बाजपेयीको ‘छाँया’

IMG-20240130-WA0132.jpg

कमल छेत्री, कालेबुङ
देशका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको हरेक फोटो पछि कालो चस्मा लगाएर उभिरहेको देखिने अनुहारलाई तपैले कहिले ख्याल गर्नु भएको छ? बाजपेयीको छाँया जस्तो बनेर झण्डै दुई दशकसम्म उनीसँगै उठबस गर्ने त्यो अनुहार अरू कोही होइनन्, दार्जीलिङकै छोरो ग्याछो छिरिङ लेप्चा अर्थात जीटी लेप्चा हुन्। जो खरसाङ महकुमाअन्तर्गतको तकदाह स्थित तक्लिङको सानो गाउँमा जन्मिए, तैपनि देशको राजधानीमा जीवनको आधा उमेर बिताए। झण्डै सोह्र वर्षसम्म बाजपेयीको सुरक्षा अधिकारी बने र पछिबाट विशेष सहायक बनेर काम गरे। प्रधानमन्त्रीसँगै विश्वका ५४ वटा देश घुमफिर गरे। बाजपेयीको परिवार सरह भएर दिल्लीमा बसे। त्यै भएर आज पनि अटल बिहारी बाजपेयीका आफन्तहरू भन्छन्, ‘मिस्टर लेप्चा हाम्रो निम्ति हाम्रो घर कै मान्छे हुन्।’
दार्जीलिङको तक्लीङ बस्तीमा जन्मिएर फाटेको हाफपाइन्ट लगाई स्कूल जाने एउटा साधारण केटा थिए, जीटी लेप्चा। जसलाई पढेर के बन्ने? त्यो सम्म थाहा थिएन। तक्लिङ जुनियर बेसिक स्कूलबाट प्राथमिक तहको शिक्षा ग्रहण गर्ने लेप्चाले टिस्टा हाईस्कूलबाट उच्च माध्यमिक तहको परीक्षा उतीर्ण गरेका थिए। त्यसपछिको उच्च शिक्षा उनले उत्तर प्रदेशबाट लिएका थिए। उनका पिता फौजी भएकोले गर्दा होला, परिवारका सदस्यहरू उनलाई पनि सेनामा भर्ती भएको हेर्न चाहन्थे। तर, उनले सन् १९८० मा खरसाङको रेलवे प्रिन्टिङ प्रेसमा काम पाए। सरकारी नोकरी भएको एक वर्षपछि उनी रोजकार कार्ड नवीनीकरण गराउन कालेबुङ आइपुगे। गाउँबाट कालेबुङ आइपुग्दा थाहा पाए, मेला ग्राउण्डमा सीआरपीएफको भर्ती चलिरहेको छ। जहाँ साथीहरू भर्तीको निम्ति लाइन लाग्न गइरहेका छन्। जीटी लेप्चाको त आफ्नै सरकारी काम थियो, तैपनि साथीहरूसँग गएर लाइन लागे। सायद भाग्यलाई अरू नै केही मन्जुर थियो, त्यै भएर उनी सीआरपीएफमा पनि छिरिहाले। त्यसपछि नै उनको नयाँ यात्रा शुरु भयो। सिपाही बनेर उनी घरि असम पुगे, घरि जम्मु पुगे।
सन् १९९४ मा उनी एसपीजीको निम्ति आखिल भारतीय स्तरको परीक्षा बस्न दिल्ली पुगे। परीक्षा बस्न साथ उनी त्यसमा पनि चयन भइहाले। त्यसपछि त उनी पहिलोचोटि दिल्ली पुगे र स्पेशल प्रोटेक्सन ग्रुप-(प्रधानमन्त्री सुरक्षा दस्ता)मा सामेल भए। सुरूको दुई वर्षसम्म प्रधानमन्त्री पीभी नरसिम्हा रावको ड्यूटीमा खटिए। सन् १९९६ मा यस्तो संयोग आयो, उनी अटल बिहारी बाजपेयीसँग जोडिए। बाजपेयीले उनलाई किन मन पराए कुन्नी? त्यसपछि त उनलाई छोड़्दै छोड़ैनन्। सायद उनको कर्तव्यपरायण, इमान्दारिता र कार्य कुशलता देखेर होला, सोह्र सालसम्म सँगै राखे। चुनाव जितेर प्रधानमन्त्री बन्दा पनि बाजपेयीले जीटी लेप्चालाई खोजे, चुनाव हारेर फेरि जनताबीच जाँदा पनि उनले जीटी लेप्चालाई सोधे। झण्डै दुई दशकसम्म बाजपेयीसँग उठबस गर्ने जीटी लेप्चालाई पछि पछि त बाजपेयी प्रधानमन्त्री होइन, परिवारको सदस्य धेर लाग्न थालेको थियो।
जीटी लेप्चालाई आज पनि थाहा छ, शुरुमा बाजपेयीलाई स्पेसल प्रोटेक्सन ग्रुप (एसपीजी)ले सुरक्षामा घेरेको पनि मन पर्दैन थियो। उनी घरि घरि गनगनिन्थे, ‘इतना लोग क्यूँ मेरा आगे पीछे रहते हो। सिर्फ तुम मेरै साथ चलो।’ जीटी लेप्चालाई गाह्रो हुन्थ्यो, उनी भनिदिन्थे, ‘होइन सरकारको आदेश छ। तपाईँलाई छोड़्न मिल्दैन। नोकरी खतरामा पर्छ।’ तैपनि बाजपेयीले जहिले जीटीलाई नै नजिक राखिरहे। एसपीजीबाट उनलाई छानेर विशेष सहायक बनाए। त्यसपछि त उनी बाजपेयीको छाँया जस्तो बनेर घुमिरहे। जब पनि बाजपेयी विदेश जान्थे, अरू कोही नहुँदा पनि जीटीसँगै हुन्थे। अमेरिका होस् वा रुस, साउथ अफ्रिका होस् वा लण्डन, जीटी सब ठाउँ बाजपेयीसँगै पुग्थे। त्यही बेला उनले बाजपेयीसँग संसारका ५४ वटा देश घुमे। देश-विदेश नियाले, देशको राजनीतिलाई नजिकबाट चियाए। दिल्लीको विकास दार्जीलिङसम्म किन आइपुग्न सक्दैन? धेरथोर कुरा बुझे। उनलाई अहिले पनि लाग्छ, ‘राजनीति दुई तरिकाको हुने रहेछ। एउटा पैसाको लागि। र अर्को जनताको सुविधा र क्षेत्रको विकासको लागि। तर, दार्जीलिङको राजनीतिमा अब पैसा हावी भइसकेको छ, त्यही भएर विकास कार्य धरि राम्रोसँगले हुनसकेको छैन।’
बाजपेयीको तुलना अन्य कसैसँग नहुने जीटी लेप्चा आज पनि बताउँछन्। उनी भन्छन्, ‘मैले बाजपेयीलाई हर रूपमा देखेँ। चुनाव जितेर प्रधानमन्त्री बन्दा पनि देखेँ। चुनाव हारेर फेरि जनताबीच जाँदै गर्दा पनि देखेँ। तर, न उनी कहिले धेरै उत्साहित भए। न कहिले धेरै विरक्त भए। सबैलाई साथमा लिएर हिड़्ने व्यक्ति थिए उनी। जहिले इमान्दारिता र धैर्यतासँगले राजनीति गरे। त्यसरी धैर्यसँगले राजनीति गर्ने व्यक्तिको खाँचो दार्जीलिङलाई पनि छ।’
बाजपेयीसँग वर्षौसम्म उठ बस गरेकै कारण हो, अहिले पनि केन्द्रका अधिकांश मन्त्रीहरूसँग उनको राम्रै हेमकेम छ। बाजपेयीका परिवारले त अहिले पनि उनलाई घरकै सदस्य मान्ने गरेको छ। केन्द्रिय मन्त्री स्मृति इरानी होस् वा भाजपा अध्यक्ष जेपी नड्डा होस्, उनी फोनबाटै कुरा गर्ने क्षमता राख्छन्। केन्द्रको धेरैवटा सरकारी कार्यलय छिर्न अहिले पनि पास नचाहिने जीटी लेप्चाले तर, आफ्नै स्वर्थको निम्ति चै कहिले राजनैतिक फाइदा उठाउने काम गर्न चाहेनन्। उनी अहिले पनि तक्लिङको घरमा चुपचाप बसिरहेका छन्। दिल्लीले चिन्ने ‘मिस्टर लेप्चा’, दार्जीलिङमा चाहिँ गुमनाम छन्।
जीटी लेप्चालाई बाजपेयीसँग प्रेम छ, उनको कवितासँग प्रेम छ। ‘राजनीतिमा किताब पढ्ने मान्छेहरू आउनुपर्ने रहेछ’, उनलाई कहिले कहीं लाग्छ, ‘बाजपेयीसँग कहिले फुर्सद हुन्थेन। हप्तामा एकदिन जनता दरबार राख्थे। उनी साधारण भन्दा साधारण मान्छेलाई भेट्थे। समस्या बुझ्थे। जब फुर्सद पाउँथे, कविता लेख्थे। हरेक जन्मदिनमा उनी कविता सुनाउँथे। खासमा किताबलाई प्रेम गर्ने मान्छे जहाँ पनि छिरोस्, उनले केही न केही फरक गरिहाल्ने रहेछ। बाजपेयीले देशको राजनीतिमा त्यही गरे। दार्जीलिङको राजनीतिमा कतिजना होलान् र किताबलाई सिरानी बनाउने नेताहरू? जीटी लेप्चालाई लाग्छ, दार्जीलिङको सडक, शिक्षा, पर्यटन अब सब लथालिङ्ग बनिसकेको छ। उनी भनिरहन्छन्, ‘दार्जीलिङको सडकहरू मात्रै हेर्नुस, तपाईले यहाँको अवस्था बुझिहाल्नुहुन्छ। बाजपेयीले जहिले भन्ने गर्थे, हर ठाउँमा सडक पुग्नुपर्छ। विकास आफै पुगिहाल्छ। तर, दार्जीलिङको सड़कको हालत मात्रै हेर्नुहोस्। तपाई बुझिहाल्नु हुन्छ विकास कहाँ कहाँ पुग्नसकेको छ?’
दार्जीलिङको मुद्दाहरूलाई केन्द्रमा राम्रोसँगले उठाउन नसकेको उनको अर्को दावी छ। ‘राजनीतिलाई पैसा कमाउने खेला बनाउँदा नै दार्जीलिङको यो हाल भएको हो’, जीटी लेप्चा भन्छन्, ‘समाजमा सबै भन्दा ठूलो परिवर्तन ल्याउने भनेको राजनीति मार्फत् नै हो। तर, त्यही राजनीतिमा छिर्न राम्रा मान्छेहरूले किन हिच्किचाका होलान्? मैले त देशको राजनीतिलाई एकदम नजिकबाट हेरेको छु। नेतृत्वसँग इच्छाशक्ति छ भने जे पनि सम्भाव हुने रहेछ, यति त पक्कै बुझेको छु।’ जीटी लेप्चा बाजपेयीको निम्ति विशेष सहायक मात्र थिएनन, घरकै सदस्य पनि थिए। त्यही भएर जतिबेला बाजपेयीको निधन भयो, उनी असमबाट सबथोक छोड़ेर दिल्ली पुगे। बाजपेयीलाई भौतिक रूपले अन्तिम श्रद्धाञ्जली दिने अन्तिम व्यक्ति पनि उनी नै बने। त्यही भएर त उत्तर प्रदेशका वर्तमान मुख्यमन्त्री योगी आदित्यनाथले ट्वीट गरे, ‘एसपीजीको सदस्य जीटी लेप्चा बाजपेयीलाई परिवारकै सदस्य मान्छन्। त्यही भएर, अन्तिम श्रद्धाञ्जली दिन उनी सबथोक छोडेर आइपुगे। यो हाम्रो संस्कार हो।’
बाजपेयीको हरेक तस्वीर पछि उभिरहेको देखिने जीटी लेप्चा सीआरपीएफको एसपी (सेकेण्ड इन् कमाण्ड) बनेर रिटार्यड भएका छन्। बाजपेयीले लिखित रूपमा प्रशंसा पत्रमा पनि भनेका छन्, ‘जीटी लेप्चा नजिक हुँदा म आफैलाई सुरक्षित एवं सहज महसुस गर्छु।’ देशमा तीनचोटि प्रधान मन्त्री बनेका अटल बिहारी बाजपेयीको यति नजिक रहने जीटी लेप्चा अहिले फेरि त्यही बस्तीमा फर्किएका आएका छन्, जहाँ उनी खाली खुट्टै हिँड़्थे। फाटेको हाफप्यान्ट लगाएर दगुर्थे। हो, त्यही तक्लीङ बस्तीमा बसेर आज पनि उनी फोनमा केन्द्रका ठूला ठूला नेताहरूलाई भलाकुसारी सोध्छन्। र फेरि आफ्नै ठाउँको चिन्ता गर्छन्, ‘ दार्जीलिङलाई अब गफ दिने नेता होइन, दिल्लीसँग जोड़्न सक्ने पूल जस्तो नेतृत्वको आवश्यकता छ।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *