समाजसेवी पासाङ दावा लामाको निधनमा खरसाङ महाविद्यालयमा शोकसभा

IMG-20240207-WA0158.jpg

खरसाङ: वरिष्ठ समाजसेवी पासाङ दावा लामाको निधनमा खरसाङ महाविद्यालयमा सम्पन्न भएको छ। गत ५ फरवरीका दिन १०५ वर्षको उमेरमा दुःखद निधन भएको थियो। उनको दुःखद् निधनमा खरसाङ महाविद्यालयले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली सभाको आयोजन गर्यो। सभालाई सम्बोधन गर्दै प्राचार्य डा समीर बलले भने खरसाङको टुंग गैरी गाउँ निवासी दिवङ्गत लामा पेशाले वरिष्ठ ठेकेदार थिए। ठेकेदारी पेशाकै कारण उनी पहाडभरि चकचके सरदारको उपनामले प्रख्यात छन्। स्मरण रहोस् दिवङ्गत लामा पेशाले ठेकेदार मात्र थिएनन्। उनी आफ्नो गाउँ समाज र जातिको निम्ति सदैव मरिमेट्ने चेतनशील र समाजसेवी ऐतिहासिक व्यक्ति थिए। शिक्षालाई उनले सर्वोपरि महत्त्व दिने गर्दथे। खरसाङ क्षेत्रको शैक्षिक प्रगतिका लागि उनले उल्लेखनीय कार्य गरेका छन्।
तत्कालीन साठीको दशकमा खरसाङ महाविद्यालयलाई आर्थिक रूपमा समर्थ राख्न र सुचारुसंँग सञ्चालन गर्न उनले विभिन्न कार्यक्रमहरू आयोजना गरी अर्थ सङ्ग्रह गरेर सहयोग पुर्याएको इतिहास साक्षी छ। त्यसबेला आफ्ना हितैषीहरूसँग मिलेर कहिले नाटक प्रदर्शन गरी त कहिले विभिन्न कला प्रदर्शनी गरेर त्यसबाट सङ्ग्रह भएको पैसाले महाविद्यालयको आर्थिक कोष सबल राख्न उनले गरेको योगदान खरसाङ महाविद्यालयका लागि प्रात: स्मरणीय छ। दिवङ्गत लामाजस्ता समाजसेवी साथै सचेत व्यक्तित्वहरूकै कारण खरसाङ महाविद्यालयको उज्वल भविष्य साथै समृद्धि बढेर आएको हो। आज खरसाङ महाविद्यालयको उन्नति र प्रगतिमा दिवङ्गत लामाको बहुमुखी योगदानलाई कदापि भुल्न सकिँदैन। यति मात्र होइन दिवङ्गत लामाले आफू सशरीर हुँदा नै विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक अनुदान प्रदान गरी योगदान गरेका छन्। जुन अनुदानबाट दिवङ्गत लामाकै नाममा प्रत्येक वर्ष आयोजन हुने महाविद्यालयको स्थापना दिवसको अवसरमा एकजना मेधावी विद्यार्थीलाई सहयोग राशि प्रदान गर्दै आएको छ।
लामाको दुःखद् निधनमा समवेदना प्रकट गर्दै प्राचार्यले खरसाङ महाविद्यालयका लागि मात्र नभएर सम्पूर्ण पहाडवासीका लागि पनि लामाको निधन अपूर्ण क्षति हो भनी बताए। दिवङ्गत लामा सशरीर हामीसित नरहे तापनि खरसाङ महाविद्यालयका लागि अमर रहनेछन्। लामाको पुण्य आत्मालाई ईश्वरको सायुज्य प्राप्त होस् साथै शोकाकूल परिवारप्रति ईश्वरले सहनशक्ति प्रदान गरून् भनी समवेदना प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement