरीले भनिन्, “नारीहरुले हक अनि अधिकार, न्याय अनि सम्मान पाएको दिन हो नारी दिवस। नारीले गर्वबोध गर्ने दिन हो। नारीहरू पनि प्रशासनमा सक्षम छन्।‌ उनै सक्षम नारी प्रशासकहरुलाई आज सम्मान गरियो।”
आज सम्मानित हुने नारी हस्तीहरुमा डा रुमी मण्डल, डा टाँसी पाल्मु डुक्पा, डा चित्रलेखा सरकार, अन्तर्राष्ट्रिय पुरस्कारले पुरस्कृत फिल्म शान्तिका लेखिका छिमी ओङ्मु लामा रहेका छन्।

त्यसरी नै खरसाङ पञ्चायत समिति अधीनस्थ सम्पूर्ण महिला पञ्चायत प्रधान अनि उप प्रधान साथै महिला सदस्यहरुलाई सम्मान जनायो। कार्यक्रममा पञ्चायत समितिका सभापति अनु प्रधान छेत्री, सभासद कल्पना प्रधान, खरसाङ पञ्चायत समिति अधिनस्थ पञ्चायतबाट आएका महिलाहरुको सहभागी रहेको थियो। विशेष अतिथिको रूपमा खरसाङ नगरपालिकाका उपाध्यक्ष सुवास प्रधानको पनि उपस्थिति रहेको थियो।कार्यक्रमलाई मैया ठकुरी अनि सविता कार्कीले सञ्चालन गरेका थिए।

About Author

Advertisement