सीएपीको गाडी तोडफोड, आरोप एसकेएम कार्यकर्ताहरूमाथि

IMG-20240129-WA0270.jpg

गान्तोक: पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत सोरेङ बजार नजिक आज सिटिजन एक्सन पार्टी (सीएपी) को मोबाइल माइकिङ कार्यक्रममा गाडी तोडफोड गरिएको छ। तोडफोडको आरोप सत्तारूढ एसकेएम पार्टीका कार्यकर्ताहरूमाथि लागेको छ।

सीएपी सिक्किमका महासचिव (प्रशासन) हेमराज अधिकारीद्वारा आज जारी एक प्रेस विज्ञप्तिमा यस्तो आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, एसकेएम पार्टीका कार्यकर्ताहरूले हिंसाको पराकाष्ठा नाघ्दै सीएपीको शान्तिमय मोबाइल माइकिङ कार्यक्रममा गाडी तोडफोड गर्नका साथै पार्टीको एक समर्थक युवालाई ढुङ्गा हानेर गम्भीर रुपमा घाइते बनाएका छन्।मोबाइल माइकिङ शान्ति ऱ्यालीमा पार्टीका मुख्यमन्त्री उम्मेदवार गणेश राई स्वयं उपस्थित थिए। सीएपीले एसकेएम पार्टी स्वयं सोरेङ च्याखुङबाट हारको सामना गरिरहेको अवस्थामा धताएर कार्यकर्ताहरु पागल बन्दै गएको यो प्रमाण सिटिजन एक्सन पार्टी ठान्दछ भनी बताएको छ।

विज्ञप्तिमा भनिएको छ, राज्यका मुख्यमन्त्री स्वयंले प्रतिनिधित्व गरेको समष्टिमा कानुन व्यबस्था यस्तो खाले भएपछि सिक्किम राज्यको वर्तमान अवस्था के कस्तो छ यहीँबाट प्रष्ट हुँदछ। सीएपी लगातार नागरिकमा लोकप्रिय हुँदै गएको देखेर सत्तारूढ पार्टी धराशायी बन्ने डरले यस्तो कुकृत्य गर्नु एसकेएमको अन्तिम विकल्प रहेको पार्टी ठान्दछ।

सिटिजन एक्सन पार्टी हिंसा र भयको राजनीतिदेखि अलग छ, राज्य बाहिरबाट यस्ता असामाजिक तत्व बटुलेर एसकेएमले गर्दै गरेको राजनीति पार्टीको निम्ति हात्तीलाई नाङ्लो ठटाएर तर्साउन खोजेको मात्रै हो। राज्यमा दिनहुँ बढ्दै गरेको अशान्त राजनीतिबाट एसकेएमले माथि उठ्न सोचोस भन्दै आज सोरेङमा भएको उक्त घटनालाई सीएपीले दुर्भाग्यपूर्ण ठहर गरेको छ।

About Author

Advertisement