विषम_वियोग: एक समिक्षात्मक दृष्टिकोण

WhatsApp-Image-2024-02-24-at-12.32.19

कथाकार आदरणीय सरोजिनी सागर देवान नानाको पहिलो कृति केही दिनअघि विमोचित कथा संग्रह ‘विषम वियोग’ पढ्नलाई समाते। सबभन्दा पहिला कृतिको बाहिरी आवरण नियालेर हेरेँ। मेरो अनुभूतिअनुसार पुस्तकको आवरणमा एउटी नारी कैयौँ समस्या,उत्पिड़न,पाबन्दी इत्यादीमा जकड़िएको बुझे। संग्रहभित्र ३१ पन्नासम्म कथाकारलाई दिएको शुभकामनाहरू, कथाकारको भूमिका एवं कथाकारको दुई कुरा इत्यादी छन्। मलाई लाग्छ यो प्रचलन हटाएर कुनै पनि, कसैको पनि संग्रहभित्र लेखकको भनाइ र छोटो समर्पण शब्दहरू मात्र रहोस्। किनकि शुभकामना,बधाइ, सम्मान जस्ता कुराहरु पन्नामा नभएर व्यवहारिकमा हुनपर्छ।

पहिलो कथा ‘आवरण’ पढ़्दै जाँदा..सानो त्रुटि कथाको एक ठाउँको डा. वाक्यमा भेटे। त्यहाँ कथाकारद्वारा यसरी लेखिएको छ…

‘यसैले म उनलाई हृदयबाट श्रद्धा गर्थेँ अनि जहाँ पनि हाम्रो वासभूमिको मागप्रति अन्य जातिको नकारात्मक उठान, प्रतिक्रिया अनि आक्षेपहरू आउँथे उनको दृष्टान्त दिन किञ्चित हिच्किचाउँदिन थिएl’ यस वाक्यांशलाई हेर्दा, अलि नमिलेको भान भयो। मलाई यस्तो हुनुपर्ने हो जस्तो लाग्यो।

‘यसैले म उनलाई हृदयबाट श्रद्धा गर्थेँ अनि जहाँ पनि हाम्रो बासभूमिको मागप्रति अन्य जातिको नकारात्मक उठान, प्रतिक्रिया अनि आक्षेपहरू आउँथे ती सबको दृष्टान्त दिन किञ्चित हिच्किचाउँदिन थिएl’

अथवा,,,

‘यसैले म उनलाई हृदयबाट श्रद्धा गर्थेँ अनि जहाँ पनि हाम्रो वासभूमिको मागप्रति अन्य जातिको नकारात्मक उठान, प्रतिक्रिया अनि आक्षेपहरू आउँथे उनले दृष्टान्त दिन किञ्चित हिच्किचाउँदिन थिएl’

यो मेरो हेराइ थियो। सायद मेरो दृष्टिकोणले मात्र वाक्य नमिलेको सानो त्रुटि फेला पारेको पनि हुनसक्छ तर यो वाक्य नमिलेकै भान भएर मलाई यी कुरा अलिकति संशोधनको बेला (प्रुफ रिडिङमा) छुटे जस्तो लाग्यो। जे होस् पाठकवर्गले यति सानो त्रुटिलाई सुल्झाएर पढ्न सक्ने छन्, तर पनि पुस्तकको रूप दिएपछि हरेक कुरोमा परिपक्वता हुनुपर्छ भन्ने मेरो सोंचाइ रही आएको छ। सर्वप्रथम यस कथाको शीर्षक ‘आवरण’ पढ्दा नै कथा अनिश्चय (सस्पेन्स) छ भन्ने लाग्छ तर पढ्दै जाँदा,,, जब कथाको मूख्य पात्रलाई उसको हितैषीहरूले पहाड़मै घर बनाउने सल्लाह दिँदा पनि तराइमा नै घर बनाउँछ, कथाको यस सन्दर्भबाट त्यस अगोर्खाले कथाको अन्त्यमा पक्कै धोका दिएको हुनपर्छ भन्ने सन्देहको खुलासा मनै मनमा हुन्छ। जेहोस् कथाको अन्त्यमा दुई चारवटा वाक्यांशले कथाको अनिश्चय (सस्पेन्स)बखुबी खोलेको छ।

यस कथाले अगोर्खासँग आन्द्रै गाँसिए पनि,मुटु नै साटिए पनि उनिहरूको आवरणलाई अन्धो बनेर विश्वास र भरोसामा अंगाल्न चाहीँ कदाचित हुन्न भन्ने गहिरो सन्देश हाम्रो नुनको सोझो गोर्खाहरूलाई दिएका छन्।

दोस्रो कथा,

‘बिग्रेकी केटी’ कथामा पालेकी छोरी मंगला र आमा निलममाझको मार्मिक विषय वस्तुलाई परस्पर बुन्न,कोर्नमा सफल छ कथाकार। हाम्रो समाजमा देखा परिरहेको,घरभित्रै घटिरहेको नारी शोषण, उत्पीड़न, यौन करणी जस्ता सत्य तथ्य विषयलाई कतै नछाड़ी कथामा समेट्न सफल छिन् कथाकार। यस कथाको अन्ततिर छोरी मंगलामाथि भएको यौन शोषण,यौन करणीको प्रमाण रहँदा रहँदै पनि यस काण्डको विरूद्ध आवाज उठाउने एउटै पनि बाटो नभेट्दा दुवै आमा छोरी (निलम – मंगला) धेरै निस्सासिएर, उकुसमुकुस भएर रोएका समयकाललाई कथाकारले बेजोड़, बखुबी उतारेका छन्।

तेस्रो कथा,

संस्कार पढ़े। कथाकारले यो कथा छोटो लेखे पनि यस कथाले लामो लामो अर्थ बोकेका छन्। यस कथाले एउटा गहिरो कुरालाई पाठकसमक्ष प्रस्तुत गरेका छन्। सिधै भन्नु पर्दा हामी बसेको समाज, परिवेश यो आधुनिक युगमा पनि अझै रूढीवादमै अल्झिएको ध्रुव सत्य यस कथामा पाइन्छ। म स्वयं पनि रूढीवाद त्याग्दै बाँच्नेहरुमा परेर होला यो कथाले मेरो सोंच, विवेकलाई सोझै छोयो। यस कथामा बोक्सी, डाइनीले मान्छेलाई दुख दिने,तड़पाउने, बिमार बनाउने जस्ता जुन पुराना सोंचाइ अर्थात् रूढिवादी सोंचाइ छन् ती संकुचित सोंचाइहरूमा शिक्षित मान्छे पनि शिकार बनेका कुरा प्रष्टसँग कथाकारले राखेका छन्। कथा सरल सरस छन्।

चौथो कथा,

अविच्छिन्न मन पढ़े। कथा सरल छन्। कथा पढ़्दै जाँदा कथाकारको आफ्नै कथा अर्थात कथाकारको जीवनमा घटेको घटना हो कि भन्ने भान हुन्छ। यस कथाले सोझै हृदय स्पर्श गरे पनि कथाकारले यस कथालाई अझ ह्रदय स्पर्श गर्न सक्ने भाव समेटेर बुन्न सक्थिन भन्ने लाग्छ। यस कथालाई पुरा खोल्न चाहिन किनकि यो कथा थुप्रै पाठकहरूले पढ्नु पर्छ भन्ने मलाई लाग्छ। यस दुनियाँमा सबैलाई आफ्नो दुःख पहाड़ लाग्नु स्वाभाविक हो। यसरी स्वभाविक लाग्दा लाग्दै पनि अरूको दुःख देख्दा आफु मर्माहत बन्नु भनेको मानवताको परिचय उजागर हुनु हो। आफ्नो दुःख पहाड़ सम्झिएर अरूको दुःखलाई नगन्य ठान्नु अमानवीयको परिचय बन्न जान्छ भन्ने थुप्रै सु-सन्देशहरू यस कथामा पाइन्छन्।

पाँचौँ कथा,

एउटा माया यस्तो पनिलाई सररररर,,,, पढ़े। कथा सरलरूपमा कथाकारले लेखेको छ। यो कथा पहिलेदेखि नै पढ़िरहेको भान भयो। मेरो भन्नुको तात्पर्य यसप्रकारको कथा अन्य अन्य कथा संग्रहमा पनि पढ्दै आएको जस्तो लाग्यो। कता कता एकैखाले विषय वस्तु भएको कथा फेरि दोहोरिए जस्तो लाग्यो। कथाकारले कथा मार्मिक लेखे पनि कथाको शुरूवात र अन्तमा बेग्लै कथारस भने उत्ति देखा परेको छैन। मलाई लाग्छ कथाकारले लाहुरे र लाहुरेनीमाझको प्रेमको अन्य अन्य विषय वस्तु समेटेर यस कथालाई उतारेका भए सुनमा सुगन्ध थपिने थियो। विषय बस्तुको उदाहरण दिन पर्दा (१) लाहुरे श्रीमान देशको सिमानामा हुँदा लाहुरेनी श्रीमतीले गाँउ घरमा दोस्रो बिवाह गरिसकेको। (२) लाहुरे श्रीमानले घरमा श्रीमती हुँदाहुँदै पनि बाहिर बाहिर प्रेमिका राखेको अनि प्रेमिकामाथि घरमाभन्दा धेर पैसा रूपियाँ खर्च गरेको। (३) लाहुरेनी श्रीमतीको कुरा सुनेर आफ्नो आमा बुवादेखि छुट्टिएर अलग्गै बसेको। आदी इत्यादी विषय वस्तुहरू प्रशस्तै छन् हाम्रो वरिपरि भन्न मन लाग्यो।

यस्तै यस्तै विषय बस्तुलाई समेटेर कथाकारले कथा लेखेका भए कथामा धेरथोर फरकपन आउँथ्यो भन्ने लाग्छ अर्थात् एउटै एउटै खाले संरचनाको कथा पढ़े जस्तो भान पाठकलाई हुने थिएन,भन्न चाहे।

छैटौं कथा,

परिसीमा पढ़े। यस कथाले भने मन छोयो। विधवा मिसेज लामा र विधुर मिस्टर जोशीमाझको क्षणिक सम्बन्धलाई प्रेम भन्न मिल्ने अथवा नमिल्ने स्थितिमा कथा सिद्धिएको छ। आहा! बढ़ो रोचक ढङ्गमा प्रस्तुत छ यो कथा। परिसीमा के हो? परिसीमामा कसरी बाँच्न पर्छ? यस परिसीमाको खास अर्थलाई कथामा मिसेज लामाले परिसीमा कायम राखेर पतिव्रताको उदाहरण बनेर अर्थ उजागर गरेका छन् भने एकतिर विधुर मिस्टर जोशीको अप्रत्यक्ष प्रेम प्रस्तावले पनि हृदयमा दस्तक दिएको छ।

मिस्टर जोशीको प्रेमलाई नियालेर हेर्दा मनासिब नै हो भन्ने पनि लाग्छ। मिसेज लामा र मिस्टर जोशीको एकै खाले स्थिति, एकै प्रकारको तनाव, एकै किसिमको शुन्यता, एउटै खालको एकान्त, एकै किसिमको वियोगान्त, वितृष्णाले वृद्धा अवस्थामा एकअर्कालाई सहारा मागिरहेका छन भन्ने पनि कथामा लाग्छ। अर्थात् एकै खाले स्थिति एकअर्काको सम्पूरक हुन्छन् भन्ने कथाले कलात्मक ढङ्गमा बोलेका छन्। कथामा यति गहिरो प्रेम अप्रत्यक्ष रुपमा झल्किन्दा झल्किन्दै पनि परिसीमाको प्रतिष्ठालाई मिसेज लामाले कायम राख्न सक्नु चाहीँ कथाले दिएको सबभन्दा उच्च सन्देश हुन। कथाकारले यस कथालाई जीवन्तता दिन सफल बनेका छन्।

सातौँ कथा

गजुरे पढ़े। एकजना अनपढ़, गरीब अर्काको घरमा काम गर्ने केटाको आत्मा कथा अति मार्मिक ढङ्गमा कथाकारले लेखेका छन्। कथामा गरिबी, समस्या, परिस्थिति कस्तो हुन्छन कथाकारले आफ्नो कलमद्वारा दर्शाउन कुनै कसर छाड़ेका छैनन्। कथाभित्रको मुख्य पात्र गजुरे छ भने कथाकार स्वयं पनि रहेको कथा पढ्दा थाह लाग्छ। भोक के हो? आधा पेट के हो? मजबुरी के हो? बिद्यालय नदेख्नु अर्थात् निरक्षर हुनु के हो? कथामा गजुरेले भोगेका कुराहरू एकदमै हृदयस्पर्शी छन। मुढ़े बल लगाएर दिनभरि काम गर्नुको आशय के कस्ता छन गजुरेको? कथा पढ्दा मन छुन्छ नै। दिदी बहिनीको बिवाहको भार, वृद्धा आमा हराएकी बियोगान्त मार्मिक छन साथै गजुरेको दयनीय अवस्था देखेर गजुरेलाई माया गर्ने प्रेमिकाले सुइको नदिइ अर्कोसँग विवाह गरिदिँदाको तिक्तता,घात वर्णन योग्य छन। उप्रान्त गरीबलाई माया गर्ने अरू कोही प्रेमिका भेटिन्न भन्ने नैराश्यता गजुरेको मनमा उब्जिनु जस्ता बुँदालाई कथामा कथाकारले स्वाभाविक रूपमा बुन्न सकेका छन्। कथा सरल भए पनि शुरुदेखि अन्तसम्म हृदयस्पर्शी छन।

आठौं कथा,

मनोबललाई मनदेखि नियाल्दा यो कथामा एकजना क्यान्सर बिरामी मिङ्माको कथा छ। यस कथाको पात्रसँग कथाकारको आत्मियता, घनिष्ठता प्रगाढ़ रहेको बुझिन्छ। बिरामी मिङ्माले आफ्नो शरीरको रोगहरूलाई रोग झैँ मानेका छैनन अर्थात् मर्न अघि नै मर्दै बाँच्नु हुन्न भन्ने कथामा मिङ्माको भनाइ छ। मिङ्माले आफु बिमारले ग्रस्त भए पनि नजिक आइरहेको मृत्युसँग उ रतिभर नडराएको बुझिन्छ अर्थात् मृत्यु अघि आए पनि मृत्युलाई उल्टो गिज्याउँदै मृत्यु स्विकार्न सक्ने क्षमता मिङ्मामा प्रष्ट देखा परेको छ। मिङ्माको यति ठूलो रोगको अघि कथाकार स्वयंको पीड़ा पनि कथाकारलाई सानो लागेको छ। कथामा एउटा बिरामीको मनोबल कतिको दृढ़ छन्, कतिको अडिग छन भन्ने बिषय वस्तुलाई कथाकारले श्रेष्ठताको साथ लेख्न सफल बनेका छन। यसरी नै कथाको अन्तिममा तीन वाक्यको ताँतीमा हेर्दा सानो वाक्य त्रुटि भेटिन्छ जसलाई यहाँ उद्धृत नगरी बस्न सकिन।

वाक्य यस्तो छ…

‘समयअघि उसलाई केही भइगए लथालिङ्ग बन्नेछ उसको छोरीको लक्ष्य अनि सपना जसलाई साकार पार्न बिमारीलाई बुई चड्न पटक्कै दिँदिन उ। सिङ्जोरी खेल्न खोज्छे बरूl’ यस वाक्यलाई यसरी लेखिन्दा अझ असल हुन्थ्यो कि भन्ने आवश्यकताबोध गरें,, जस्तो कि,,, समयअघि उसलाई केही भइगए लथालिङ्ग बन्ने छ उसको छोरीको लक्ष्य अनि सपना जसलाई साकार पार्न बिमारलाई (रोगलाई) बुई चढ़्न पटक्कै दिँदिन उ। सिङ्जोरी खेल्न खोज्छे बरू। किनकि बिमार शब्दले शरीरको रोग बिषयमा इङ्गित गर्छ भने । बिमारी शब्दले रोगग्रस्त ब्यक्ति बिशेषलाई इङ्गित गर्छ।

नवौँ कथा,

केराको पात छोटो कथा छ। यस कथामा दशैँको बेला केराको पात बिक्री गर्ने सात आठ वर्षको सानो केटोको कथा छ। कथाकार स्वयं त्यस बालकसँग कथाभित्रको संवादहरूमा छन। कथामा आमाबिनाको बालक रक्स्याहा बाउको उत्पीड़नमा कसरी बाँचेको छ भन्ने कुरालाई कथाकारले आफै चिन्तित बनेर कथावस्तु सजाएको छ। ती बालकलाई शिक्षा हासिल गर्न कुन इश्वररूपी माधवले सहयोग पुर्याइरहेछ भन्ने कथाकारको जिज्ञासासँगै अनिश्चयमा कथा टुङ्गिएको छ। यस कथालाई हेर्दा दुइ पाटामा हेर्न सकिन्छन् जस्तै विगत र वर्तमान। विगतको पाटो- कथाको मुख्य पात्रले सात आठ वर्षको समयमा केराको पात बिक्री गरेको समयावधि अनि वर्तमानको (दोस्रो) पाटो- अचानक बजारमा कथाकारसँग उही केटोको भेट हुँदा उ केटो अठाह्र उन्नाइस वर्ष पुगेको समयावधि। यी दुई समयावधिमाझमा थोरै भएपनि फरक हुनुपर्ने तर फरकपन देखिएको छैन अर्थात् कथा पढ़्दै जाँदा बिगतबाट वर्तमानमा फ्याट्ट आइपुगेको भान कतै हुँदैन अर्थात् शुरूदेखि अन्तसम्म वर्तमानमै लेखिएको कथा पढ़िरहेछु जस्तो पनि लाग्छ। यस समयावधिलाई मध्यनजर राखेर हेर्दा अर्थात् विगतदेखि वर्तमानमा आइपुगेको कुरालाई नियाल्नु पर्दा कथाको पात्र (केराको पात बिक्री गर्ने बालक)को उमेरको फरकले मात्र अलिकति बुझ्न सकिन्छ कि कथा बिगतदेखि वर्तमानमा आइपुगेको छ भनेर। यस समयावधिको दुई पाटाको अन्तरलाई स्पष्टसँग सजाउन यस कथामा कथाकार चुकेको आभास हुन्छ।

दशौँ कथा,

माया? पनि पढ़ियो। कथाको शीर्षक मायामै प्रश्न चिन्ह पनि कथाकारले जोड़्नु भएको छ। शीर्षकले माया के हो त भन्ने बुझिन्छ। कथामा मुख्य दुइ पात्र-पात्रा छन्। सृजना र प्रमोदको प्रेमको कुरा छन। लिभ इन रिलेसनमा बस्नेहरूको निम्ति पढ़्नै पर्ने कथा भन्न मिल्छ। प्रमोद र सृजना एउटै कोठामा लिभ इन रिलेसनमा बसेको तीन वर्ष भइसकेको छ। सृजनाले प्रमोदलाई बिवाह गर्ने कति कहर लाउँदा पनि प्रमोदले टारेको टारेकै गरेको खास कारण कथाको प्रकर्षणमा (क्लाइमेक्स) पुगेर थाह हुन्छ। प्रमोदको जीवनमा सृजना बाहेक अर्को प्रेमिका पनि हुन्छ। यसरी कथामा प्रमोदबाट सृजनालाई धोका, विश्वासघात,भएको छ। लिभ इन रिलेसनमा बस्दैमा उहीसँग बिवाह हुन्छ, उहीसँग घरजम हुन्छ भन्ने कुनै निश्चित छैन भन्ने कुरालाई कथाले पोखेका छन्। कथाले आजको युगमा लिभ इन रिलेसनमा बस्नेहरूलाई मज्जाले सन्देश, सुझाव दिएका छन्।

एघारौँ कथा

समयको फेरोलाई पनि परिक्रमा गरेर हेरें। कथा रोचक छ। घर घरको कथा मान्न सकिन्छ। सासु-बुहारीको कथा हो समयको फेरो। आफुले अरूलाई जस्तो ब्यवहार गरेको हुन्छ समय बित्दै गएपछि आफुले एकदिन त्यही ब्यवहारको प्रतिफल भोग्नु पर्दछ भन्ने कुरा कथाले प्रष्ट पारेको छ। यो कथा सरल भए पनि हृदयस्पर्शी छ। भोलिको दिन आफुले आज बिताएको समय नफर्के पनि त्यो समयले प्रतिफल अवश्य दिएर जाने छ भन्ने सत्यता कथामा पाइन्छ।

बाह्रौं कथा

विषम वियोग, कथाको शीर्षक नै घतमा लाग्ने छ। यो कथा सत्य कथा हो भनेर भन्दा दुई मत नहोला। विषम वियोग स्वयं कथाकारले भोगेका जिउँदो कथा हो। ज्यानै लिने अदृश्य भाइरस कोभिद नाइन्टिन कोरोनाकालको कथा हो यो। सारा विश्वले भोगेका,सारा विश्व डराएका समयकालको कथा हो यो। सारा विश्व मर्छन् भन्ने जुन भयावह स्थिति थियो जनमानसमा त्योबेला। त्यस्तो स्थितिमा पनि आफ्नो ज्यानको पर्वाह नगरी देशवासीको सेवा गर्ने ती तमाम सरकारी स्वस्थ्य सुरक्षा कर्मचारीहरूको कथा हो यो। ज्यान दिएर ज्यान बचाउन लागिपरेका ती सबै त्यागीहरूको कथा हो विषम वियोग। आफ्नो ज्यानको कति माया हुँदोरहेछ अर्थात् मृत्युसँग मान्छे कति डराउँदो रहेछ भन्ने कुरालाई कथामा चौदह दिने क्वारेन्टाइन, कोरोना पोजिटिभको रिपोर्टले स्पष्ट पारेका छन्। रोगीलाई सहयोग पुर्याउनको साटो डराएर दुर दुर गरेको घटनाले मान्छेलाई मर्नसँग कति धेर डर हुँदोरहेछ भन्ने कुरालाई खुलस्त पारेका छन् विषम वियोगमा। डाक्टर, नर्सहरुलाई विभिन्न क्वारेन्टाइनका अस्तव्यस्त जनजीवनले शंका, चाप सृष्टि गरि समस्या खड़ा गरेको घटनाले पनि मान्छेलाई आफ्नो ज्यानको माया कति हुँदोरहेछ भन्ने कुरा प्रष्ट पारेको छ। डाक्टर, नर्सहरुले जनसाधारणको निम्ति कति हदसम्म कोभिड नाइन्टिनसँग युद्ध लड़ेका छन् भन्ने सत्यता एकदमै सराहनीय छ, प्रशंसनीय छ, सम्मानयोग्य छ। रोगीलाई स्वस्थ्य कर्मीहरूले विभिन्न सेवा पुर्याएर रोगीको रिपोर्टलाई पोजिटिभदेखि नेगेटिभसम्म ल्याउन सफल बन्नु,जस्ता यथार्थहरूको कथा हो विषम वियोग।

तेह्रौँ कथा

विभेद निकै राम्रो कथा लाग्यो। छोरा र छोरीमाझ भेदभाव राख्नेहरूको निम्ति यो कथा सही छ। कथामा साने काकीले छोरा र छोरीमाझ विभेद राखेर बुढेशकालमा छोरीको महत्व बुझेको छ। साने काकीले कसरी विभेद राख्यो अनि बुढेशकालमा कसरी छोरीको महत्व बुझ्यो भन्ने कुरालाई कथामा कथाकारले चारैतिरबाट सिप दिएर बुनेको छ। यस कथाले तार्किक रूप पाएको छ। हाम्रो समाजमा अझै पनि छोरा र छोरीमाझ भेदभाव राख्ने चलनमा भरणपोषण कम भएका छैनन्। फेरि यही समाजले कता कता बुझेका पनि छन् कि आजभोलि छोराले भन्दा छोरीले हेर्छन् भनेर। बुझ्दा बुझ्दै पनि भेदभाव भने केही न केही कुरामा गरिरहेको हुन्छ भन्ने खोट कथाले बोकेको पाइन्छ। कथाकारले यो कथा भने छुट्टै स्वादमा लेख्न सफल बनेकि छिन्। यो कथाको मूल विषय पुरानै भए पनि कथाकारले यो कथालाई नौलो विषय झैं उतार्न सफल बनेकि छिन्। कथा सरल,सरस अनि अतिशय रोचक छ।

चौधौं कथा

परिणतिभित्र प्रभा र इन्द्रामाझको निकै चाखलाग्दो कथा लेखिएको छ। हाम्रो समाजमा घटिरहने यथार्थहरूलाई कथाकारले कथामा समेटेकि छिन। बंगलामा भन्छन् नि…’मेयेर दुश्मन मेयेरायी थाके भनेर’…हो, यस कथाको मूल विषय र पृष्ठभूमि केलाएर हेर्दा यस्तै रहेको पुष्टि पाइन्छ। एउटा नारीले अर्को नारीको इर्ष्या गरेको, डाह गरेको,जलेको ज्वलन्त कथा कथाकारले लेख्न सकेकी छिन्। एउटा नारीले अर्को नारीको दु:ख बुझ्नुको सट्टा उसको स्तरसँग जलेको कुराहरु पाइन्छन्। कथाभित्र, प्रभाको रहर लाग्दो परिवर्तन देखेर इन्द्राले आह्रिस,डाह,जलन गर्दै गर्दै आफ्नै षड्यन्त्रले विधवी बनेर प्रभाको स्तरमा पुग्न असफल बन्छ। यसरी असफल बन्नु पर्दा इन्द्राले थूप्रै परिणामहरू भोगेका छन्। आफ्नो छँदा छँदैको सुखी, शान्ति परिवार लथालिङ्ग पारेकि छिन्। अरूको आह्रिस,डाह गर्नाले आफ्नै खति हुन्छ, बरू देखासिकी गर्नु राम्रो हो भन्ने सु-सन्देश कथामा पाइन्छ र यी‌ सन्देशहरू नारीलाई मात्र नभएर पुरूषलाई पनि उत्तिकै प्रयोजनिय छ भन्ने मलाई लाग्दछ।

पन्ध्रौं कथा अर्थात् संग्रहको अन्तिम कथा

त्रिया चरित्रलाई कथाकारले धेरै कलात्मक रूपमा लेख्न सफल बनेकी छिन्। कथामा प्रायः सबैजसो वाक्यहरूले कलात्मक सौन्दर्य पाएका छन्। अघिल्ला कथाहरूभन्दा यस कथामा शब्द-शैली,ढाँचा,पृष्ठभूमि, कलात्मक रूप इत्यादी सजाउनमा कथाकारले मेहनत भरपूर गरेकि देखिन्छन्। कथाको मुख्य विषयवस्तु बुझेर ल्याउँदा उजलीले किस्मतलाई अदृश्य धोका दिएको प्रष्ट बुझिन्छ अनि त्यही धोकामा अज्ञान किस्मत रमाएको पाइन्छ। विश्वासले दुई वर्षसम्म परदेशमा काम गरेर कमाएर ल्याएको पैसा उजलीमाथि खर्च गरेर उजलीको समर्पणसँग वाक्क भएर अर्कै गाउँको एउटी‌ केटी बिहे गरेर फेरि परदेशिएको कुरा छ। यही कुरा‌ कथाभित्रको मुख्य मोड़ रहेको छ। यस कथामा भएको घटना जस्तो घटना हाम्रो वरिपरि, हाम्रो समाजमा कसैले थाह नपाइ घटिरहेको हुन्छ। यस किसिमको छुट्टै विषयलाई कथाकारले टिपेर अनि खिप्ती गरेर कथाको रूप दिन सय प्रतिशत सफल बनेकि छिन्। 

अन्तमा यति सुन्दर कथा संग्रह विषम वियोगको निम्ति कथाकारलाई फेरि पनि अनेकौं बधाइ दिँदै आउँदो दिनमा अझ धेरै कृतिहरू प्रकाशित गरून् भन्दै असिमित शुभकामना व्यक्त गर्दछु।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *