६०.५३ लाखको लागतमा दार्जीलिङ नेपाली साहित्य सम्मेलन भवनको मरमत्ति हुने

IMG-20240202-WA0227.jpg

जातिको संरक्षण गर्न जातित्व दर्शाउने पूर्वाधारहरुको संरक्षण पनि हुनुपर्नेछ: अनित थापा

दार्जीलिङ: नेपाली भाषा, साहित्य अनि गोर्खा संस्कृति हाम्रो पहिचानका अभिन्न अनि मूल अङ्ग हुन्। भाषा बाँचे साहित्य बाँच्छ, साहित्य बाँचे हाम्रो इतिहास बाँच्छ, इतिहास बाँचे गोर्खा जातिको सम्पूर्णता बाँच्नेछ। जातिको संरक्षण गर्न जातित्व दर्शाउने पूर्वाधारहरुको संरक्षण पनि हुनु पर्नेछ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले दार्जीलिङमा बताएका छन्।

नेपाली साहित्य सम्मेलन भवनको मरमति कार्यको प्रस्ताव पारित भएको खुशीको खबर दिँदै एक विज्ञप्तिमार्फत जीटीए चिफ् अनित थापाले उपरोक्त कुरा बताएका छन्। उनले विज्ञप्तिमा भने, “केही समय पूर्व जीटीए सल्लाहकार अमर लामाले सम्मेलनका पदाधिकारीहरूसँग मेरो भेटघाट गराउनु भएको थियो। महेन्द्रले त्यस समय बताउनु भएको थियो कि सम्मेलनले मई महिना २०२४ मा सम्मेलनको स्थापना भएको शतवार्षिकी मनाउने कार्यक्रम छ। सम्मेलनको भवन पुरानो हो। कार्यालय, हल , लाइब्रेरीका टेबल चौकीहरू भत्कन लागेको साथै भवनलाई अझ फराकिलो बनाउन थप कोठा बनाउन सकिने जानकारी दिनु भएको थियो। मैले उहाँलाई एउटा लिखित प्रस्ताव दिने अनुरोध गरेको थिए। उहाँहरूले पनि तुरन्तै प्रस्ताव बुझाउनु भयो। त्यही प्रस्तावलाई जीटीएले पारित गरेको छ। प्रस्ताव अनुसार मरमति, नयाँ कोठा, टेबल कुर्सी आदि सम्मेलन भवनमा जडान गरिनेछ। करीब रू ६०.५३ लाखको लागतमा सम्पूर्ण कार्य पूरा हुनेछ।सम्मेलनको शतवार्षिकी कार्यको समापन कार्यक्रम नयाँ रूपमा बनिएको सम्मेलन भवनमा हुनेछ।”

प्रस्ताव पारित भएको खबर पाए पश्चात आफ्नो प्रतिक्रिया दिँदै सम्मेलनका महासचिव महेन्द्र प्रधानले भने, “नेपाली साहित्य सम्मेलन अमर लामा अनि जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति कृतज्ञता प्रकट गर्दछ। यति छोटो समयमा उहाँले हाम्रो प्रस्तावलाई स्वीकार गरिदिनु भयो। उहाँहरुको योगदानलाई जीवित राख्न सम्मेलनले उहाँहरुको नाम मार्बलमा अंकित गरेर इतिहासको निम्ति अमर राख्नेछ।”
१९२४ मा स्थापना भएको भारत वर्षकै सबैभन्दा पुरानो संस्थाहकूमध्ये एक दार्जीलिङस्थित नेपाली साहित्य सम्मेलन हो। सम्मेलनका महासचिव महेन्द्र प्रधानले जानकारी दिनु भए अनुसार सम्मेलनमा वर्तमान करिब १६० साहित्यकारहरू सदस्य रहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *