मिस नेपाल सृच्छा प्रधानले मिस वर्ल्डमा ‘वातावरणमैत्री शहर’को परियोजना प्रस्तुत गर्ने

Screenshot_20240204_181710_Dailyhunt.jpg

काठमाडौं: मिस नेपाल सृच्छा प्रधानले विश्व सुन्दरी प्रतियोगिता मिस वर्ल्डमा ‘वातावरणमैत्री’ शहरको परियोजना प्रस्तुत गर्ने भएकी छन्। यसका लागि उनले पाटन शहरलाई ‘इको-सिटी’को रुपमा विकास गर्ने अवधारणा अघि सारेकी हुन्।
विश्व सिमसार दिवसको अवसरमा शनिबार एक समारोह आयोजना गर्दै उनले मिस वर्ल्डको गृहकार्यस्वरुप आफू अहिल्यैदेखि जुटेको बताइन्।यस समारोहमा युवा उद्यमीले आफूले उत्पादन गरेका वातावरणमैत्री घरेलु सामाग्रीदेखि पहिरनसम्म प्रदर्शनीमा राखिएको थियो।आगन्तुकले आफ्नो रुचि र मुडअनुसारका पेन्टिङ पोत्नेदेखि ती पर्यावरणमैत्री उत्पादनबारे जिज्ञासा राखेका थिए। ‘हामीले ब्युटी विथ पर्पसका लागि इको-सिटीको अवधारणा अघि सारेका छौं। यसमा काम गर्न सहकार्य चाहिन्छ। यसका लागि विभिन्न संस्थासँग हातेमालो गरेको छु’ उक्त अवसरमा सृच्छाले अनलाइनखबरसँग भनिन्।‘मेरो पृष्ठभूमि वन्यजन्तुलाई न्याय दिलाउने विषयमा हो। तर, यस्तो शहर होस् जुन सिमसारलाई लिएर सचेत छ। यो अवधारणा मान्छेले आफै बुझोस्। वातावरणीय संकट रोक्न यसको भूमिका हुनसक्छ’ उनले भनिन्, ‘अहिलेको पाटनको भित्री वस्तीमा हामीले सांस्कृतिकरुपमा कसरी वन्यजन्तु र वातावरणसँग जोड्न सकिन्छ भनेर हेरिरहेका छौं। संरक्षणका लागि पनि यो महत्वपूर्ण हुनसक्छ ।’विश्व स्तरमा नेपालको संरक्षण क्षेत्रमा कसरी काम गर्न सकिन्छ भनेर आफू अध्ययन र अनुसन्धानमा लागेको पनि उनले बताइन्। जसका लागि राष्ट्रसंघीय जलवायु सम्मेलन कोप-२८ मा सहभागि हुन आफू युएई गएको र त्यहाँ धेरै कुरा सिकेको सृच्छाको अनुभव छ। ‘विश्व स्तरमा नेपालले समस्याको तरिका पेश गर्न सकोस्’ उनले भनिन्। सृच्छाले आयोजना गरेको उक्त सिमसार प्रदर्शनमा मिस नेपाल अर्थ रेना मजगैयाँ पनि सहभागि थिइन्। अर्कोतर्फ, भारतमा आयोजना हुने ७१ औं मिस वर्ल्ड प्रतियोगितामा दर्शकको रुपमा सृच्छा पनि त्यसतर्फ जाने भएकी छन्। वातावरण शिक्षाकी विद्यार्थी समेत रहेकी मिस नेपाल सृच्छा वातावरण अभियन्ता समेत हुन्।

About Author

Advertisement