लेगशेप: सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीले आज पश्चिम सिक्किमको गेजिङ जिल्लाअन्तर्गत लेगशेपको खेल मैदानमा जनसभा आयोजना गरेर आफ्नो ३२औं स्थापना दिवसर पालन गऱ्यो। पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङको मुख्य आतिथ्यमा आयोजित स्थापना दिवस समारोहमा राज्यका सबै जिल्लाबाट सयौंको सङ्ख्यमा पार्टी कार्यकर्ता र समर्थकहरूको उपस्थिति रहेको थियो।
जनसभालाई सम्बोधन गर्दै पवन चामलिङले आगामी केही महिनापछि सम्पन्न हुने राज्य विधानसभा चुनाउमा जित हासिल गरेर छैटौंपल्ट एसडीएफ पार्टीले सरकार गठन गर्ने दावी गरेका छन्। एसडीएफ पार्टीको आगामी सरकार भ्रष्टाचारमुक्त हुनेछ भन्दै सरकारमा आउनसाथ राज्यमा “इन्नर लाइन पर्मिट” लागु गर्ने उनले बताए। यसको साथै राज्यको निजी क्षेत्रमा सिर्जना हुने रोजगारका सबै अवसर केवल स्थानीयहरूलाई प्राप्त हुने कानून बनाउने, राज्यमा स्थापित विभिन्न कम्पनीहरूमा लेबर कन्ट्रेक्टर व्यवस्था हटाउने, पुरानो मोटर भेहिकल ऐन पुनः लागु गर्ने आदि घोषणा उनले आज आफ्नो सम्बोधनमा गरे। यसको साथै चामलिङले राज्यको वर्तमान एसकेएम सरकारको कड़ा आलोचना गरे। वर्तमान सरकारकालमा सिक्किमको संवैधानिक सुरक्षा कवच मानिने पुराना कानूनहरूको उल्लङ्घन र तरलीकरण भएको पनि चामलिङले दावी गरे। यसको साथै एसकेएम पार्टीको सरकार आएपछि नागरिकता संशोधन ऐन (सीएए) लागु भएको पनि उनले थप बताए। तर, सिक्किम र सिक्किमेको हितमा चुनाउ अघि गरेका घोषणाहरू भने एक प्रतिशत पनि पूरा नगरेको चामलिङको भनाइ रहेको छ। हाम्रो सरकारकालमा सिक्किममा राम राज्य थियो अहिले रावण राज्य बनेको छ, उनले भने।
२०१९ को चुनाउमा हारबाट एसडीएफ पार्टीले शिक्षा लिएको र आगामी चुनाउमा गल्ती सुधारने निरन्तर पाँचपल्ट मुख्यमन्त्री रहिसकेका पवन चामलिङले भने। उनले आफ्नो सम्बोधनमा लिम्बू तामाङलाई जनजाति आसन आरक्षणको मुद्दा पनि उठाए। “लिम्बू र तामाङलाई लीट दिने विषयमा सिक्किमे जनतालई ढाँटेर सत्तामा आएका मुख्यमन्त्री अहिले एक शब्द बोल्दैनन्”, उनले भने। यसको साथै एसडीएफ पार्टीले लिम्बू तामाङलाई जनजातिको मान्यता दिलाएको र विधानसभामा आसन पनि यसै पार्टीले दिलाउने उनले थप बताए। “जसले नाङ्ग्लो बुन्छ उसैले बिट पनि मार्छ”, चामलिङले भने। अर्कोतिर आगामी २०२६ को पुनर्सिमाङ्कन (डिलिमिटेशन) अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै यसले राज्यमा समष्टिको सङ्ख्या पनि बड़नसक्ने उनले बताए। यसै सन्दर्भमा बोल्दै यदि समष्टिको सङ्ख्या बड़ेको खण्डमा बीएल (भोटिया-लेप्चा) को आरक्षित आसन सङ्ख्या पनि समानुपातिक रुपमा बड़नुपर्ने चामलिङको भनाइ रहेको छ।

आजको जनसभा आरम्भ हुन अघि एसडीएफ अध्यक्ष पवन चामलिङले छेवैको किरातेश्वर शिव धाममा पूजा गरेका थिए। जनसभा अवधि सत्तारुढ़ एसकेएम पार्टी त्यागेर आएका केही सदस्यहरूले एसडीएफ पार्टीको सदस्यता पनि लिए। त्यसरी नै एउटा सक्रिय जातीय सङ्गठन लिम्बू तमाङ भोलेन्टेरी कमिटी (एलटीभीसी) का अध्यक्षव येहाङ्ग चोङ्ग पनि एसडीएफ पार्टीमा सामेल भए।