गान्तोक: प्रेस क्लब अफ् सिक्किम (पीसीएस) को नवनिर्वाचित कार्यकारिणी समितिले आज (बिहिवार) राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट गऱ्यो। पीसीएस अध्यक्ष भीम रावतको नेतृत्वमा नवनिर्वाचित कार्यकारिणी सदस्यहरुलाई राज्यपालले कार्यकारिणी सदस्यहरुबाट खडा ग्रहण गर्दै स्वागत जनाए।
पीसीएसद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, राज्यपाल आचार्यले राजभवन र राज्यका विभिन्न भागमा हालै सम्पन्न विकसित भारत कार्यक्रमको उत्कृष्ट कभरेजको विषयमा कार्यकारिणी सदस्यहरूसँग छलफल गरे। राज्यपालले राजभवन परिसरमा ट्युलिप फूलको सफल खेती भएको पनि जानकारी दिए।
अध्यक्ष रावतले राजभवनबाट पीसीएसलाई पहिला प्रदान गरिने वार्षिक अनुदान जारी राख्न राज्यपाल समक्ष अनुरोध गरे। उनले प्रदेशमा ग्रामीण पत्रकारिताको प्रवर्द्धनका लागि वार्षिक रूपमा दिइने ‘ग्रामीण पत्रकारिता पुरस्कार’ को कोषको रकम बढाउन पनि आग्रह गरे। राज्यपालले पीसीएसद्वारा राखिएका अनुरोधहरूलाई धैर्यपूर्वक सुने र राज्यमा पत्रकारिताको सुधार र प्रवर्द्धनको निम्ति काम गर्ने वचन दिए।
यसै क्रममा पीसीएस प्रतिनिधि टोलीले राज्य सूचना तथा जनसम्पर्क विभागकी सचिव कर्म डी. युत्सोसँग पनि शिष्टाचार भेट गरेको छ। आईपीआर विभागसँग पीसीएस कार्यकारिणी समितिले छिटो भन्दा छिटो प्रेस मान्यता कार्ड जारी गर्ने बारेमा छलफल गरे। आईपीआर सचिवले मार्च महिनाभित्र प्रेस मान्यता कार्ड जारी गर्ने आश्वासन दिएकी छन्।
यस अतिरिक्त, आईपीआरले यस वर्ष कुनै पनि पत्रपत्रिकाको कुनै पनि बिल बाँकी नभएको जानकारी गराएको छ। आईपीआर र पीसीएसले आगामी महिनामा हुन लागेको आम निर्वाचनलाई ध्यानमा राखेर मिलेर काम गर्न सहमत भएको बताइएको छ।