कोलकाताः पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले सोमवार भाजपामाथि मानिसहरूलाई धम्की दिएको आरोप लगाइन्। कोचबिहार जिल्लामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ममताले भनिन्, भाजपालीहरूले फोन गरेर धम्की दिइरहेका छन् कि यदि उनीहरूले आगामी लोकसभा चुनाउमा भाजपालाई भोट दिएनन् भने उनीहरूको घरमा केन्द्रिय जाँच एजेन्सीहरूलाई पठाइनेछ।
तृणमूल सुप्रिमोले कोचबिहारका स्थानीय मानिसहरू विशेष राजवंशीहरूलाई सल्लाह दिइन्, उनीहरूले यो सुनिश्चित गरून् कि नागरिकता (संशोधन) अधिनियम वा सीएएबाट आफूलाई बचाउनका लागि उनीहरूको नाम मतदाता सूचीमा होस्। भाजपाले चुनाउको लागि केन्द्रिय एजेन्सीहरूलाई प्रयोग गरिरहेको छ। भाजपाले मानिसहरूलाई धम्की दिरहेको छ।
ब्यनर्जीले यहाँ सम्पन्न एक सार्वजनिक वितरण कार्यक्रममा यो पनि भनिन्, म कुनै विशेष भगवानको पूजा गर्ने भाजपाको कुनै पनि आदेशलाई पालन गर्दिनँ। म रामायण, कुरान, बाइबल र गुरूग्रन्थ साहिबको पालन गर्छु। म गरीबहरूको घरमा गएर बाहिरबाट ल्याइएको भोजन सेवन गरेर नाटक गर्दिनँ।
ब्यनर्जीले आरोप लगाइन्, केन्द्रले लोकसभा चुनाउपूर्व राजनीति गर्नको लागि सीएएको मुद्दा उठाइरहेको छ। यसको एक दिनपूर्व केन्द्रियमन्त्री एवं भाजपा नेता शान्तनु ठाकुरले दाबी गरेका थिए, सीएएलाई आगामी सात दिनभित्रमा सम्पूर्ण भारतभरि लागू गरिनेछ।
-हिस