वर्तमान सरकारले स्वास्थ्य र शिक्षाको क्षेत्रलाई उच्च प्राथमिकता दिएको छः कृष्ण राई
गान्तोक: राजधानीस्थित सम्मान भवनमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री चिकित्सा सहायता योजना अनि मुख्यमन्त्री विवेकाधिन अनुदान अन्तर्गत ३०० जना विभिन्न व्यक्ति विशेष, संघ-संस्थानहरुलाई आर्थिक सहयोग प्रदान गरियो। मुख्यमन्त्री प्रेमसिंह तामाङकी धर्मपत्नी कृष्ण राईले लाभार्थीहरुलाई चेक हस्तान्तरण गरिन्।
उपस्थित लाभार्थीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राईले आज सरकार अनि जनताबिचको दूरी घटेर गएको बताइन्। मुख्यमन्त्रीले प्रेमसिंह तामाङले आफूलाई मुख्यमन्त्री नठानेर जनताको मुख्य सेवक ठानेर सेवा पुऱ्याउने कार्य गरिरहेको उनले बताइन्। वर्तमान सरकारले स्वास्थ्य अनि शिक्षाको क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरिरहेको पनि उनले बताइन्।
मुख्यमन्त्री स्वय् एक गरीब परिवारबाट आएका कारण उनलाई गरीबको मर्म याद रहेको, त्यसैले उनले गरीब जनतालाई सेवा दिनको निम्ति नै आफू मुख्यमन्त्रीको कुर्सीमा पुगेर पनि गरीब जनतालाई नै प्राथमिकता दिएर काम गरिरहेको उनले बताइन्। यो साढे चार वर्षभित्र मुख्यमन्त्री तामाङले जनतालाई लगाएको गुण अब फेरि जनताले उनलाई मुख्यमन्त्री बनाएर तिर्नुपर्ने समय आएको पनि उनले बताइन्।
आज यसै कार्यक्रममाझ मुख्यमन्त्रीकी धर्मपत्नी राईले आफ्नो पक्षबाट चार जनालाई आर्थिक सहयोग अनि एक विद्यार्थीलाई ल्यापटप प्रदान गरिन्। आफ्नो अनि आफ्नो परिवारलाई परेको समयमा यसरी मुख्यमन्त्री स्वम् अघि आएर अभिभावकको भूमिका निर्वाह गरेर सहायता प्रदान गरेकोमा लाभार्थीहरुले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।