सन् १९७८ सालमै स्थापना भएको सिडर्स प्राथमिक पाठशाला जीर्णोद्धारको आशामा

IMG-20220728-WA0156.jpg

सोनादा: सोनादा सर्कल अधीनस्थ रहेको अप्पर सिडर्स प्राथमिक पाठशालाको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गइरहेछ। उक्त पाठशालाको अवस्थालाई हेरेर मरमत्ति गर्नलाई आजपर्यन्त कसैको पनि नजर नपुगेको देखिएको छ। सन् १९७८ सालमा नै स्थापना भएको अप्पर सिडर्स प्राथमिक पाठशालाले ४४ वर्ष शिक्षाको क्षेत्रमा सेवा दिए पनि अहिले यस पाठशालाको अवस्था एकदमै दयनीय अवस्थामा पुगेको छ। पाठशालाको छानाहरू प्वाल परेर जताततै चुहुने भइसकेका छन्। पाठशालाका भित्ताबाट पानी रसिएर सोझै श्रेणी कोठाहरूमा पानी जम्ने गर्दछ। पाठशालाका छानामा लगाइएका काठका बटमहरू सबै मक्किसकेका छन् भने जताततै सिमेण्ट उप्किएर भित्रका रडहरू देखिन थालेका छन्। काठका बटम मक्किएकाले कुनै पनि समय श्रेणी कोठामा माथिल्लो भाग झर्नसक्ने सम्भावना बढ़ेर गएकोले भय र त्राससितै नानीहरूलाई श्रेणीकोठामा शिक्षक-शिक्षिकाहरूले पढ़ाइरहेको पाठशालाको प्रधान अध्यापक चेवन राईले बताएका छन्। उनले बताए अनुसार श्रेणी कोठाहरूको मरम्मति नभएको कारण भत्किएकै पाठशाला भवनमा नानीहरूको पठनपाठन चलिरहेछ। चारैतिरबाट चर्किएको अवस्थामा वर्तमान सिडर्स प्राथमिक पाठशाला सञ्चालन भइरहेको दु:खलाग्दो अवस्थाप्रति तर आजसम्म कसैको नजर नपर्नु दुर्भाग्यको कुरो हो भनी बताएका छन्।

पाठशालामा अझै् पनि २० जनाभन्दा बेसी नानीहरू अध्ययनरत् छन् तर यस पाठशालामा नानीहरू बस्ने बेञ्चको न राम्रो व्यवस्था छ न त लेख्ने ब्ल्याक बोर्ड नै ढंगको छ। पाठशालामा विद्यार्थीहरूका लागि पिउने पानीको पनि सुविधा छैन। विभिन्न अभाव र अपुगमा चल्दै आइरहेको छ क्षेत्रकै पुरानो सिडर्स प्राथमिक पाठशाला।
यस पाठशालाको जीर्ण अवस्थाप्रति ध्यानाकर्षण गराउँदै विभिन्न निकायसमक्ष क्षेत्रबाट विगतमा धेरै अर्जी-पत्रहरू चढ़ाइए पनि आजसम्म पाठशालाको जीर्णोद्धारतर्फ कसैबाट कुनै प्रकारको पहल नभएको थाहा लाग्दछ।
यहाँसम्म कि बंगाल सरकारद्वारा शुरू गरिएको दैलोमा सरकार शिविरको माध्यमबाट पनि यस पाठशालाको अवस्थामाथि सम्बन्धित निकायसमक्ष आवेदन चढ़ाइने काम भए पनि तर आजसम्म यसबाट कुनै निकास नपाएको बताइन्छ पाठशालाको हेड मास्टर बताउँछन्।

यति हुँदाहुँदै पनि तर सरकारबाट केही न केही पहल अवश्य हुने कुरोमा पाठशाला पक्ष आशा साँचेर बसेको छ। पाठशाला जहाँबाट नानीहरूको भविष्यको यात्रा शुरू हुँदछ। जहाँबाट नानीहरूको क-ख-ग-घ आरम्भ हुँदछ। पाठशालाबाटै नानीहरूको बौद्धिक, मानसिक, शारीरिक अनि नैतिक गुणको विकास हुँदै जाँदछ। ४४ वर्षसम्म सिडर्स क्षेत्रमा शिक्षा क्षेत्रमा सेवा दिन्दै आईरहे पनि पाठशालाको अवस्थाले गर्दा शिक्षा व्यवस्थामाथि नै प्रश्न चिन्ह्र खड़ा भएको देखिएको छ। यसरी नानीहरूको शिक्षाको धरातल नै कमजोर भए उनीहरूको भविष्य कसरी उज्ज्वल होला….? यो सोचनीय विषय रहेको देखिएको छ। हालैमा जीटीएमा नयाँ व्यवस्था आएको छ र जीटीएको यस नयाँ बोर्डले अप्पर सिडर्स प्राथमिक पाठशालाको जीर्णोध्दारको कार्य गर्नेछ वा गर्ने छैनन् त्यो समयले बताउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement