लण्डन: ईंग्लिश प्रीमियर लीगको शीर्ष स्थानमा रहने लिभरपूलले रोमाञ्चक जीत हासिल गऱ्यो। यसरी टोटनह्याम हट्स्परले पनि आफ्नो म्याच जित्यो भने चेल्सीले चाहिँ जसोतसो म्याच बचायो। शनिवार राति खेलिएको म्याचमा लिभरपूलले नटिंघम फरेष्ट विरुद्ध १-०-ले रोमाञ्चक जीत हासिल गऱ्यो। यस अवे म्याचमा ७१ प्रतिशत पोजेशनको साथ खेल्दै विपक्षी पोस्टमा लगातार आक्रमण गरे पनि लिभरपूलले एकमात्र गोलको निम्ति लगभग अन्तिम क्षणसम्म प्रतीक्षा गर्नु पऱ्यो। अन्तमा इञ्ज्युरी टाइमको नवौं मिनटमा डार्विन नुनेजले गोल गरी लिभरपूललाई जीत दिलाए। यस जीतको साथै लिभरपूल २७ वटा म्याचमा ६३ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी चेल्सीले पनि अन्तिम क्षणमा गोल गरी ब्रेण्टफोर्ड विरुद्ध म्याच २-२-ले ड्र गऱ्यो। यस अवे म्याचमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने चेल्सीबाट निकोलस जेक्सनले ३५औं र एलेक्स डिसासीले 83औं मिनटमा गोल गरे। यसरी ब्रेण्टफोर्डबाट मेड्स रोरस्लेवले ५०औं र योआने विस्साले ६९औं मिनटमा गोल गरे। चेल्सी २८ पोइण्ट्सको साथ १४औं स्थानमा रहेको छ।
यसबीच टोटनह्यामले चाहिँ केवल ११ मिनटभित्र ३ गोल हासिल गरी क्रिस्टल प्यालेस विरुद्ध ३-१-ले जीत दर्ता गऱ्यो। आफ्नो होम ग्राउण्डमा ७९ प्रतिशत पोजेशनको साथ खेल्ने टोटनह्याम एक समय म्याचमा पछि रहेको थियो। एबेरेची एजे-ले ५९औं मिनटमा गोल गरी क्रिस्टल प्यालेसलाई बढ़त दिलाए तर टोटनह्यामले पनि लगातार अन्तरालमा गोल दर्ता गरी म्याच जित्यो। होम टीमबाट टीमो वेर्नरले ७७औं, क्रिस्टियन रोमेरोले ८०औं र सोन ह्युंग-मिनले ८८औं मिनटमा गोल गरे। यस जीतपछि टोटनह्याम २६ वटा म्याचमा ५० पोइण्ट्सको साथ पाँचौं स्थानमा कायम रह्यो। प्रीमियर लीगका अन्य म्याचहरूमा न्यूक्यासलले वूल्भ्सलाई ३-०-ले, वेष्ट हामले एभर्टनलाई ३-१-ले अनि फूलहामले ब्राइटनलाई ३-०-ले पराजित गऱ्यो।