नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२४ को आवेदन खुला

Screenshot_20240201_182355_Dailyhunt.jpg

काठमाडौं: नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको सातौं संस्करण जुन २० देखि २३सम्म आयोजना हुने भएको छ। अमेरिकाको मेरिल्याण्ड राज्य र वासिङ्टन डीसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि विश्वभरबाट आवेदन खुला गरिएको आयोजक संस्थाले जनाएको छ। मेरिल्याण्डमा स्थापित गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आएको छ ।महोत्सवमा कथानक, वृत्तचित्र, छोटा फिल्म, एनिमेसन लगायतका विधाका फिल्म स्क्रिनिङ गरिनेछन्। नेपाल, अमेरिका र दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र फिल्मलाई प्रदर्शनको उच्च प्राथमिकतामा राखिने आयोजकले जनाएको छ। वासिङ्टन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय फिल्ममेकरलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’अन्तर्गत पनि फिल्म प्रदर्शन हुने जनाइएको छ। स्थापनाकालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिभल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुँदै आएका फिल्मलाई पनि यस वर्ष प्रदर्शन गरिने भएको छ। ‘सन् २०२३ मा भौतिक रुपमा आयोजित फेस्टिभलको भव्यताले आयोजनाका लागि थप उत्साह मिलेको छ। यसले सबै दर्शक तथा सहभागीमा मनोरञ्जन र ज्ञान आदानप्रदानको अनुभूति गराउने विश्वास लिएका छौं,’ महोत्सव निर्देशक युवाकर राजकर्णिकारले भने। कोरोना महामारीका कारण अघिल्ला दुई महोत्सव भने अनलाइनमार्फत गरिएका थिए। अन्तर्राष्ट्रिय फिल्मकर्मी संलग्न समितिले आवेदन परेकामध्येबाट फिल्म प्रदर्शनका लागि छनोट गर्नेछ। प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ। महोत्सव अवधिमा फिल्म, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत हुनेछन्। फिल्म प्रदर्शनपछि त्यसका निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement