(कथा)          शङ्का

           

खड्गबहादुर कौशिक, तेजपुर (असम)

तीनदिनदेखि घरमा को को आए, कहाँ कहाँ बसे, के के बोले, कसरी विदा भए, निस्कँदा कसरी निस्किए, कता लागे, यहाँसम्म कि पहिला कस्ता कुरा भए,  छुटिँदा कस्तो बोली थियो,  बोलेर कि नबोली हतार हतार बाटो लागे, यिनै कुरा सम्झँदै ठिक्क छ तिलरूपालाई। न निधो लाग्छ, न निद्रा! आफ्नै श्रीमानलाई पनि भन्ने आँट जुटाउन सकेकी छैन उसले। मनमा च्यापेका कुराले उसको भुँडी बिसाई बिसाई हुँडलेको छ।मनमा नराम्रै मात्र सोच पगारी पगारी आइरहेछन्। यस्ता सोचले मन दुखाउनु, चिन्ता बढाउनु सिवाय अर्को केहि काम आउला अथवा आउने लक्षणसम्म देखिएला जस्तो पनि छैन।

कसैलाई भनौँ भन्दा भनि हाल्न नसकिने। मनमा गुम्साई थुप्राई राखेका कुराले समयमा यसरी भित्रभित्रै पिरको पिरामिड बनेर सताउँछ भन्ने तिलरूपालाई पहिलोपल्ट थाहा भयो। पल्ला घरकी मेनेका बुहारीलाई साडी मिलाएर लाइदिन बोलाइएको थिई। साडी लाएर ऊ बिहेमा श्रीमानसँगै अप्सरा विवाह भवन गई। त्यहाँबाट फर्केर आएको, बेडरुमको ऐना अघिल्तिर एक्क्षिन के सोचेर उभिएको, बाथरुममा हातमुख धोएकोसम्म चाहिँ राम्रो याद छ उसलाई। हो! त्यहाँसम्म त सबै ठिकठाक छ। आज बिहानसम्म पनि उसलाई केही थाहा थिएन। नानीहरूलाई स्कुल पुर्‍याएर, श्रीमान पनि अफिसतिर लागे। त्यसपछि ऊ यसो लुगाफाटो मिलाउँ भन्दा पो झसङ्ग भई। मरी मरी सम्झन खोज्छे, अँह पटक्कै याद हुँदैन। झन् बढी आतेस लाग्न थाल्यो उसलाई। काम गर्ने पुतली थिई भने यसो खोजी लाग्ने थिई! फुपूकी छोरीको बिहेमा तीन दिनमै आउँछु भनेर गएकी हप्ताह दिन भइसक्यो आएकै छैन। यसै कामको चेपाई त्यहाँमाथि खनियो अर्को चिन्ता! तो बिहेपछि घरमा को को आएका थिए फेरि मेलैसँग ऊ सम्झन थाली। मनको एक्सरेले सबैको फोटो एकापटिबाट खिच्दै आफै निहालेर परीक्षण गर्न थाली। केही अत्तोपत्तो लागेन। चित्तबुझ्दो सुइँकोसम्म फेला परेको छैन। ऊ घोतलिन्छे!

हिजोदेखि उसको शङ्का अर्कातिर ढल्कियो। फेनामाया हिजो एक्कासि किन आई? त्यो बिहेको भोलिपल्ट ऊ आएकी थी। त्यसबेला त ऊ घरको मूलढोकासम्म पनि आइपुगिन! रङ्घन फूलको हाँगो काट्दा मलाई पनि एउटा दिनु है दिदी भनेर आएकै बाटो फर्किएकि थिई। कसरी भेटी होला त?  मिलिक्कै फर्किएकी थिई!तर त्यसरी फ्याट्ट किन फर्किनु पर्‍यो? कतै भेटेर त होइन? यो फेनामाया आएर यति छिटै फर्केर जाने मान्छे त होइन! यो त मान्छेका घर घर चहारेर, सुनका गरगहना हेर्ने, लुगा फाटो हेर्नै तारिफ गर्ने, मितेरी गाँस्ने यी काममा त सिपालु छे! अघि-पछि चिया नखाई नजाने! होइन यो फुलबारीको कता कता ऊ पसेकी थिई! त्यतै कता त झरेको थिएन? ऊ फेनामायाका भरसक पाइला पनि खोजेर निकाल्नतिर लागी। तर उसलाई राम्रोसँग याद छ। अँह, फेनामाया फुलबारीमा पसेकै छैन। आजसम्म त्यता कोही पसेको उसलाई थाह छैन। पूजालाई चढाउने छेउमै जत्ति फुल छदै छन्। तर ओहो साँच्चै त उसले चिया खाएर जानु भन्दा पनि होइन दिदी अहिले हतार छ पछि खाउँला भनेर फुत्त निस्केको उसलाई राम्रो थाहा छ। बाहिर बाहिरै गए पनि फेनामायामा जो शङ्का लाग्यो सो नबढे पनि कमेन! उसलाई अलिक अभाव पनि छ! हराएको पनि त सत्य हो। अनि जब खोज्दा पनि भेटिएन, कसैलेत लगेकै हुनु पर्छ! सिधा कुरो। नत्र कहाँ गयो? उसको जे हरायो!…बुढापाकाहरू राम्रो हो भन्छन्। ग्रह दोष पनि जान्छ भन्छन्। भन्नेले के के भन्दैनन! जसको हराएको हुन्छ उसैलाई  थाहा हुन्छ। ऊ मन मनै सोच्छे। हराएको थाहा लागेदेखि उसको मन पिटिक्कै मान्दैन। हिजोसम्म असल लाग्ने मान्छे आज एक्कासि देख्दा शङ्का लाग्ने भए। कता कता उस्को के हराएको छ। कसैले थाहा पाए कि जस्तो लाग्छ उसलाई! सोच्दा सोच्दै मन नबुझेर ऊ आफै हैरान हुन्छे। घुटुक्क थुक निल्छे। केही हराए पनि चिन्ता हराउने होइन थपिँदो रहेछ। आफ्नै मन बुझाउन कति गाह्रो! गाह्रो नहोस् किन? स्वयम हराउनेले कहाँ कसरी हरायो नजाने पछि के लाग्छ? आँखाले नदेखे, थाहा नलागे पछि केवल सन्देहको भरमा कसैलाई चोर बनाउनु खोज्नु कहाँसम्म जायज हो?

बेलुका अफिसबाट आएका श्रीमानलाई चिया दिँदा उसले फ्याट्ट सम्झी। तो सोकेसमा श्रीमान र उसको एक महिना जति अघि विवाहको पन्ध्रौँ वर्षगाठ पूर्तिको दिन खिचेको र्फोटो लेमिनेशन गरी उसले मिलाएर राखेकी थिई। तो फोटो पुछदा झुकिएर तेता त राखिएन? ऊ एक्कासि खोज्न पुग्छे। “होइन के हरायो? अघिदेखि खतराङ खुत्रुङ खोजे जसो गर्छौ! चियामा चिनी पनि हालेकी छैनौ!” ऊ झसङ्ग भई। श्रीमानलाई चिया दिएर आएको उसले भुसुक्क बिर्सिएकी रहिछ। “ए यहाँ अघि क्लीप छाडेछु, भेट्टाएँ” भन्दै ऊ स्वाभाविक हुन खोजी। चिनीको डिब्बा हातमा लिएर, चम्चाले चियाको कपमा चिनी हालेर फिट्दै भनी “कसरी चिनी हाल्न भुलेछु?”

“अब असल कुरा कसरी भन्नु! भनौ भने भनिसक्नु छैन! भोलिसम्ममा भेटिएन भने जे हुन्छ होस् श्रीमानलाई पक्का सुनाउँछु।” सिद्धान्त गरी मनमनै।….ठक्क! डेढ तोलाको चोखो चौबीस क्यारेटको सुनको औँठी। तो पनि श्रीमानले केही आनाकानी नगरी विवाहको पन्ध्रौँ वर्षगाँठको खुशीमा सहरको प्रसिद्ध ज्वेलरीबाट किनेर उपहार दिएको। हो त्यही सुनको औँठी लाउने रहर नपुगी हरायो। ऊ थक्क थक्क मान्छे। जसले भेटे पनि त्यसको खाँचो टरोस्। कल्याण होस्। फेरि लगत्तै भन्छे! “किन कसैको कल्याण होस् भन्छु? खाचो पर्दा जाबो तिलको गेडो आफूलाई कसैले छिराउँदैनन्!”

बिहान दाँतब्रस गर्दा अचानक श्रीमानका आँखा बेसिनको च्यापामा अल्झिएको तो सुनको औँठीमा टुप्लुक्क पर्छ। पहिला त उसले केही ठम्याउन सकेन। च्यापाबाट निकाल्दा उसैले श्रीमतीलाई उपहार दिएको औँठी रहेछ! औँठी लिएर ऊ सोझै चिया-चमेना बनाउँदै गरिकी श्रीमतीको छेउ पुग्यो। उसले मजले देखाउनै पाएको थिएन “आम्मै! यो कहाँ थियो?” आत्तिएर चिलले फुत्त चल्ला टिपे जसरी श्रीमानका हातबाट तो हराएको औँठी आफ्नो मुठीमा लिएर उसले लामो सास फेरी! श्रीमानले भने केही अत्तोपत्तो पाएन। श्रीमतीलाई ट्वाल्ल परेर एकहरो हेरिरह्यो, मानौँ श्रीमतीको यो अनुहार ऊ पहिलोचोटि देखिरहेछ!

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement