सृष्टिलाई मिसेस नेपाल क्यानडाको उपाधि

Screenshot_20240201_182025_Dailyhunt.jpg

काठमाडौं: क्यानडामा पहिलोपटक सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा सम्पन्न भएको छ । महिला शिक्षा तथा क्षमता विकास समूह क्यानडा र नेप्लिज फेसन होमले त्यहाँ बसोबास गर्दै विवाहित महिलाबीच यस्तो ब्युटी पेजेन्ट गरेको हो ।क्यानडाको ब्रयमटम इस्प्रेनजा ब्यांक्वेट हलमा आयोजित प्रतिस्पर्धामा सृष्टि श्रेष्ठले उपाधि जितिन्। प्रतियोगिताका फाइनलिस्ट ६ जनालाई संसारमा केको अभाव छ भनेर प्रश्न सोधिएको थियो ।विजयी सुन्दरी श्रेष्ठले आजको संसारमा अरुको भावना र अनुभवलाई महसुस गर्ने क्षमताको कमी रहेको जवाफ दिएकी थिइन्। ‘हामीले एउटा यस्तो ठाउँको सिर्जना गर्नुपर्छ, जहाँ सबैले सुन्न, बुझ्न र स्वीकार गर्न, महसुस गर्न सकुन्,’ उनले भनेकी थिइन् ।शीर्ष उपाधिसहित उनले मिसेस फ्रेन्डसिपको सहविधा पनि जितिन्। अलिशा राजभण्डारी फस्ट रनरअपसँगै सहविधा फोटोजेनिक पनि जितिन्। रश्मी थापा मगर सेकण्ड रनरअप घोषित भइन्। क्यानडाका विभिन्न सहरमा बस्दै आएका १० विवाहित सुन्दरीले प्रतिस्पर्धा गरेका थिए।
एमी कर्माचार्यले ट्यालेन्टेट र श्याम लिम्बूले पब्लिक च्वाइस अवार्ड जिते। नमुना फेसन कलेजले तयार पारेको डिजाइनमा सजिएर र्‍याम्पमा सुन्दरीहरु प्रस्तुत भएका थिए। नेपालका लागि क्यानडाकी कार्यबाहक राजदूत रोजिना ताम्राकार प्रमुख अतिथिको रुपमा कार्यक्रममा थिइन्।
प्रतियोगितामा प्राध्यापक नीरा शर्मा, संगीता धौभडेल, शुभेच्छा भट्ट र निलु केशरी जजको रुपमा सहभागी थिए। महिला शिक्षा तथा क्षमता विकास समूहकी अध्यक्ष चन्दा श्रेष्ठले क्यानडामा रहेका विवाहित सुन्दरीलाई एकत्रित गर्दै उनीहरुमा महिला सशक्तीकरण, आत्मविश्वास अभिवृद्धि र अन्तरनिहित प्रतिभा प्रदर्शन गर्ने कार्यक्रमको रहेको बताइन् ।नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले यो प्रतियोगिताबाट संस्थाले अन्तर्राष्ट्रिय प्रतियोगिताको थालनी गरेको बताइन्। उनले यो प्रतियोगिता हरेक वर्ष आयोजना गरिने जानकारी पनि गराइन्।

About Author

Advertisement