राँची: भारतीय पीचहरूलाई केही समय अघिसम्म पनि स्पिनरहरूका सफलताको ग्यारण्टी मानिन्थ्यो तर ईंग्ल्याण्ड विरुद्ध जारी पाँचवटा टेस्ट म्याचको सीरीजमा भारतीय पेस बलरहरूले त्यस दावीलाई झूटो साबित गर्ने प्रयास गरेका छन्। विशेषगरी जसप्रीत बुमराहले आफ्नो रिभर्स स्विंग र यर्करद्वारा ईंग्ल्याण्डका ब्याटरहरूलाई तिरीखिरी पारेका छन् अनि विशेखापट्टनममा त एक्लैको दममा टीमलाई जीत दिलाएका थिए। यस सीरीजमा १०४ र ९१ रनको दुईवटा महत्त्वपूर्ण ईनिंग्स खेल्ने शुभमन गिलले पनि बुधवार पीचहरू सम्पूर्ण रूपले भारतीय पेस बलरहरूका पक्षमा नरहे पनि महत्त्वपूर्ण मौकाहरूमा विकेट हासिल गर्ने उनीहरूका क्षमताले टेस्ट सीरीजमा ठूलो अन्तर सृष्टि गरेको स्वीकार गरेका थिए। गिलले राँचीमा बुमराहको कमी अनुभव हुने पनि स्वीकार गरे तर टीममा रहने अन्य भारतीय पेस बलरहरूसँग पनि यी परिस्थितिहरूमा बलिंग गर्ने पर्याप्त अनुभव रहेको छ। यसैकारण अन्य पेस बलरहरूले पनि आफ्नो प्रभाव छोड़्न सक्छन्। गिलले यस मामिलामा राजकोट टेस्टमा 4 विकेट लिने मोहम्मद सिराजको उदाहरण दिए।
सीरीजमा अहिलेसम्म खेलिएका तीनवटा टेस्टमा भारतीय पेस बलरहरूले २२ र स्पिनरहरूले जम्मा ३६ विकेट लिएका छन्। विकेटको संख्या स्पिनरहरूका पक्षमा रहे पनि गिलको भनाइअनुसार, पेस बलरहरूले परिस्थिति अनुसार बलिंग गरेर भारतीय टीमलाई अघि बढ़ाए। यस सीरीजमा बुमराहले १७, सिराजले ४ र मुकेश कुमारले १ विकेट लिएका छन्। यसरी स्पिनरहरूमा रविचन्द्रन अश्विनले ११, रविन्द्र जडेजाले १२, कुलदीप यादवले ८ र अक्षर पटेलले ५ विकेट लिएका छन्। राजकोट टेस्टमा ईंग्ल्याण्डको दोस्रो ईनिंग्समा चाहिँ भारतीय स्पिनरहरूले ८ र पेस बलरहरूले १ विकेट लिए।
भारतीय पेस बलरहरूले यस सीरीजमा विशेषगरी रिभर्स स्विंगलाई असल तरिकाले प्रयोग गरेका छन्। यसमा बुमराहले त चमत्कार नै गरेका छन् तर सिराजले पनि राजकोट टेस्टको पहिलो ईनिंग्समा ४ विकेट लिएर ईंग्ल्याण्डलाई ३१९ रनमा समेट्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यस अवधि उनले पनि रिभर्स स्विंग र यर्करको असल तरिकाले प्रयोग गरे। आफ्नो प्रभावशाली पेस आक्रमणले गर्दा नै भारतले ईंग्ल्याण्डलाई उनीहरूका बेजबल रणनीतिको असल तरिकाले जवाफ दिँदै आएको छ। ईंग्ल्याण्डका ब्याटरहरूले भारतीय स्पिनरहरू विरुद्ध स्वीप, रिभर्स स्विप शट्हरू प्रभावी तरिकाले प्रयोग गरे पनि उनीहरूले बुमराह र सिराज विरुद्ध त्यस्तो केही गर्न सकेका छैनन्।
बुमराहलाई बीसीसीआई-को कार्यभार प्रबन्धन नीतिअन्तर्गत राँची टेस्टबाट विश्राम दिइएको छ। सीनियर खेलाड़ीहरू टीमबाट बाहिर रहनु धेरैपल्ट युवा खेलाड़ीहरूका निम्ति ठूलो मौका साबित हुन्छ। बुमराहको अनुपस्थितिमा सिराज टीमका प्रमुख पेस बलर हुनेछन्। यसबाहेक भारतीय टीममा अन्य केही युवा पेस बलर रहेका छन्, जो मौकाको प्रतीक्षामा रहेका छन्। विराट कोहली र केएल राहुल जस्ता सीनियर खेलाड़ी टीमबाट बाहिर रहँदा मौका पाउने सरफराज खानले आफ्नो उत्कृष्ट ब्याटिंगद्वारा सबैलाई प्रभावित गरेका छन्। सरफराजले तेस्रो टेस्ट म्याचको दुवै ईनिंग्समा अर्द्धशतक बनाएका थिए। बुमराहको अनुपस्थितिमा राँचीको पीचमा भारतले चारजना स्पिनर खेलाउने सम्भावना रहेको छ। राँचीको पीचबाट स्पिनरहरूले भरपूर सहायता पाउने तय रहेको छ। ईंग्ल्याण्डका उपकप्तान ओली पोपले पनि यस कुरालाई स्वीकार गरेका छन्। यसैकारण भारतीय टीम म्यानेजमेण्टले बुमराहको स्थानमा स्पिनर बलरलाई नै खेलाउने प्रबल सम्भावना रहेको छ। यस्तो भए भारतीय टीममा जडेजा, अश्विन र कुलदीपको साथमा अक्षर पटेलले खेल्ने लगभग तय रहेको छ।