२२ हजार ७४६ जनालाई स्थायीकरण गरिने
गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको अध्यक्षतामा आज मन्त्री मण्डलको बैठक सम्पन्न भयो। उक्त बैठकमा राज्यका विभिन्न क्षेत्रमा कार्यरत २२ हजार ७४६ जनालाई स्थायीकरण गर्ने पद सृजना गरेकोमा मुख्यमन्त्री तामाङले खुशी प्रकट गरे। विशेष गरेर एमआर, एडह्क, ठेकादारको अधिनस्थ कर्मचारी, एक परिवार एक नौकरी लगायत विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारीहरूलाई स्थायीकरण गर्नको निम्ति आज बसेको मन्त्री मण्डलको बैठकमा पद सृजना गरियो। सोही प्रकारले शिक्षा विभागको निम्ति थप १९४८ जनाको रिक्त पद सृजना गरिएको छ,जसमा प्रि-प्राइमेरी, स्नातक, पोस्ट ग्रेज्युट शिक्षकहरूलाई स्थायीकरण गरिने छन्। बैठकमा विशेष गरेर गत वर्षको ३१ दिसम्बरसम्म चार वर्ष पुगेकाहरूलाई स्थायीकरण गरिने गत ९ फरवरीको दिन मुख्यमन्त्रीले गरेको घोषणालाई कार्यान्वयन गर्दै यस प्रकारको निर्णय लिएको हो। यी पहलहरूले आवश्यकतामा परेका परिवारहरूलाई पर्याप्त सहयोग प्रदान गर्न र नियमित कर्मचारीहरूको आत्मविश्वास बढाउन सहय़ोग पुग्नेछ। अन्ततः राज्यको विभिन्न कुनाहरूमा बसोबास गर्ने विपन्न परिवारहरूको समग्र कल्याण र खुशीमा योगदान पुर्याउने मुख्यमन्त्रीले विश्वास व्यक्त गरेका छन्।
आर्थिक सन्तुलन र समृद्धितर्फ डोर्याउने रोजगारीका अवसरहरूसहित प्रत्येक घर परिवारलाई उज्यालो बनाउने, विपन्न परिवारलाई सहयोगको हात बढाउन एसकेएम सरकार प्रतिबद्ध र अटल रहेको छ।











