गान्तोक: हिजो बेलुकी ७.१३ बजी रानीपूल मेलामा तम्बोला खेलाइरहेको ठाउँमा अचानक एउटा ट्याङ्कर पसेर दुर्घटनाग्रस्त हुँदा तीनजनाले ज्यान गुमाएका थिए भने २७ जना घाइते बनेका थिए। घटनाको तत्काल जानकारी पाएपछि राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ५-५ लाख रुपियाँ प्रदान गर्ने अनि घाइतेहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेका छन्। यस घटनामा ज्यान गुमाउने दुईजना सिक्किमकै हुन् भने एकजना पश्चिम बंगाल जयगाउँ निवासी रहेको थाहा लागेको छ। २७ घाइतेमध्ये चारजनालाई सामान्य चोट लागेको हुँदा अस्पतालबाट छुट्टी दिइसकेको छ भने अन्यको उपचार चलिरहेको छ। उनीहरू सबैको स्थिति बुझ्न आज राज्यका स्वास्थ्य मन्त्री कुङ्गा निमा लेप्चा तादोङस्थित मणिपाल अस्पताल पुगेका थिए। उनले त्यहाँ उपचाराधीन घाइतेहरूसँग भेट गरे भने मणिपालका उपकूलपति, चिकित्सक अधिक्षक, डाक्टरहरूसँग भेट गरी घाइतेहरूको स्वास्थ्य स्थितिबारे जानकारी लिए। मन्त्री लेप्चाले घाइतेहरुको आवश्यक उपचार गरिनुपर्ने अनि सबै खर्च राज्य सरकारले भुक्तान गर्ने बचन दिएका छन्। मन्त्री लेप्चाले यस दुःखद घटनामा ज्यान गुमाउनेहरूको आत्माशान्तिको कामनासँगै अनि परिवारप्रति समवेदना प्रकट गरेका छन्।
अर्कोतिर, मणिपाल अस्पतालले आज यसबारे एक विज्ञप्ति जारी गरेको छ। अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार, दुर्घटनापछि अस्पतालमा मोठ २७ जनालाई ल्याइएको थियो भने जसमध्ये दुइजनाको ज्यान गइसकेको थियो भने एकजना गम्भीर घाइतेले अस्पतालमा दम तोड़ेका थिए। प्राथमिक उपचारपछि ४ जनालाई छुट्टी दिइएको छ भने ६ जना घाइतेको स्थिति गम्भीर रहेको थियो अनि उनीहरूलाई आईसीयू, न्यूरोसर्जिकल आईसीयू अनि अर्थोपेडिक वार्डमा राखिएको छ। ६ मध्ये दुईजनाको स्थिति अझै गम्भीर रहेको छ। यस घटनामा घाइतेहरूमध्ये २१ जना पूर्व सिक्किमको रहेको थाहा लागेको छ भने एकजना दक्षिण सिक्किमको, एकजना माल्दाको अनि एकजना पश्चिम बंगालको कालेबुङ जिल्लाको रहेका छन्। हाल अस्पतालमा २० जनाको उपचार चलिरहेको छ।