दार्जिलिङ: मानव तस्करीको रोकथाम तथा यसको विरोधमा सबै एक भएर खड़ा हुन आवश्यक रहेको कुरोमाथि जोड़ दिन्दै सामाजिक संस्था मार्गको आयोजनामा आज दार्जिलिङमा विश्व मानव तस्करी विरोध दिवस पालन गरिएको छ। यसबारेमा मानिसहरूलाई जागरूक गराउने उद्देश्य लिएर दार्जीलिङ शहरमा ऱ्याली पनि निकालिएको छ। उक्त ऱ्यालीमा दार्जिलिङ क्षेत्रका विभिन्न स्कूल अनि कलेजका विद्यार्थीहरूले सहभागिता जनाएका थिए। मानव तस्करीको विरोधमा लेखिएको विभिन्न प्लाकार्डहरू हातमा बोकेर विद्यार्थीहरूले निकालेको ऱ्याली चौरास्ताबाट शुरू भएर शहरको परिक्रममा गरी दार्जीलिङ जिल्लापाल कार्यालय परिसरमा पुगेर समापन गरिएको छ।

उक्त मानव तस्करी विरोधी दिवस कार्यक्रम र रैली विषयमा मार्गका संयोजक निर्णय जोन छेत्रीले जानकारी दिएका छन्। उनले आज विश्वमा मानव तस्करीको विरोधमा खड़ा हुने दिन हो र हामीले विश्वमा नै मानव तस्करी विरुद्ध सचेतना गर्ने गरेका छौं भनी बताएका छन्। उनले बाल संरक्षणको क्षेत्रमा काम गर्ने नानीहरूलाई लिएर कतिपय संघ संस्थाहरूले काम गरिरहेका छन् भन्दै हामी सबै मिलेर उनीहरूलाई धन्यवाद दिने दिन हो भनी बताएका छन्। उनले भने अनुसार जलपाईगढ़ीमा डाल्सासित मिलेर आज मार्गले ऱ्याली गरेको र यसको साथै पेलिङ, बिजनबारी डिग्री कलेजमा पनि मानव तस्करीको विरोधमा मानिसहरूलाई जागरूक गराउने ऱ्याली निकालिएको बताएका छन्।










