कोलकाताः शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा तृणमूल कंग्रेसकी चर्चित विधायक अनि गायिका आदिति मुन्शीका पति देवराज चक्रवर्तीसित सीबीआईले फेरि जाँचबुझ गरेको छ। केन्द्रिय जाँच एजेन्सी सूत्रले बताए अनुसार बुधवार उनी निजाम प्यालेसस्थित सीबीआईको कार्यालयमा पेश भए। उनलाई गए मङ्गलवार नोटिस पठाइएको थियो। एक साताभित्रमा उनीसित यो दोस्रो जाँचबुझ भइरहेको छ। यसपूर्व गत २५ जनवरीमा उनीसित जाँचबुझ भएको थियो।
सीबीआईका एकजना अधिकारीले बताएका छन्, नियुक्ति भ्रष्टाचार मामिलामा उनको घरको खानतलासी लिँदा केही महत्वपूर्ण कागजपत्रहरू भेटिएको छ। यसै सिलसिलामा उनीसित दोस्रोपटक जाँचबुझ भइरहेको छ। यस अतिरिक्त यस मामिलामा पक्राउ परेपछि जेलमा थुनिएका पूर्व शिक्षामन्त्री पार्थ च्यटर्जीका निकटवर्ती काउन्सिलर बप्पादित्य दासगुप्तसित पनि जाँचबुझ गरिएको थियो। दुवैको घरमा सीबीआईले खोजी अभियान चलाएको थियो अनि यसावधि धेरैवटा महत्वपूर्ण कागजपत्रहरू फेला पारेको थियो।
केन्द्रिय एजेन्सीका अधिकारीले बताए, उनको घरबाट टेट परीक्षार्थीहरूको मार्कशीट र नियुक्त शिक्षकहरूको स्थानान्तरण सम्बन्धि कागजपत्र भेटिएको छ। निश्चित रूपमा यी कागजपत्रहरू शिक्षा विभागको कार्यालयमा हुनुपर्थ्यो, तर उनको घरबाट फेला पर्नुको अर्थ हुन्छ, नियुक्ति भ्रष्टाचार मामिलामा दुवै सामेल छन्।
-हिस