२२ जनवरीः सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको आयोजन अनि युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा जारी सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १७औं संस्करणमा युनाइटेड फूटबल क्लब दार्जीलिङले सजिलैसँग सेमिफाइनलमा स्थान बनायो । सोमवार सुकना हाई स्कूल खेल मैदानमा भएको टुर्नामेण्टको तेस्रो क्वार्टर फाइनल म्याचमा युनाइटेड एफसी दार्जीलिङले भूटानको फुञ्चोलिंग हीरोज फूटबल क्लबलाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट इन्द्रजीत छेत्रीले २२औं, वांगदेन तामाङले ५८औं, प्रणय राईले ६०औं र रोनिक राईले ७५औं मिनटमा गोल गरे।

यसरी भूटानको टीमबाट निमा वांगदीले ६२औं र किन्ले ग्याल्छेनले स्टपेज टाइमको चौथो मिनटमा गोल गरे। वांगदेन तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। अब मंगलवार खेलिने चौथो क्वार्टर फाइनल म्याचमा सुकना युनाइटेड फूटबल क्लब र रोलिंग फूटबल क्लब, नेपालबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा २० वटा शीर्ष टीमले हिस्सा लिएको छ। संशोधित कार्यक्रम अनुसार दुईवटा सेमिफाइनल २४ र २५ जनवरीमा खेलिनेछ। यसरी फाइनल २७ जनवरीमा हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।